ओमान, कतार, कुवेत, बहराइन र संयुक्त अरब इमिरेट्समा रहेका नेपालीलाई साउदी अरबमा जान नेपाली दूतावासले साउदीको भिसा सहजीकरण गर्ने भएको हो ।
काठमाडौँ — परराष्ट्र मन्त्रालयले अति जरुरी परेका नेपाली श्रमिकलाई साउदी अरब हुँदै नेपाल फर्कन सहजीकरण गर्ने जनाएको छ । अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि इरानले पनि खाडी देशमा आक्रमण गरिरहेको छ । यो तनाब चर्किँदै गइरहेको छ ।
ओमान, कतार, कुवेत, बहराइन र संयुक्त अरब इमिरेट्समा रहेका नेपालीलाई साउदी अरबमा जान नेपाली दूतावासले साउदीको भिसा सहजीकरण गर्ने भएको हो । यसको लागि आपत परेका नेपालीले सम्बन्धित देशमा रहेका नेपाली दूतावासमा आफ्नो राहदानीको फोटोकपी, भिसाको फोटोकपी र ट्राभल प्लानसहितको विवरण बुझाउन अनुरोध गरेको हो ।
साउदी अरबको खाडीका ओमान, कतार, कुवेत, बहराइन र यूएईसँग जमिन जोडिएको छ । खाडी क्षेत्रका अधिकांश स्थानमा हवाई उडानहरू पूर्ण रूपमा नियमित नभए पनि केही स्थानबाट सीमित रूपमा सञ्चालन भइरहेका छन् । संयुक्त अरब इमिरेट्स (युएइए) मा फ्लाई दुबई र एयर अरेबियाका सीमित उडानहरू सञ्चालनमा छन् । दुबई विमानस्थलमा अस्थायी अवरोधपछि उडान पुनः सञ्चालनमा ल्याइएको छ । तर, सिमित उडानले टिकट पाउन भने निकै कठिन भइरहेको छ । साउदी अरेविया र ओमानतर्फ हवाई सेवा हाल पुनः सञ्चालनमा रहेकाले इच्छुक नेपाली नागरिकले त्यहाँबाट पनि हवाई यात्रा गर्न सक्ने परराष्टले जनाएको छ ।
‘पश्चिम एसिया क्षेत्रका केही स्थानहरूबाट सीमित रूपमा हवाई उडानहरू सञ्चालन भइरहेका छन् । नेपालतर्फ उडान सञ्चालनका सम्बन्धमासमेत छलफल भइरहेको छ । इच्छुक नेपाली नागरिकहरूले हाल उडान सञ्चालन भइरहेका स्थानहरूबाट हवाई यात्रा गर्न सक्नुहुनेछ,’ परराष्टले भनेको छ ।
पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूको अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा सोमवार सााझ सम्म ५७ हजार एकसय जना नेपाली नागरिकहरूले आˆनो विवरण दर्ता गरिसकेको छ । प्राप्त विवरणहरू अध्ययन गर्दै आवश्यकता अनुसार कदम चालिने परराष्टले जनाएको छ ।
