सानीभेरी नदीमा दुई किशोरीको शव फेला, एक बेपत्ता

बाँफिकोट गाउँपालिका-३ गरालागोठ निवासी १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मिला ओलीको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । भेरी नदी किनारमा तैरिएको अवस्थामा शव फेला परेका हुन् । १३ वर्षीया सपना ओलीको भने अवस्था अज्ञात छ ।

फाल्गुन २६, २०८२

महेश केसी

Bodies of two teenage girls found in Sani Bheri River, one missing

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा दुई किशोरीको शव फेला परेको छ । एक किशोरी भने बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान दुई फरक-फरक स्थानमा दुई किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । करिब पाँच सय मिटर फरक दूरीमा दुई शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार शवको पहिचानसमेत भएको छ । बाँफिकोट गाउँपालिका-३ गरालागोठ निवासी १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मिला ओलीको शव भेटिएको प्रहरी निरीक्षक पुनले जानकारी दिए । भेरी नदी किनारमा तैरिएको अवस्थामा शव फेला परेका हुन् ।

पुनका अनुसार सोमबार बेलुका तीन जना किशोरीहरू छिमेकी गाउँको विवाहमा जान भनेर गएका थिए । उनीहरूको साथमा गएकी १३ वर्षीया सपना ओलीको भने अवस्था अज्ञात रहेको प्रहरी निरीक्षक पुनले जनाए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट निरीक्षक पुनको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ । यसअघि अस्थायी प्रहरी पोस्ट छिनखेतबाट पनि प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully