कांग्रेस आधिकारिकता विवाद :   शेरबहादुर देउवा पक्षको रिटको पेशी तोकियो

शर्मा र पोखरेलको इजलासमा २२ नम्बरमा पेशी भएकाले पालो आउने सम्भावना न्यून छ ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

Congress officialdom dispute: Sher Bahadur Deuba's writ petition hearing scheduled

काठमाडौँ — कांग्रेसको आधिकारिकता विवादमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितले दर्ता गराएको रिट सर्वोच्च अदालतमा पेशी तोकिएको छ । न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासमा पेशी तोकिएको छ ।

शर्मा र पोखरेलको इजलासमा २२ नम्बरमा पेशी भएकाले पालो आउने सम्भावना न्यून छ । सोही इजलासमा रास्वपाको धनुषाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजीको रिट पहिलो नम्बरमा पेशी तोकिएको छ ।  

देउवाका तर्फवाट पूर्णबहादुर खड्कासहितले गगन थापालाई सभापति बनाउने विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध माघ ४ गते रिट दायर भएको थियो । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले माघ ६ गते कारण देखाउ  आदेश जारी गर्दै सवै पक्षसँग लिखित जवाफ माग गरेको थियो । सर्वोच्चले अन्तिम सुनुवाइ गर्नका लागि अग्राधिकार प्रदान गरेको  थियो । 

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै १५ दिनभित्र अग्राधिकार प्रदान गरेको  थियो ।  निर्वाचन आयोगसमेतलाई विपक्षी बनाउँदै देउवा पक्ष अदालत गएको थियो ।

गगन थापा–विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेका थिए । यसविरुद्ध विशेष महाधिवेश नै अवैधानिक भन्दै देउवा पक्ष निर्वाचन आयोग पुगेको थियो । 

आयोगले नवनिर्वाचित टिमलाई नै वैधानिकता दिएको थियो । त्यसपछि देउवा पक्ष सर्वोच्च पुगेको हो ।  विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएका छन् । सर्वोच्चको आदेशपछि फागुन २१ मा भएको  प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा थापाले नै हस्ताक्षर गरेर टिकट वितरण गरेका  थिए ।  आइतबार हेर्न नभ्याएमा उक्त मुद्दा कम्तीमा एक महिनापछि सर्ने छ ।

कान्तिपुर

Link copied successfully