बासवाङका कसैसँग पनि लालपूर्जा नहुनुको कारण यो ठाउँ नापीमै छुट्नु हो। चितवनमा जग्गाको नापी भइरहेका समयमा बासवाङ धादिङ जिल्लामा थियो । धादिङको टोली आउँदा चितवनमा समेटिएका कारण नापी नै हुन नसकेको स्थानीय बताउँछन् ।
What you should know
चितवन — अघिल्लो रात राम्रैसँग पानी परेको हुँदा चितवनको उत्तरी पहाडी गाउँ लोथर बासवाङका लालबहादुर प्रजा चेपाङको परिवार शनिबार मकै छर्ने तयारीमा जुटेको थियो । मल बोक्ने र खनजोत गर्ने काम जोडतोडका साथ भइरहेको थियो । आफ्नो जमिन कति छ भन्ने लालबहादुरलाई एकिन छैन । १० हलको मेलो हो भन्छन् उनी । ‘पाखो बारी छ । नापेको छैन। एक विघा छ कि ?’ लालबहादुरले सुनाए ।
लालबहादुरसँग कमाउँदै आएको जग्गाको लालपूर्जा छैन । नापी नै नहुँदा खेतबारी कति हो उनलाई पनि एकिन छैन । ‘म २०४४ सालमा जन्मेको हो । मेरा सन्तान पनि यही जन्मे–हुर्के र अस्ती मात्रै छोरोको बिहे पनि गरे । हाम्रा बाजे, बराजु, जिजुबाजे धेरै पुस्तादेखि यही बस्दै आएका हुन् । तर हामी बसेको र खेती गरेको जमिनको लालपूर्जा भने छैन,’ लालबहादुरले भने ।
राप्ती नगरपालिका–१३ मा पर्ने यो गाउँमा प्रायः सिमान्तकृत वर्गमा पर्ने आदिवासी चेपाङ समुदायको बसोबास छ । लालबहादुरसँग मात्रै हैन बासबाङका कसैसँग जग्गाधनी पूर्जा छैन । ‘लालपुर्जा कस्तो हुन्छ ? अरुको देखेको हो आफ्नो नामको छैन,’ स्थानीय शेरबहादुर प्रजा चेपाङ भन्छन् ।
शेरबहादुर ७७ वर्षका भए । पुर्खादेखि बस्दै आएको ठाउँको पूर्जा हातमा नहुँदा कुन दिन सरकारले उठ् भन्छ भन्ने पीर भइरहने उनले सुनाए । ‘हाम्रा बाजेबराजु नै यही जन्मेहुर्केका हुन् । तर अहिलेसम्म पूर्जा छैन । यहाँबाट अरु ठाउँ जान सकिएन । कमाइ छैन, जाने भनेको बेचेर हो । यहाँको बेच्नलाई जग्गाकै पूर्जा छैन, पुर्जा नहुँदा त साह्रै गाह्रो हुने रहेछ,’ उनले भने ।
बासवाङका कसैसँग पनि लालपूर्जा नहुनुको कारण यो ठाउँ नापीमै छुट्नु हो। बासवाङ पहिला धादिङको तत्कालीन ताल्ती गाउँ पञ्चायतभित्र पर्थ्यो । बासवाङको जग्गा दर्ता गराउन कुनैबेला निकै सक्रियताका साथ लागेका स्थानीय दिपलाल चेपाङका अनुसार चितवनमा जग्गाको नापी भइरहेका समयमा बासवाङ धादिङ जिल्लामा थियो, त्यसैले नापी भएन ।
२०३४ सालमा यो ठाउँ चितवन जिल्लामा पर्यो । ‘त्यसपछि धादिङबाट नापी आएको थियो, चितवनमा परेको ठाउँको धादिङको टोलीले नापी गरेन । यसरी चितवनको नापी टोली आउँदा धादिङ र धादिङको टोली आउँदा चितवनमा समेटिएका कारण हाम्रो यो पुस्तौनी थलोको नापी नै हुन सकेन । नापी नहुँदा आजसम्म हामी लालपूर्जाविहीन छौं,’ दिपलालले भने । ५६ वर्ष पुगेका दिपलालले नापी टोलीको माग गर्दै लोथर भरतपुर मात्र हैन काठमाडौंसम्मै ओहोरदोहर गरे ।
स्थानीय नेतादेखि जिल्लाको मालपोत कार्यालय र काठमाडौंको मालपोत विभाग पुग्दा आफ्ना धेरै जुत्ताचप्पल फाटेको उनले सुनाए । तर काम पूरा नहुँदा दिपलाल अहिले निराश देखिन्छन् । ‘एमालेको नेता दावा दोर्जे लामा मेरो मित दाई हो । उहाँ २०७४ सालमा प्रदेशसभामा जितेर मन्त्रीसमेत हुनुभयो । ०६३ मा उहाँ सुकुम्बासी आयोगमा भएका बेलामा मैले धेरै गुहार लगाएको थिएँ,’ उनले सुनाए ।
चेपाङ समुदायको जातीय संस्था नेपाल चेपाङ संघले पनि विगतमा यो मुद्दा उठाएको थियो । धेरैले चासो राख्न थालेपछि मालपोत कार्यालय चितवनले पनि केही सक्रियता बढाएको थियो । ‘नयाँ फँडानी गरेको ठाउँ भएको भए पो आनाकानी गरे हुन्थ्यो । यो त हाम्रा पुर्खाहरुले पहिल्यैदेखि कमाउँदै आएको ठाउँ हो । यहाँको लालपूर्जा नदिनु पर्ने कुनै कारण छैन । तर दिँदैनन्,’ उनले भने ।
मालपोत कार्यालय चितवनले २०६५ कात्तिक २४ मै भूमिसुधार तथा व्यवस्थापन विभागलाई पत्र लेखेर छुट नापी गर्नु मनासिब हुने राय दिँदै नापीको व्यवस्था गर्न अनुरोध गरेको थियो । उक्त पत्र दिपलालले सोही वर्षको मंसिर २५ मा विभागमा लगेर दर्ता गरेका थिए ।
त्यसको १७ वर्ष पुगे पनि दिपलालको अभियानले सार्थकता पाउन सकेको छैन । त्योबेला १० हजार रुपैयाँ जुटाउन नसक्दा यो काम अलपत्र परेको दिपलाल बताउँछन् । ‘जिल्ला मालपोतको पत्र बोकेर म बबरमहलमा रहेको विभाग पुग्दा तपाईको काम हुन्छ भन्नुभएको थियो । नापी छुट्याउने कुरा भइसक्यो भन्नुभयो । यसको ढड्डा कहाँ छ भनेर बुझ्दा धादिङमा रहेछ, त्यसलाई चितवन सार्नु भनियो,’ उनले सुनाए, धादिङको ढड्डा सार्दा १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने र धरौटी राख्नासाथ नापी सुरु भइहाल्ने बचन उनले पाए । ‘त्योबेला आफुसँग निकाल्न पाँच रुपैयाँ पनि खल्तीमा थिएन । गाउँका सबैलाई भन्नु पर्यो । सोधेर बुझ्दा गाउँलेले नुनतेल गर्ने पैसा त छैन कहाँबाट जुटाउने १० हजार भन्न थाले । मेरो मात्रै थिएन, जनताले नै नसक्ने भएपछि कुरो हरायो,’ दिपलालले भने ।
२०६५ सालमै बासवाङमा ९२ घर थिए । त्योबेला यो गाउँ लोथर गाउँ विकास समितिको वडा ६ मा थियो । पूरै वडामा कसैको पनि लालपूर्जा थिएन । दिपलालका अनुसार बसोबास गर्नेहरु सबै चेपाङ समुदायका छन् । गाउँमा जेनतेन बाटो पुगे पनि अझै बिजुली गएको छैन । राम्रो पूर्वाधार नभए पनि पछि यो ठाउँ राप्ती नगरपालिका–१३ मा पर्यो ।
कहिले धादिङ, कहिले चितवन, कहिले गाउँ, कहिले नगरपालिकामा परे पनि वासबाङवासीको लालपूर्जाको प्रतिक्षा कायमै छ । ‘यो ठाउँमा अन्न राम्रो उब्जाउ हुँदैन । मकैका साथै कोदो, बोडी, मास ठिकै फल्छ । गुजारा चलाउन गाह्रो छ,’ लालबहादुर भन्छन्, ‘बस्दै आएको ठाउँ छाडेर कहाँ जाने ? पुर्खाको जमिनमा बसेका हौं । लालपूर्जा त दिनु पर्यो नि ।’
उहिल्यै ९२ घरधुरी पुगेको बासवाङमा अहिले दोब्बर परिवार भइसकेको दिपलाल बताउँछन् । पहिलाको जस्तो जाँगर नभए पनि उनले लालपूर्जा पाउने आशा मारेका छैनन् । ‘जनताहरु उठाएर कहाँकहाँ लगिएन, तर काम भएन । अहिले पहिलाको जसरी यो विषय कसैले उठाउँदैनन् । नेताले पनि त्यत्ति कुरा गर्दैनन् । तर सरकारले यो काम गरे सरकारलाई पनि राम्रो, हामीलाई झनै राम्रो,’ दिपलालले भने ।
