अध्यागमनको छानबिनमा तानिए ७ फुटबल क्लब

ती क्लबमा भित्रिएका विदेशी खेलाडीले कार्यसहमति र श्रम स्वीकृति नलिएको भेटिएपछि अध्यागमनले छानबिन र अनुगमन थालेको हो ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

7 football clubs drawn into immigration investigation

What you should know

काठमाडौँ — श्रम स्वीकृति र कार्यसहमतिबिनै विदेशी नागरिकलाई फुटबल खेलमा भित्र्याएपछि नेपालका ७ वटा फुटबल क्लब अध्यागमन विभागको छानबिनमा तानिएका छन् ।

अध्यागमन कानुन उल्लंघन गरेर विदेशी खेलाडीलाई काममा लगाएको भेटिएपछि विभागले यस विषयमा छानबिन अघि बढाएको हो । कानुनविपरीत विदेशी खेलाडीलाई क्लबमा भित्र्याएको भेटिएपछि विभागले बिहीबार नेपाल फुटबल संघ (एन्फा) लाई पत्र काटेर कानुनी प्रावधान अवगत गराएको थियो ।

विभागका अनुसार जावलाखेल युथ क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङ्दी, चर्च ब्वाइज, सातदोबाटो युथ, संकटा र भगवती क्लबमा भित्रिएका विदेशी खेलाडीले कार्यसहमति र श्रम स्वीकृति नलिएको भेटिएपछि छानबिन र अनुगमन थालिएको हो ।

यी क्लबहरुले उज्वेकिस्तान, जापान, घाना, नाइजेरिया, बेलायत, क्यामरुन, बुर्किनाफासोलगायत देशबाट पर्यटक भिसामा खेलाडी भित्र्याए पनि अध्यागमन विभागबाट कार्यसहमति र श्रमबाट श्रम स्वीकृति लिएका छैनन् । विभिन्न क्लबमा खेलाडी बनेर ३८ जना विदेशी नागरिक आबद्ध भएको र उनीहरुले कानुनी प्रक्रिया पूरा नगरेका कारण आवश्यक छानबिन थालिएको विभागले जनाएको छ ।

अध्यागमन नियमावली २०५१ अनुसार एउटा प्रयोजनमा भित्रिएका विदेशी नागरिक प्रयोजनविपरीत अरु काममा आबद्ध हुन पाउँदैनन् । अर्को प्रयोजनमा बस्न वा काम गर्न परे श्रम विभागबाट श्रम स्वीकृति र अध्यागमन विभागबाट कार्यसहमति लिनुपर्छ । कानुनमा भएको प्रावधान उल्लंघन गरेमा त्यस्ता विदेशी नागरिकलाई तोकिएको जरिवाना असुल गरी सम्वन्धित देशमै डिपोर्ट गरिने व्यवस्था  छ ।

‘अध्यागमन कानुनविपरीतका गतिविधिमा संलग्न भए/नभएको विषयमा विभागबाट अनुगमन सुरु भइसकेको छ, यही प्रयोजनका लागि एन्फालाई पत्र लेखेर कुन क्लबले कार्यसहमति र श्रम स्वीकृत लिएर कति विदेशी खेलाडी भित्र्याएका छन्, यसको विवरण माग गरेका छौं,’ विभागका महानिर्देशक रामचन्द्र तिवारीले भने, ‘कसैले कानुनविपरीत विदेशीलाई काममा लगाएको रहेछ भने कानुनअनुसार नै कारबाही हुन्छ, अहिलेलाई एन्फासँग यसबारे जवाफ मागेका छौं ।’

यसअघि पनि पटकपटक मौखिक रुपमा यस विषयमा जानकारी माग्दा एन्फाले बेवास्ता गरेका कारण बिहीबार पत्र नै पठाएर जवाफ मागिएको तिवारीले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully