नागरिकहरूले सुशासन, राजनीतिक स्थिरता, रोजगारी सिर्जना, उद्योग-व्यवसायको प्रवर्द्धन, सडक र पूर्वाधारको विकास, साथै शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रहरूमा सुधारको अपेक्षा गरेका छन् ।
What you should know
काठमाडौँ — फागुन २१ गते सम्पन्न आमनिर्वाचन २०८२ को चुनावी परिणामपछि देशको राजनीतिक भविष्यबारे विभिन्न वर्ग र क्षेत्रका नागरिकहरू आफ्नो अपेक्षा र धारणा व्यक्त गर्न थालेका छन्। लामो समयदेखि राजनीतिक अस्थिरताका कारण सेवा–सुविधा र विकास प्रक्रियाबाट प्रभावित बनेका नागरिकहरू अब नयाँ नेतृत्वबाट केही सकारात्मक परिवर्तनको अपेक्षा गरिरहेका छन्।
एउटै पार्टीको बहुमत आएको चुनावी परिणामपछि स्थिर सरकारको अपेक्षा नागरिकले गरिरहेका छन्। कतिपय नागरिक नयाँ नेतृत्व र राजनीतिक परिवर्तनलाई आशावादी दृष्टिले हेरे पनि तत्कालै ठूलो परिवर्तन हुनेमा भने पूर्ण रूपमा विश्वस्त छैनन्। उनीहरूका अनुसार वर्षौँदेखि एउटै संरचना र प्रणालीमा चलिरहेको राज्य व्यवस्था एकाएक परिवर्तन हुन सहज नभएको बताएका छन्।
स्थिर सरकार, पारदर्शी शासन प्रणाली र रोजगारीमुखी प्रभावकारी नीतिहरू लागू भएमा देशको विकासले गति लिन सक्ने विश्वास व्यक्त गरेका छन्। नागरिकहरूले सुशासन, राजनीतिक स्थिरता, रोजगारी सिर्जना, उद्योग–व्यवसायको प्रवर्द्धन, सडक र पूर्वाधारको विकास, साथै शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रहरूमा सुधारको अपेक्षा गरेका छन्।
रौतहटका पवन ठाकुर १५ वर्षदेखि काठमाडौंमा पार्लर सञ्चालन गरिरहेका छन्। नयाँ बानेश्वरस्थित ‘न्यु रोयल ब्युटी एन्ड युनिसेक्स सलुन’का सञ्चालक उनी राजनीतिक परिवर्तनलाई नजिकबाट नियालिरहेका छन्। युवा पुस्ताको काँधमा आएको राजनीतिमा उनले धेरै आशा पनि गरेका छन्। विगतमा दुबई र मलेसियामा रोजगारी गरेर अहिले आफ्नै उद्यम सञ्चालन गरिरहेका उनलाई रोजगारी सिर्जना होस् भन्ने मुख्य अपेक्षा छ। उनी भन्छन्, ‘रोजगारीका लागि धेरै युवाहरू विदेशिएका छन्। धेरै रोजगारी सिर्जना गरेर युवालाई देशमै बस्ने वातावरण सिर्जना होस् भन्ने लागेको छ।’ अस्तव्यस्त सडकले दैनिक मानिसहरूको मृत्यु भइरहेको बताउँदै सडक सञ्जाल व्यवस्थित गर्नुपर्ने उनको सुझाव छ। भ्रष्टाचार नियन्त्रण र सुशासनलाई मुख्य एजेन्डा बनाएको नयाँ पार्टीले सोहीअनुसार काम गरोस् भन्ने उनको अपेक्षा छ। उनले भने, ‘अहिले एउटै पार्टीलाई सरकार सञ्चालनका लागि जनताले विश्वास गरेका छन्। जनताको भावनाअनुसार अबको सरकार बनोस्।’
काठमाडौंको पुरानाेबानेश्वरमा व्यवसाय गर्दै आइरहेकी कमला गुरागाईं छोराछोरीका लागि सुरक्षित वातावरणको अपेक्षा राख्छिन्। दुई छोराछोरीकी आमा गुरागाईंका अनुसार अहिलेको समयमा अभिभावकहरूको सबैभन्दा ठूलो चिन्ता सन्तानको भविष्य र सुरक्षासँग जोडिएको हुन्छ। विशेषगरी छोरीहरू सुरक्षित रूपमा पढ्न, काम गर्न र आफ्नै क्षमताअनुसार अघि बढ्न सक्ने वातावरण बन्नु आवश्यक रहेको उनले बताइन्। उनका अनुसार समाजमा अझै पनि महिलाहरूले विभिन्न चुनौतीहरू सामना गर्नुपरेको अवस्था रहेको छ। त्यसैले छोरीहरू सुरक्षित रूपमा काम गर्न सकून्, आत्मविश्वासका साथ समाजमा अघि बढ्न सकून् भन्ने वातावरण निर्माण गर्नु सरकारको प्रमुख जिम्मेवारी हुनुपर्ने उनको धारणा छ।
पछिल्लो समय विदेशिँदै गएका छोराछोरी देखेर आफ्ना बच्चा देशमै बसून् भन्ने उनको चाहना छ। उनले भनिन्, ‘छोराछोरीलाई विदेश पठाएर पढाउने मेरो खासै रहर छैन। देशमै सुरक्षित भएर बस्न र काम गर्न सकून् भन्ने लाग्छ। त्यसका लागि सरकारले उचित वातावरण निर्माण गर्नुपर्छ।’ उनले देशमै रोजगारीका अवसर सिर्जना गर्न पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताइन्। युवाहरूलाई स्वदेशमै अवसर नहुँदा धेरैजसो विदेश जान बाध्य भइरहेको अवस्था रहेको भन्दै यस्तो परिस्थितिमा सुधार आउनुपर्ने उनले जोड दिइन्।
महिलाहरूको सशक्तीकरणका लागि महिला लक्षित कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने उनको भनाइ छ। विशेषगरी महिलाहरूलाई उद्यमशीलतामा जोड दिने, उनीहरूको क्षमता र दक्षताअनुसार सीप विकास गर्ने कार्यक्रमहरू ल्याइनुपर्ने उनले सुझाव दिइन्। महिलाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमहरू आवश्यक पर्ने बताउँदै उनले भनिन्, ‘महिलाहरूलाई उनीहरूको सीप र क्षमताका आधारमा तालिम दिने, उद्यमी बनाउने र आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्य सरकारको हुनुपर्छ।’ उनका अनुसार यस्ता कार्यक्रमहरूले महिलालाई मात्र होइन, समग्र समाज र देशको आर्थिक विकासमा पनि सकारात्मक योगदान पुर्याउनेछन्।
शंकरदेव क्याम्पसबाट स्नातकोत्तर अध्ययन पूरा गरेका पवन शिवाकोटीले देशमा सुशासनलाई सबैभन्दा ठूलो प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्। हाल शेयर ब्रोकरको रूपमा कार्यरत उनले लामो समयदेखि देशका विभिन्न क्षेत्रमा भ्रष्टाचार बढेको भन्दै यसलाई नियन्त्रण गर्नु अहिलेको मुख्य चुनौती भएको बताएका छन्। शिवाकोटीले अहिलेको सरकारबाट पनि सुशासनको अपेक्षा रहेको बताएका छन्। उनका विचारमा देशको विकास, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न सुशासन अत्यन्त महत्वपूर्ण हुन्छ। त्यसैले राज्यका सबै निकायले इमानदारीका साथ काम गर्दै भ्रष्टाचार नियन्त्रण र पारदर्शी प्रशासनतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ।
राजनीतिप्रति पनि चासो राख्ने शिवाकोटी भन्छन्, ‘समय मिल्दा म राजनीति बुझ्ने र अध्ययन गर्ने प्रयास गरिरहेको हुन्छु। देशमा राम्रो शासन व्यवस्था कायम भए मात्र विकासले गति लिन सक्छ भन्ने मेरो विश्वास छ। त्यसैले अबको सरकारसँग मेरो मुख्य अपेक्षा नै सुशासन हो।’ उनले नागरिक सचेतना, जिम्मेवार नेतृत्व र पारदर्शी नीतिहरूको माध्यमबाट मात्र देशमा सुशासन स्थापना हुन सक्ने बताए। उनका अनुसार सरकार, निजी क्षेत्र र नागरिक सबैले आ–आफ्नो भूमिकाबाट इमानदारीका साथ काम गरेमा मात्र भ्रष्टाचार नियन्त्रण भई सुशासन कायम गर्न सकिनेछ।
मध्यबानेश्वरमा व्यवसाय गर्दै आइरहेका विष्णु पाण्डेले हालको चुनावी परिणामलाई सकारात्मक रूपमा हेरेका छन्। पाल्पाका स्थायी बासिन्दा रहेका उनी विगत करिब १७ वर्षदेखि काठमाडौंमा बसेर व्यवसाय गर्दै आएका छन्। लामो समयदेखि राजधानीमा व्यवसाय सञ्चालन गर्दै आएका कारण उनले देशको राजनीतिक तथा सामाजिक परिवेशलाई नजिकबाट नियाल्दै आएका छन्। उनका अनुसार यसपटकको चुनावी परिणामले विगतको तुलनामा केही फरक राजनीतिक वातावरण सिर्जना गरेको अनुभव गरिएको छ।
पाण्डेले नयाँ नेतृत्वप्रति अत्यधिक अपेक्षा नरहे पनि परिवर्तनको सुरुवात हुने आशा भने व्यक्त गरेका छन्। उनका अनुसार देशको शासन प्रणाली र संरचना लामो समयदेखि एउटै ढाँचामा चलिरहेको छ, त्यसैले नयाँ नेतृत्व आउँदैमा तुरुन्तै ठूलो परिवर्तन देखिनु सहज नहुने उनले बताए। उनले भने, ‘वर्षौँदेखि एउटै संरचनामा काम भइरहेको छ। नयाँ नेतृत्व आउनेबित्तिकै सबै कुरा एकैचोटि परिवर्तन हुन सक्दैन, तर अब केही राम्रो हुन्छ भन्ने आशा भने राखेको छु।’
उमेरले ९१ वर्ष भइन् जमुना देवी दाहाल। बानेश्वरस्थित एक आश्रमको सहारामा उनी बसिरहेकी छन्। उनले थुप्रै सरकार परिवर्तन देखेकी छन्। ओखलढुंगाकी उनी सामाजिक–राजनीतिक विषयलाई चासोका साथ बुझ्छिन्। उनले सरकारले दिएको वृद्धभत्ता पाइरहेकी छन्। उनले भनिन्, ‘हामीलाई वृद्धभत्ता सरकारले दिइरहेको छ, यो बाँच्ने एउटा आधार हो। यसैलाई निरन्तरता दिइरहोस्।’
घरपरिवार नभएकी उनी वृद्धभत्ता सहारा भएको बताइन्। उनलाई वृद्धभत्ता बढोस् भन्ने छैन। राज्यको आर्थिक क्षमताअनुसार पाउने भएकाले जति सरकारले दिन्छ त्यसैमा सन्तुष्ट हुनुपर्ने उनको भनाइ छ। सरकार वा सत्ताले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने र नागरिकको आवश्यकताअनुसार सरकारले व्यवहार गर्नुपर्ने उनको भनाइ छ। उनले भनिन्, ‘गरिबलाई खाना, प्यासीलाई पानी, नाङ्गो मान्छेलाई लुगा पाउनुपर्छ।’
दोलखाका भगवानदास श्रेष्ठ पूर्वशिक्षक हुन्। पञ्चायतकालदेखि नै उनी राजनीतिक गतिविधिमा संलग्न हुँदै आए। प्रगतिशील विचारधाराको मान्छे बताउने उनी अहिले राजनीतिबाट टाढा छन्। पछिल्लो समय राजनीतिक अवस्था बिग्रँदै गएको बताउँदै उनी अहिलेको निर्वाचनले एउटा लय समाउने विश्वास व्यक्त गर्दछन्। जनताले एउटा पार्टीलाई बहुमत पुग्ने अवस्थामा पुर्याएकाले राजनीति र देश सुध्रने उनले विश्वास गरेका छन्। उनले भने, ‘यो चुनावी परिणाम सकारात्मक छ, एउटै पार्टीको बहुमत पुग्ने अवस्था छ त्यसकारण देश विकास गर्न रोकिने अवस्था छैन।’
उनको राजनीतिको सुरुवात र अहिले धेरै परिवर्तन भइसकेको उनले अनुभव गरेका छन्। अहिलेको युवा शक्तिमा शिक्षित वर्गहरू आइसकेको उनले बताए। सक्षम, अनुभवी र इच्छाशक्ति भएका व्यक्तिहरू राजनीतिमा आएकाले परिवर्तन हुने उनले बताए। उनले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताए। त्यस्तै उनले रोजगार पनि प्राथमिकतामा राख्नुपर्ने बताए। उनले संविधानमा उल्लेख भएका कुराहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने बताए। उनले भने, ‘संविधानमा लेखिएका धेरै कुरा छन् तर कार्यान्वयनको पक्ष छैन। किताबमा छ, व्यवहारमा मनोमानी छ। यो पक्षलाई सशक्त रूपमा कार्यान्वयनमा लैजानु पर्दछ।’ संविधानले नागरिकका लागि मौलिक हक भनेर उल्लेख गरे पनि नागरिकले वास्तवमा नपाएको अवस्था रहेको बताउँदै उनले हरेक नागरिकले मौलिक हक पाउने सुनिश्चितता हुनुपर्ने बताए।
भोजपुरका एम्बास न्यौपाने हाल काठमाडौंमा बसेर विज्ञान विषयमा स्नातक गर्दैछन्। अध्ययनका साथै उनी देशको समसामयिक राजनीति र विकासका विषयमा पनि चासो राख्छन्। उनका अनुसार देशमा देखिएका विभिन्न समस्यामध्ये सडक व्यवस्थापन र पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको छ। यदि सरकार स्थिर भएर काम गर्न पायो भने सडक व्यवस्थापन लगायत धेरै क्षेत्रमा सुधार हुन सक्ने उनको विश्वास छ।
न्यौपानेले सरकारलाई काम गर्ने पर्याप्त समय दिनु आवश्यक रहेको बताए। उनका अनुसार कुनै पनि सरकारले राम्रो परिणाम देखाउन कम्तीमा पाँच वर्षसम्म स्थिर रूपमा काम गर्न पाउनुपर्ने र प्रभावकारी रूपमा काम गर्न सकेमा मात्र जनताले पनि सरकारको कामको मूल्यांकन गर्न सक्ने उनको भनाइ छ। उनले भने, ‘यदि सरकार पाँच वर्षसम्म स्थिर रह्यो र जनताको अपेक्षाअनुसार काम गर्न सक्यो भने अब सरकारले राम्रो काम गर्यो भन्ने महसुस हुन्छ। त्यस्तो अवस्थामा यही सरकार र यही पार्टीले भविष्यमा पनि निरन्तरता पाउने सम्भावना हुन्छ भन्ने लाग्छ।’
न्यौपानेका अनुसार अहिले नेपाली जनता राम्रो पार्टी र सक्षम नेतृत्वको खोजीमा छन्। जनताले पारदर्शी, जिम्मेवार र विकासमुखी नेतृत्व चाहिरहेका छन्। यही कारणले नयाँ राजनीतिक शक्तिप्रति पनि नागरिकको ध्यान बढ्दै गएको उनले बताए।उनले भने, ‘जनताले राम्रो पार्टी र राम्रो नेता खोजिरहेका छन्। अहिले रास्वपाको बहुमतको सरकार बन्ने सम्भावना देखिन्छ। यदि त्यस्तो सरकार बनेर राम्रो काम गर्न सक्यो भने यही सरकार लामो समयसम्म टिक्न सक्छ भन्ने लाग्छ।’
चितवनका कुशलजंग क्षेत्री हाल काठमाडौंमा बसेर आईटी विषयमा स्नातक अध्ययन गरिरहेका छन्। अध्ययनका क्रममा उनी देशको समसामयिक राजनीति र विकासका विषयमा पनि चासो राख्न थालेका छन्। उनका अनुसार पछिल्लो समय नेपाली राजनीतिलाई नजिकबाट बुझ्ने प्रयास गरिरहेका छन् र देशको राजनीतिक अवस्थाबारे पनि अध्ययन गरिरहेका छन्।
क्षेत्रीका अनुसार नेपालमा लामो समयदेखि सरकार अस्थिर रहँदा विकासका धेरै कामहरू प्रभावित भएका छन्। सरकार परिवर्तन भइरहने, नीतिहरू निरन्तर परिवर्तन हुने र योजनाहरू अधुरै रहने जस्ता कारणले देशको समग्र विकास प्रक्रियामा असर परेको उनको बुझाइ छ। तर अब भने देशमा राजनीतिक स्थिरता आउने आशा आफूले गरेको उनले बताए। उनको विचारमा यदि देशमा स्थिर सरकार बन्न सकेमा त्यसले आर्थिक विकासमा सकारात्मक प्रभाव पार्नेछ। राजनीतिक स्थिरता भएपछि विदेशी लगानी भित्रिने वातावरण बन्ने, उद्योग–व्यवसाय विस्तार हुने र कर प्रणाली पनि सहज बन्ने सम्भावना रहेको उनले बताए। यस्ता सुधारहरूले देशको अर्थतन्त्रलाई मजबुत बनाउने र रोजगारीका अवसरहरू पनि बढ्ने उनको विश्वास छ। उनले नेपाली राजनीतिको मुख्य समस्या नै राजनीतिक अस्थिरता भएको आफूले बुझेको बताए। उनका अनुसार स्थिर नेतृत्व र दीर्घकालीन योजना अभावका कारण धेरै सम्भावना हुँदाहुँदै पनि देशले अपेक्षित प्रगति गर्न सकेको छैन।
उनले भने, ‘राजनीतिक स्थिरताले देशको विकासमा ठूलो सहयोग गर्दछ। जब सरकार स्थिर हुन्छ, तब उद्योग–कलकारखाना खुल्ने वातावरण बन्छ, लगानी बढ्छ र रोजगारीका अवसरहरू पनि विस्तार हुन्छन्।’ स्थिर सरकार देशको समृद्धिका लागि अत्यन्त आवश्यक रहेको आफूले बुझेको उनले बताए।
