घाइते काजीबहादुर राई र पाइलट सवीन थापालाई एअर डाइनेस्टीकै हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ
खोटाङ — केपिलासगढी गाउँपालिका–२ खार्तम्छा बालाबेसीमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार मध्याह्न १२ बजेर २ मिनेटमा बालाबेसी आइपुगेको हेलिकप्टर अवतरण हुने क्रममा भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार एअर डाइनेस्टीको ९ एनएएफक्यू कलसाइनको हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार काजीबहादुर राई घाइते भएका छन् ।
घाइते राई र पाइलट सवीन थापालाई एअर डाइनेस्टीकै हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ । उक्त हेलिकोप्टरमा चालकसहित ६ जना सवार थिए । अन्य सकुशल रहेको केपिलासगढी गाउँपालिकाका अध्यक्ष समीर राईले जानकारी दिए ।
