२०२५ मा उडान वा अवतरणका क्रममा चरा ठोक्किनु, धावनमार्गभित्र चरा तथा वन्यजन्तु प्रवेश गर्नुलगायत ४ हजार ६ सय ६७ घटना अभिलेख भएका छन् ।
What you should know
काठमाडौँ — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले सार्वजनिक गरेको एरोड्रोम सेफ्टी रिपोर्ट २०२५ अनुसार विमानस्थलको उडान सुरक्षामा चरा र वन्यजन्तुका गतिविधि प्रमुख चुनौतीका रूपमा देखिएका छन् । सोमबार सार्वजनिक गरिएको वार्षिक सुरक्षा प्रतिवेदनका अनुसार सन् २०२५ मा उडान वा अवतरणका क्रममा चरा ठोक्किनु, धावनमार्गभित्र चरा तथा वन्यजन्तु प्रवेश गर्नुलगायत कुल ४ हजार ६ सय ६७ घटना अभिलेख भएका छन् । तीमध्ये १२ वटा घटनामा विमानमै चरा ठोक्किएको विमानस्थलले जनाएको छ ।
अघिल्लो वर्ष यस्ता घटना ८ सय ९० मात्र थिए । प्रतिवेदनका अनुसार विमानको आवागमन हुने क्षेत्र, एप्रोच (अवतरणका लागि आउने मार्ग), अवतरण तथा उडान मार्गमा चराको गतिविधि उल्लेखनीय रूपमा देखिएको छ । २०२५ मा नोभेम्बरमा सबैभन्दा धेरै चरा ठोक्किने घटना भएका छन्, जसमा ३ वटा घटना दर्ता भएका थिए ।
विमान अवतरणका बेला धावनमार्ग वरपर चराका बथान देखिँदा पाइलटले जहाजलाई फन्को लगाउनुपर्ने (गो–अराउन्ड) घटनाहरू पनि बढेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन तयारीमा संलग्न एक अधिकारीका अनुसार चरालगायतका कारण अवतरणका क्रममा जहाजले गो–अराउन्ड गर्नुपरेका घटना एक वर्षमा ७५ वटा छन् । त्यस्तै, उडानका लागि तयारी अवस्थामा रहेको विमानले धावनमार्गमा वन्यजन्तु वा चराको उपस्थिति भेट्दा उडान स्थगित गर्नुपरेका ८९ वटा घटना दर्ता भएका छन् ।
महिनागत विवरणअनुसार कात्तिक र मंसिरमा विमानस्थलमा चरा तथा वन्यजन्तुको गतिविधि सबैभन्दा बढी हुने देखिएको छ । प्रतिवेदनले हरेक महिना कम्तीमा १ सयदेखि बढीमा ८ सय ९० वटा चरासम्बन्धी गतिविधि पाइलट तथा उड्डयनकर्मीहरूले रिपोर्ट गरेको जनाएको छ । विमानस्थलको एयरसाइड व्यवस्थापन शाखाका अनुसार काग, चिल, गिद्ध र कहिलेकाहीं हाँस जस्ता चराहरूको गतिविधि अभिलेख गरिएको छ । प्रतिवेदनअनुसार २०२५ मा विमानस्थलमा कुल ४ हजार ९ सय १९ वटा खतरा तथा घटनाका रिपोर्ट दर्ता भएका छन्, जुन २०२४ मा रहेको ९ सय ९ रिपोर्टको तुलनामा निकै बढी हो ।
विमानस्थलमा हुने घटनालाई १८ वटा प्रमुख श्रेणीमा वर्गीकृत गरिएको छ । यसमा एरोड्रोमसम्बन्धी घटना, असामान्य रनवे सम्पर्क, एटीएम/सीएनएस सेवासम्बन्धी समस्या, सञ्चार, नेभिगेसन तथा निगरानी सेवासँग सम्बन्धित घटना, चरासँग ठोक्किने घटना, क्याबिन सुरक्षा घटना, आगलागी वा धूवाँ (ठक्करबिना), इन्धनसम्बन्धी समस्या, नेभिगेसन त्रुटि, ग्राउन्ड ह्यान्डलिङ घटना, रनवे इन्कर्सन, प्रणाली वा उपकरण खराबी (इन्जिनबाहेक), प्रणाली वा उपकरण खराबी (इन्जिनसम्बन्धी), उडानका क्रममा हुने टर्बुलेन्स, आँधीबेहरी वा विन्ड–शियरसँग सम्बन्धित घटनालगायत समावेश छन् ।
प्रतिवेदनअनुसार २०२५ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी कुल १६ हजार १ सय १३ उडान भएका छन् । यसमध्ये १ सय अन्तर्राष्ट्रिय उडान आवागमन भएको उल्लेख गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा बढेको हो । नियमित तथा चार्टर उडान सञ्चालनका कारण अन्तर्राष्ट्रिय गतिविधि वृद्धि भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकतर्फ भने उक्त वर्ष १६ हजारभन्दा बढी उडान आवागमन रेकर्ड गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा केही कम रहेको प्रतिवेदनमा उल्लेख छ । महिनागत विवरणअनुसार अक्टोबरमा सबैभन्दा बढी र जुलाईमा सबैभन्दा कम उडान सञ्चालन भएको देखिन्छ ।
हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट २ अन्तर्राष्ट्रिय र ३ आन्तरिक एयरलाइन्स सञ्चालनमा छन् । अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने एयरलाइन्समा हिमालय एयरलाइन्स र सिचुआन एयरलाइन्स छन् भने आन्तरिकतर्फ बुद्ध एयर, श्री एयरलाइन्स र यती एयरलाइन्सले उडान गर्दै आएका छन् ।
