'लाबुबुु' को बिक्रीले पप मार्टलाई झन्डै ४० अर्ब डलर मूल्य बराबरको खेलौना निर्माता कम्पनी बनाएको छ ।
What you should know
काठमाडौँ — विश्वबजारमा लोकप्रिय 'लाबुबु' डल अब फिचर फिल्ममा देखिने भएको छ । चिनियाँ खेलौना निर्माता कम्पनी पप मार्ट र सोनी पिक्चर्स इन्टरटेनमेन्टले लाबुबुमा आधारित फिल्म बनाउने घोषणा गरेका हुन् ।
‘लाइभ एक्सन’ र कम्प्युटरमा आधारित एनिमेसनको मिश्रण हुने लाबुबु फिल्म अहिले ‘प्रारम्भिक विकास’को चरणमा रहेको दुवै कम्पनीले एक विज्ञप्तिमार्फत जनाएका छन् ।
हङकङका कलाकार कासिङ लुङले एक दशकअघि सिर्जना गरेको लाबुबु एउटा 'वनको परी हो, जुन नर्डिक मिथोलोजीबाट प्रेरित छ।' यो लुङको पुस्तक शृङ्खला ‘द मोन्स्टर्स’ को एक हिस्सा पनि हो।
लुङ फिल्ममा कार्यकारी निर्माताका रूपमा काम गर्नेछन् । निर्देशनसँगै सह-निर्माणको काम पल किङले गर्नेछन् । किङले यसअघि ‘वोन्का’, ‘प्याडिङ्टन’ र बीबीसी कमेडी सिरिज ‘द माइटी बुश’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । ‘डियर इभान ह्यान्सेन’का लेखक स्टिभन लेभेन्सनसँग मिलेर पटकथा पनि लेख्नेछन् । फिल्म प्रदर्शनको मिति भने अझै तय गरिएको छैन ।
अहिले लाबुबु विश्वव्यापी रूपमा निकै चर्चित छ । यसको बिक्रीले पप मार्टलाई झन्डै ४० अर्ब डलर मूल्य बराबरको खेलौना निर्माता कम्पनी बनाएको छ । पप मार्टले बार्बी निर्माता म्याटेल जस्ता स्थापित कम्पनीलाई समेत उछिनेको छ ।
लाबुबुको क्रेजले पप मार्टले खेलौना उत्पादनमा सिमित नभई बेइजिङमा एउटा थिम पार्क (पप ल्यान्ड) सञ्चालनमा आइसकेको छ । अब यो कम्पनी फिल्म क्षेत्रमा प्रवेश गरेको हो ।
‘लाबुबु’ पप मार्टका सबैभन्दा लोकप्रिय खेलौनाहरू हुन् । ‘ब्लाइन्ड बक्स’मा बिक्री गर्नु नै यसको मुख्य आकर्षण हो । खरिदकर्ताहरूले प्याकेट नखोलेसम्म आफूले कुन लाबुबु पाइरहेका छन् भन्ने थाहा पाउँदैनन् ।
मर्निङस्टारका विश्लेषक जेफ झाङले सोनी पिक्चर्ससँगको साझेदारी पप मार्टको आम्दानीका स्रोतलाई विविधीकरण गर्ने प्रयासमा एउटा कोशेढुंगा भएको बताएका छन् ।
लाबुबुको विश्वव्यापी लोकप्रियताले हङकङमा सूचीकृत पप मार्ट कम्पनीको सेयर गत वर्ष ६४ प्रतिशतले वृद्धि भएको थियो । नेशनल युनिभर्सिटी अफ सिंगापुरकी मार्केटिङ लेक्चरर किम दायोङले लाबुबु फिल्मले पप मार्टलाई एउटा खेलौनाको खुद्रा बिक्रेताबाट मनोरञ्जन ब्रान्डमा विकसित हुन मद्दत पुर्याउने बताइन् ।
लाबुबु खेलौनाहरूको लोकप्रियताका कारण यसलाई एउटा मिडिया फ्रेन्चाइजका रूपमा अगाडि बढाउने पप मार्टको योजना रहेको समेत बताइएको छ ।
- एजेन्सीको सहयोगमा
