कान्तिपुर प्रकाशकीय : प्रधान सम्पादक चौहानद्वारा राजीनामा, नयाँ नियुक्तिका लागि दरखास्त आह्वान

चौहानले राजीनामा दिएपछि नयाँ प्रधान सम्पादकका लागि दरखास्त आह्वान गरिएको कान्तिपुर मिडिया ग्रुपले जानकारी दिएको छ ।

चैत्र १, २०८२

प्रकाशकीय

Kantipur Publishing: Editor-in-Chief Chauhan resigns, calls for applications for new appointment

What you should know

काठमाडौँ — कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले राजीनामा दिएका छन् । चौहानले राजिनामा दिएपछि नयाँ प्रधान सम्पादकका लागि दरखास्त आह्वान गरिएको कान्तिपुर मिडिया ग्रुपले जानकारी दिएको छ ।

कान्तिपुर प्रकाशकीय 

कान्तिपुर मिडिया ग्रुपद्वारा प्रकाशित हरेक सञ्चारमाध्यमले तीन दशकदेखि राजनीतिक स्थिरता, सुशासन, पारदर्शिता, लगानी र रोजगारी सिर्जनाका साथै त्यसका लागि सरोकारवाला निकायहरूलाई जवाफदेही बनाउन प्रयास गर्दै आएका छन् । जवाफदेहिता र पारदर्शिता झन् बढी आवश्यक रहेको हामीले महसुस गरेका छौं ।

कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले गत शुक्रबार राजीनामा दिएको हाम्रा पाठक तथा अन्य सञ्चारमाध्यमलाई औपचारिक रूपमा जानकारी गराउँदछौं । २६ असार २०७८ देखि सम्पादकको भूमिकामा रहेका चौहानलाई कान्तिपुरले ७ जेठ २०८० मा प्रधान सम्पादक नियुक्त गरेको थियो ।

दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा संलग्न चौहानले प्रधान सम्पादकको जिम्मेवारीमा रही कान्तिपुरलाई कोभिड–१९ देखि जेन–जी आन्दोलन तथा निर्वाचनसम्मको चुनौतीपूर्ण समयमा लगातार सफल नेतृत्व गरेकामा हामी हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दछौं । नयाँ प्रधान सम्पादकको नियुक्ति नहुन्जेल सम्पादकीय नेतृत्व चौहानले नै सम्हाल्नेछन् । नयाँ प्रधान सम्पादकको आवेदन प्रक्रिया पनि सुरु भइसकेको जानकारी गराउँदछौं ।

स्वतन्त्र, निडर, निष्पक्ष र सार्वजनिक हितको पत्रकारिताको मान्यतामा विश्वास राख्ने कान्तिपुर दैनिकले प्रत्येक दिन प्रिन्ट र डिजिटल प्लाटफर्ममार्फत दसौं लाख पाठकसम्म पहुँच राख्ने गरेको छ । पछिल्लो समय नेपालमा द्रुत गतिमा परिवर्तन भइरहेका राजनीतिक, आर्थिक र प्राविधिक परिवेशअनुसार हाम्रा पाठक पनि प्रिन्ट संस्करणबाट डिजिटलतर्फ स्थानान्तरण हुँदै गइरहेका छन् । यही सन्दर्भलाई मध्यनजर गर्दै कान्तिपुर दैनिकलाई नयाँ दिशामा अगाडि बढाउन कान्तिपुर मिडिया ग्रुप दूरदर्शी प्रधान सम्पादकको खोजीमा छ । यस पटक कान्तिपुर मिडिया ग्रुपले प्रधान सम्पादकको आवश्यकताबारे सार्वजनिक सूचना प्रकाशन गर्दै सोही प्रक्रियाबाट नियुक्तिका लागि आवेदन खुला गरिसकेको छ । 

कान्तिपुर मिडिया ग्रुपले अँगालेको स्वतन्त्र र साहसी प्रेसको भूमिकालाई निरन्तरता दिन पारदर्शिता र प्रतिस्पर्धाप्रतिको प्रतिबद्धतासमेत व्यक्त गर्दछौं । धन्यवाद ।

प्रकाशकीय

Link copied successfully