न्याय सम्पादनमा न्यायालय चुक्न हुँदैन : प्रधानन्यायाधीश राउत

समाजमा असल मानिसहरु पनि छन् भन्ने सन्देश दिने गरी काम गर्न उनले न्यायाधीश र कर्मचारीहरुलाई आग्रह गरे ।

चैत्र ३, २०८२

दुर्गालाल केसी

The judiciary should not fail in the administration of justice: Chief Justice Raut

दाङ — प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय सम्पादनमा न्यायालय चुक्न नहुने बताएका छन् । भदौ २४ को जेन-जी आन्दोलनका क्रममा जिल्ला अदालत घोराहीलाई आगलागी र तोडफोडबाट बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रहरी हवल्दार संगीता अधिकारीलाई सम्मान गर्न मंगलबार जिल्ला अदालत घोराहीमा आयोजित कार्यक्रममा बोल्दै राउतले यस्तो बताएका हुन् ।

‘सेवाग्राहीलाई हिजोको भन्दा फरक तरिकाले व्यवहार गर्ने बेला आएको छ । हिजोको दिनमा केही कमजोरी भएको रहेछ भने पनि अब सुधार्नुपर्छ,’ उनले भने,‘हिजोभन्दा अझ राम्रो काम गर्ने बेला आएको छ । हामीले आफैंभित्र निर्मम समीक्षा गर्नुपर्छ ।’

समाजमा असल मानिसहरु पनि छन् भन्ने सन्देश दिने गरी काम गर्न उनले न्यायाधीश र कर्मचारीहरुलाई आग्रह गरे । ‘निष्पक्ष न्याय सम्पादनको काममा न्यायाधीश र कर्मचारीहरु जिम्मेवार हुन जरुरी छ,’ उनले भने,‘हामीलाई कतै पनि चुक्ने छुट छैन ।’

अदालतप्रतिको विश्वास बढाउन न्याय सम्पादनमा निष्पक्षता र प्रभावकारीता जरुरी रहेको उनले बताए । अदालत चलेपछि सबै कार्यालय चलायमान हुने भएकाले अदालत नियमित चलायमान र गतिवान हुन आवश्यक रहेको राउतले बताए । ‘समाज अस्तव्यस्त भएको बेला अझ बढी जिम्मेवार हुनुपर्छ,’ उनले भने,‘आगामी दिनमा पनि हाम्रासामु चुनौती हुन सक्छन् । त्यस्तो बेला पनि धैर्यता साथ काम गर्नुपर्छ ।’

कार्यक्रमका क्रममा राउतले उच्च अदालत तुलसीपुर र जिल्ला अदालत घोराहीको अवलोकन, निरीक्षण पनि गरेका थिए ।

The judiciary should not fail in the administration of justice: Chief Justice Raut

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully