२३ र २४ भदौका घटना जाँचबुझ आयोग मन्त्रिपरिषद्को निर्णयबाट गठन गरिएको थियो, आयोगको प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी पनि मन्त्रिपरिषद्को हो ।
काठमाडौँ — २३ र २४ भदौको घटना जाँचबुझका लागि गठन भएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रतिवेदन सरकारलाई बुझाएको छ । यो प्रतिवेदन कार्यान्वयन कहिले सुरु हुन्छ ?
२३ र २४ भदौका घटना जाँचबुझ आयोग मन्त्रिपरिषद्को निर्णयबाट गठन गरिएको थियो, आयोगको प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी पनि मन्त्रिपरिषद्को हो ।
त्यसैले सुरुमा मन्त्रिपरिषद्ले प्रतिवेदन स्वीकार गर्छ अनि कार्यान्वयन सुरु हुन्छ । प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने बताउनुभएको छ । मन्त्रिपरिषद् पुगेपछि यसमा निर्णय होला ।
आयोगको प्रतिवेदन सार्वजनिक हुनका लागि पनि मन्त्रिपरिषद्मै पुग्नुपर्ने हो ?
हो । आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री तहमा प्रतिवेदन बुझाउनुभएको छ । अब मन्त्रिपरिषद्मा पुगेर अध्ययनपछि अनुमोदन गरेर सरकारले स्वीकार गर्छ अनि त्यसलाई सार्वजनिक गर्ने प्रक्रिया सुरु हुन्छ ।
सरकारले प्रतिवेदन सार्वजनिक गर्नुअघि अध्ययन र त्यसलाई कार्यान्वयनमा लैजान्छ कि गर्दैन ?
अहिले नै प्रतिवेदनमाथि कुनै कारबाही गर्नु उचित हुँदैन । यसलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सरकारले स्वीकार गरेको हुन्छ । त्यसपछि अरू प्रक्रिया गर्न सहज हुन्छ । २१ फागुनको निर्वाचनपछि देशमा नयाँ जनादेश आएको छ । त्यसलाई पनि सरकारले बेवास्ता गर्न मिल्दैन ।
त्यस्तै, यो आयोगको प्रतिवेदनमा उल्लेख गरिएका कतिपय विषयमा नीतिगत निर्णय पनि लिनुपर्ने हुन सक्ला । अहिले अध्ययन नगरेका कारण के छ भन्न सकिँदैन । तर नीतिगत निर्णय लिनुपर्ने अवस्था रहेछ भने त नयाँ जनादेश आएको अवस्थामा निर्वाचनको जिम्मेवारी पूरा गरेको सरकारले गर्दा विवाद हुन सक्छ । त्यसैले यस विषयमा अहिले नै टिप्पणी गर्नु हतारो हुन्छ ।
विगतमा पनि यस्ता आयोग निर्माण हुन्थे तर सरकारले प्रतिवेदन लुकाउने गर्थ्यो । अहिले पनि त्यस्तै हुन्छ कि भनेर आम नागरिकले आशंका गरेका छन् नि ?
प्रतिवेदन बनाउने त कार्यान्वयनकै लागि हो । प्रतिवेदन बनाएपछि सार्वजनिक पनि गर्नुपर्छ । यसलाई पनि मन्त्रिपरिषद्मा लगेर पारित गरिन्छ अनि के के कार्यान्वयन गर्न सकिन्छ भन्नेबारे सरकारले आफ्नो अवस्था हेरेर गर्न सक्छ ।
विगतमा तपाईं दण्डहीनता र मानवअधिकारको कुरा उठाउनुहुन्थ्यो । यो प्रतिवेदन पनि कार्यान्वयन नहुँदा दण्डहीनताको निरन्तरता हुँदैन ?
छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन हुनेमा कुनै प्रश्न हुन सक्दैन । यो प्रतिवेदन कार्यान्वयन हुन्छ । सरकार दण्डहीनताको पक्षमा छैन भनेर मैले विगतदेखि नै भन्दै आएको छु । यसमा पनि मेरो धारण त्यही नै हो ।
