घर फर्कने आशा र दुविधामा हर्मुजनजिक फसेका नाविक

इरानले अनुमति नदिदाँ सयौं ट्यांकर र कार्गो जहाजहरूले हर्मुज जलघाँटीबाट बाहिरिन पाएका छैनन्

चैत्र १, २०८२

रोयटर्स

Sailors stranded near Hormuz in hope and dilemma of returning home

काठमाडौँ — इरानी बन्दरगाह बन्दर अब्बासमा दुई सातादेखि फसिरहेको जहाजका चालक दलका सदस्य २६ वर्षे अम्बुज भारतीय नागरिक हुन् । उनले ड्रोन र मिसाइलको धुँवालाई नजिकबाट नियालिरहेका छन् ।

पर्सियन खाडी र आसपासका बन्दरगाहमा सञ्चालन हुने व्यवसाय, बन्दरगाह वा यससँग सम्बन्धित काम काम गर्ने अम्बुजजस्ता झन्डै २३ हजार भारतीय इरान र अमेरिका–इजरायलबीचको युद्धको मारमा छन् । 

इरानले अनुमति नदिदाँ ठूलो संख्यामा ट्यांकर र कार्गो जहाजहरू हर्मुज जलघाँटीबाट बाहिरिन पाएका छैनन् ।  यस क्षेत्रमा इरानको आक्रमणमा तीनजना भारतीय जहाज चालक दलका सदस्यको मृत्यु भइसकेको छ । एकजना बेपत्ता छन् । 

यसले भारतमा ठूलो चिन्ता उत्पन्न भएको छ ।  नयाँ दिल्लीले इरानसहित विभिन्न देशका निकायसँग समन्वय गर्दै उनीहरूको सुरक्षाको व्यवस्था गरिरहेको जनाएको छ ।

‘जलसेनाको एस्कर्ट बिना वा अनुमति बिना हर्मुज पार गर्नु कति खतरनाक हुन्छ, हामीलाई थाहा छ,’ अम्बुजले फोनमार्फत भने । अम्बुजका अनुसार उनीहरूसँगै रहेका १५ सदस्यले रोजगारी गुमाइसकेका छन् ।  तर तेहरानबाट भारत आउने उडान अहिले सञ्चालनमा छैन ।

सुरक्षित रुपमा पश्चिम एशियाका अन्य कुनै देशको बन्दरगाह पुग्ने र त्यहाँबाट विमान हुँदै भारत आउने उनीहरुको योजना छ । तर, त्यसरी अर्को बन्दरगाह पुग्नका लागि इरान सरकारले जहाजलाई अनुमति दिनुपर्छ । 

‘यदि पश्चिम एशिया वा नजिकको कुनै देशतिर जहाज लैजान अनुमति मिल्यो भने हामी त्यहाँबाट चाँडो घर फर्कने विमान समाउनेछौँ,’ उनले भने ।

मार्चको सुरुतिर अम्बुजको जहाज दक्षिण–पूर्वी एसियाली देशतर्फ गइरहेको थियो । तर, इरानी इस्लामिक रिभोल्युशनरी गार्ड कोप्र्स (आईआरजीसी) ले यस जहाजका क्याप्टेनलाई वायरलेसमार्फत चेतावनी दिए । बिना स्वीकृति होर्मुज पार गरे परिणाम भोग्नुपर्ने चेतावनी दिइएको थियो । जसकारण उनीहरु अघि बढ्न सकेनन् । 

उनीहरूले सुरक्षित मार्ग खुल्ने आशा गरिरहेका छन् । तर, युद्ध लम्बिएकाले बन्दरगाहमै हप्तौं अल्झिनुपर्ने जोखिम छ । 

व्यापारिक जहाजका लागि भारत विश्वकै तेस्रो ठूलो श्रमिक आपूर्तिकर्ता हो ।  सरकारी तथ्यांक अनुसार करिब ३ लाखभन्दा बढी भारतीय कर्मचारी विश्वभरका व्यापारीक जहाजहरूमा कार्यरत छन् । 

युद्धले हर्मुजमा फसेका अम्बुज र उनका सहकर्मीहरूजस्तै हजारौं भारतीय परिवार अहिले टेलिफोन र सन्देशमार्फत मात्र आफ्ना प्रियजनसँग सम्पर्कमा छन् । 

भारततर्फ आइरहेको जहाजका चालक एम कान्तले बाटोमा आफ्ना चालक दलका सदस्यहरुले ड्रोन र फाइटर उडिरहेको देखेको बताए । उनका अनुसार गत मार्चमा इरानी अधिकारीहरुले स्टारलिंकको इन्टरनेट बन्द गरेदेखि नै चालक दलका सदस्य त्रास छन् । 

‘खतराको साइरन बजेको सुनियो, टाढा रहेको एउटा जहाजमा आगो लागेको देख्यौँ र वायरलेसमार्फत धम्क्याउने सन्देश पनि आयो,’ उनले त्रासद यात्राबारे भने ।

६ मार्चमा पछि स्टारलिंक पुनः सुरु गर्ने अनुमति पाएपछि बल्ल परिवारसँग नियमित सम्पर्क गर्न पाएको उनले बताए । तर प्रत्येक पटक ड्रोन वा फाइटर जेटको आवाज सुन्दा अझै पनि उनीहरुको मुटु द्रुत गतिले धड्किन्छ । 

भारत र इरानका अधिकारी तथा आफ्नो कम्पनीले जहाजको परिचय वा ठेगाना सार्वजनिक नगर्न निर्देशन दिएको कान्ताले बताए । सुरक्षाका कारण यस्तो निर्णय लिइएको हुनसक्ने पनि उनले बताए । 

चालक दलका अर्का एक सदस्यले हर्मुज खाडी नजिकै पुगेको एक जहाजमाथि ड्रोनले आक्रमण गरेको दृश्य देखेको बताए । आक्रमणमा पर्दा उक्त जहाज हर्मुजबाट केही माइलमात्रै पर रहेको उनले बताए । 

‘आकाशमा देखिने विमान, जेट वा ड्रोन कुन प्रकारको हो भनेर हामी एकआपसमा रमाइलो गर्छाै ।  तर निद्रा लाग्दैन, धेरै तनाव छ,’ उनले भने ।

यसबीच इरानले १३ मार्चमा भारती–ध्वजावाहक दुईवटा जहाजलाई हर्मुजको घाँटी पार गर्ने अनुमति दिएको छ । यी जहाजले तरल पेट्रोलियम ग्यास बोकेका थिए । नयाँ दिल्लीका लागि इरानी राजदूत मोहम्मद फाथालीले पनि भारतीय जहाजका लागि सुरक्षित मार्ग खोल्ने आश्वासन दिएका छन् । चालक दलका सदस्य सुरक्षित रुपमा घर फर्कने आशमा छन् । 

रोयटर्स

Link copied successfully