वरिष्ठ मौसमविद् विभूति पोखरेल भन्छिन् : अझै २/३ दिन काठमाडौंको आकाश धुम्मिन सक्छ । खासै ठूलो पानी परेको छैन । तल्लो वायुमण्डलमा जलवाष्पयुक्त कण आएको छ तर ठूलै वर्षा गराउने खालको छैन ।
What you should know
काठमाडौँ — काठमाडौं उपत्यका वातावरणीय प्रदूषणको चपेटामा परेको छ । वायु प्रदूषण मापन गर्ने सूचकांकले मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक अवस्था देखाएको छ ।
वायुको गुणस्तर मापन गर्ने आईक्यूएयरका अनुसार काठमाडौंको वायु एकदमै अस्वस्थ रहेको छ । आईक्यू एयरका अनुसार काठमाडौंको सोमबार दिउँसो वायुको गुणस्तर १७९ रहेको छ ।
सामान्यतः शून्यदेखि ५० सम्मको एक्यूआईलाई सन्तोषजनक मानिन्छ । १५० भन्दा माथिलाई अस्वस्थ मानिन्छ । एक्यूआई १५० देखि २०० हुँदा संवेदनशील मानिसलाई असर गर्ने विज्ञहरू बताउँछन् । २०१ देखि ३०० एक्यूआईले सबै उमेर समूहका मानिसको स्वास्थ्य जोखिम बढाउँछ । ३०१ देखि ५०० सम्मले आपत्कालीन अवस्था जनाउँछ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार हावामा पीएम २.५ को मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ । तर काठमाडौंको हावामा पीएम २.५ को मात्रा प्रतिघनमिटरमा ९६ रहेको छ । हावामा २.५ माइक्रोनभन्दा साना व्यास भएका स–सना कण नै पीएम २.५ हुन् ।
यिनमा सल्फेट, नाइट्रेट्स, ब्ल्याक कार्बन, एमोनियम र धूलोका कण हुन्छन् । सजिलैसँग फोक्सोमा पनि पुग्ने भएकाले यी कण स्वास्थ्यका लागि हानिकारक हुन्छन् । सवारीसाधन, उद्योग, कृषि, निर्माण, घाँस, दाउरा बाल्दा यस्ता कण निस्कन्छन् । यही पीएम २.५ का आधारमा एक्यूआई मान निकालिन्छ ।
कहिले खुल्छ आकाश ?
मौसमविद्हरूका अनुसार लामो समय पानी नपरेकै कारण प्रदूषण बढेको हो । जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेल अझै केही दिन आकाश यस्तै हुने बताउँछिन् । इकान्तिपुरसँगको कुराकानीमा उनले भनिन्, 'अझै २/३ दिन काठमाडौंको आकाश धुम्मिन सक्छ । खासै ठूलो पानी परेको छैन । तल्लो वायुमण्डलमा जलवाष्पयुक्त कण आएको छ तर ठूलै वर्षा गराउने खालको छैन ।' धुलोका कणहरू आकाशमा रहेको उनले बताइन् ।
कसरी बच्ने ?
बाटोमा हिँड्ने सर्वसाधारणले आँखा पोल्ने, घाँटी खसखस गर्ने र श्वासप्रश्वासमा भारीपन महसुस भएको गुनासो गरिरहेका छन् । चिकित्सकहरूका अनुसार यस्तो हावाले विशेषगरी बालबालिका, वृद्धवृद्धा र दम, निमोनिया जस्ता श्वासप्रश्वासका बिरामीहरूलाई गम्भीर असर पुर्याउँछ ।
विज्ञहरूले अहिलेको अवस्थामा ‘मर्निङ वाक’ लगायतका बाहिरी शारीरिक व्यायाम नगर्न र अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अपिल गरेका छन् ।
