पश्चिमबाट भित्रिएको वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा विस्तारै पूर्वतार्फ सर्दै गएको हो ।

चैत्र १, २०८२

रासस

The rain-producing system that entered from the west is moving east.

What you should know

काठमाडौँ — नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमबाट सुरु भएको वर्षा विस्तारै पूर्वतार्फ सर्दै गएको हो ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले पश्चिम नेपालको डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ गुल्मी, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची, मनाङलगायत क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको बताए । वर्षा गराउने उक्त प्रणाली अहिले चितवनसम्म आइपुगेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमबाट सुरु भएको वर्षा पूर्वतर्फ सर्दै गएको जनाएको छ । पछिल्लो एक घण्टामा गुल्मीमा १७ र तनहुँमा ११ मिलिमिटर वर्षा भएको जनाउँदै कायस्थले अहिले पनि वर्षा भइरहेको उल्लेख गरे । 

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ । उनका अनुसार हाल मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने कोशी र गण्डकी प्रदेशमा आंशिक बादल लागेको छ । 

तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको विभागले जनाएको छ । विभागद्वारा आज जारी मौसमसम्बन्धी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशसहित कोसी र बागमती प्रदेशका पहाडी र हिमाली भूभागमा  साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने उल्लेख छ ।

देशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनुका साथै थोरै क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागका सूचना अधिकारी कायस्थले जानकारी दिए ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको उनले बताए ।

रासस

Link copied successfully