फिल्म बनाउने भन्दै १५ लाख रुपैयाँ छुट्याएर सरकारी बजेट दुरुपयोग गरेको उजुरी परेको थियो ।
What you should know
काठमाडौँ — फिल्म निर्माणमा सरकारी रकम अनियमितता गरेको आरोपमा अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार अध्यक्ष साउदसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउद तथा आरजे २४ न्युज एवं नव इन्द्रेणी फाउन्डेसन काठमाडौंका अध्यक्ष रामजी लम्साल भन्ने रामबहादुर लम्सालविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले पालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध १२ लाख ७७ हजार २ सय २५ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र हिनामिना भएको रकम असुलउपरको मागदाबी लिएको छ । कम्पनीका सञ्चालक लम्सालविरुद्ध पनि मतियारका रुपमा त्यत्ति नै बिगो कायम गरी सजाय मागदाबी गरिएको अख्तियारले जनाएको छ ।
ढकारीका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा कार्यसमिति सदस्यले 'अन्धपथ' फिल्ममा १५ लाख रूपैयाँ छुट्याएर सरकारी बजेट दुरुपयोग गरेको व्यहोराको उजुरी अख्तियारमा परेको थियो । लम्साल फिल्मका निर्माता हुन् ।
अध्यक्ष साउद, निमित प्रमुख प्रशासकीय अधिकृत साह र लेखापाल विमल साउद तथा लम्सालले मिलेमतो र बदनियतपूर्वक काम गरेको अख्तियारको ठहर छ । सार्वजनिक खरिदसम्बन्धी कानुनविपरीत पालिकाको बजेट दुरुपयोग गरी अन्धपथ चलचित्र निर्माण गर्न १८ भदौ २०८१ मा सम्झौता गरेको भेटिएको थियो ।
‘प्रचलित कानुनबमोजिम खरिद आवश्यकताको पहिचान, लागत अनुमान निर्माण लगायतको खरिद कारबाहीको तयारी नगरी नगराई चलचित्र निर्माणका लागि सम्झौता गरे गराएको तथा उक्त कानुनविपरीतको बदनियतपूर्ण कार्यलाई ढाकछोप गर्न २०८१ कात्तिक ६ गते राष्ट्रसेवक प्रतिवादीहरू नै मुख्य भई कार्य गर्ने कार्यपालिकाको बैठकले सम्झौतालाई अनुमोदन गरे/गराएको र १५ लाख ५ हजार रुपैयाँको सम्झौता बिनाप्रतिस्पर्धा सोझै खरिद कार्य गरे गराएको,’ अख्तियारको अभियोगपत्रमा उल्लेख छ । एउटा कम्पनीसँग सम्झौता गरेर रकमको भुक्तानी नव इन्द्रेणी फाउन्डेसनलाई गरेको विषयलाई पनि अख्तियारले भ्रष्टाचारजन्य कसुरका रुपमा राखेको छ ।
चलचित्र निर्माणका लागि खरको घर तथा अन्य विविध खर्च भनी पेस गरेका बिल हेर्दा सत्यता पुष्टि हुने आधार नै नदेखिएको अख्तियारको भनाइ छ । सोही झुट्टा तथा नक्कली बिलका आधारमा थप खर्च गरे गराएको, सार्वजनिक, सरकारी सम्पत्ति बदनियतपूर्वक प्रतिवादीहरू आफूसमेतलाई लाभ हुने गरी हिनामिना, दुरूपयोग एवं मास्ने कार्यलाई ढाकछोप गर्न गैरकानुनी तरिकाले आफूसमेत मुख्य भई कार्य गरेको अख्तियारले जनाएको छ । हिँउदे अधिवेशनबाट कार्यक्रम संशोधन तथा रकमान्तर गरी गराई मिलेमतो तथा योजनामा बदनियत राखी बिगो कायम गरिएको रकम हिनामिना गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
*सच्याइएको ।
