भारतीय विदेश मन्त्रालय प्रवक्ता रणधीर जयसवालले भारतीय प्रधानमन्त्री मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग गरेको टेलिफोन वार्ताबारे पनि जानकारी गराए ।
काठमाडौँ — भारतीय विदेश मन्त्रालयले आगामी दिनमा नेपालसँगको सम्बन्ध अझै सुदृढ र प्रगाढ हुने अपेक्षा रहेको जनाएको छ । बिहीबार नयाँदिल्लीमा साप्ताहिक मिडिया ब्रिफिङका क्रममा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आगामी दिनमा द्विदेशीय सम्बन्ध अझै गतिशील हुने बताएका हुन् ।
प्रवक्ता जयसवालले ब्रिफिङका क्रममा भने, 'यहाँहरूलाई थाहा नै छ भारत र नेपालबीच एक अद्वितीय र बहुआयामिक साझेदारी तथा सम्बन्ध रहेको छ र आगामी दिन तथा वर्षहरूमा यो गतिशीलता अझ सुदृढ र प्रगाढ हुँदै जाने हामीले अपेक्षा गरेका छौँ ।'
साथै प्रवक्ता जयसवालले भारतीय प्रधानमन्त्री मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग गरेको टेलिफोन वार्ताबारे पनि जानकारी गराए ।
'हाम्रा प्रधानमन्त्रीज्यूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता श्री बालेन शाहसँग टेलिफोन वार्ता गर्नुभएको छ। वहाँले दुवै नेताहरूलाई वहाँहरूको निर्वाचनमा प्राप्त जित र वहाँहरुको पार्टी अर्थात रास्वपाले हासिल गरेको शानदार सफलताका लागि बधाई दिनुभयो। प्रधानमन्त्रीज्यूले वहाँहरूलाई एक घनिष्ठ मित्र र छिमेकीका रूपमा नेपालका जनता र नयाँ सरकारसँग मिलेर काम गर्न तथा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न भारत सदैव प्रतिबद्ध रहेको कुरा बताउनुभयो,' उनले भने ।
