एनआरएनएलाई रिब्राण्डिङ गर्छौं : नवनिर्वाचित अध्यक्ष शर्मा

नवनिर्वाचित अध्यक्ष हेमराज शर्माले १३ वर्षपछि संघले सर्वसम्मत नेतृत्व चयन गरेसँगै नयाँ अध्याय सुरु भएको र अब संघलाई समावेशी, पारदर्शी, परिणाममुखी, प्रविधियुक्त र पुस्तौंसम्म टिक्ने संस्था बनाउने बताएका छन् ।

चैत्र २, २०८२

कान्तिपुर संवाददाता

We will rebrand NRNA: Newly elected president Sharma

What you should know

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष हेमराज शर्माले एनआरएनएलाई ‘रिब्राण्डिङ’ गर्दै विदेशमा रहेका गैरआवासीय नेपालीको सवाललाई स्थापित गर्ने बताएका छन् ।

‘१३ वर्षपछि संघले सर्वसम्मत नेतृत्व चयन गरेसँगै नयाँ अध्याय सुरु भएको छ । अब संघलाई समावेशी, पारदर्शी, परिणाममुखी, प्रविधियुक्त र पुस्तौंसम्म टिक्ने संस्था बनाउँछौं,’ एनआरएनएको १२‌‍औं विश्व सम्मेलन तथा वृहत अन्तराष्ट्रिय महाधिवेशन समापन समारोहमा सम्बोधन गर्दै उनले भने, ‘एनआरएनएलाई नेपाली डायस्पोराको साझा शक्ति र पहिचान दिने संस्था बनाउँदै मातृभूमिसँगको सम्बन्ध दिगो र प्रभावकारी बनाउन फरक र स्पष्ट दृष्टिकोणसहित रिब्राण्डिङ आवश्यक छ । त्यसको सुरुवात भएको छ ।’

यसअघि एनआरएनएको नेतृत्व चयनसम्बन्धमा विवाद भएपछि  तीन समूहमा विभाजित भएको थियो । आधिकारिकताको बिषयलाई लिएर उच्च हुँदै सर्वोच्च अदालतसम्म विवाद पुगेको थियो । यी सबैलाई हल गर्दै एकता महाधिवेशनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

‘एनआरएनएले ९२ देशमा आफ्नो सञ्जाल विस्तार गरेको छ । दोस्रो पुस्ताको गैरआवासीय नेपालीको संख्या बढ्दो छ । अब सबैको समस्या र सवाललाई जोड्दै अगाडि बढ्ने छौं । अहिलेको  चुनौतीलाई  रिब्राण्डिङ गर्दै संस्थालाई अगाडि लैजानेछौं,’ उनले भने, ‘यसको लागि आउने सबै पञ्चीकृत सदस्यले अनलाइनबाटै मतदान गर्न पाउनेनेछ ।’

उनले बंशजकै नागरिकताको निरन्तरता, विदेशबाट मतदानको अधिकारलगायत सबै मुद्दालाई नयाँ सरकारसँग पहलकदमी गर्ने बताए । ‘वैदेशिक रोजगारीमा जाने नेपालीको सामाजिक सुरक्षा, सीप विकासको लागि काम गर्नेछौं,’ उनले भने, ‘लगानी कोषमा श्रमिकहरूले लगानी गर्न पाउने व्यवस्था गर्नेछौं ।’

कान्तिपुर

Link copied successfully