रास्वपाले १२४, कांग्रेसले १७, एमालेले ८, नेकपाले ७, श्रम संस्कृतिले ३ र राप्रपाले १ सिट जितेका छन् भने कांग्रेसको २ तथा रास्वपा र एमालेको १–१ स्थानमा अग्रता छ ।
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ सिटमध्ये आइतबार मध्यरातिसम्म १६१ निर्वाचन क्षेत्रको नतिजा आएको छ भने चार निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।
जसमा रास्वपाले १२४ सिट जितेको छ, गोरखा–१ मा उक्त दलकै सुधन गुरुङले अग्रता लिइरहेका छन् ।
रास्वपाले प्राप्त गरेको जित तीन चौथाइ हो, अर्थात् प्रत्यक्षतर्फका हरेक चारमध्ये तीन सांसद रास्वपाका रहेका छन् ।
यस्तै कांग्रेसले १७, एमालेले ८, नेकपाले ७, श्रम संस्कृतिले ३ र राप्रपाले १ सिट जितेका छन् भने म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका छन् ।
नतिजा आउन बाँकी ४ निर्वाचन क्षेत्रमध्ये इलाम–१ र धनुषा–१ मा कांग्रेसको अग्रता छ भने गोरखा–१ मा रास्वपा र संखुवासभा–१ मा एमालेले अग्रता लिइरहेको छ ।
आइतबार घोषित नतिजामा सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंहले कांग्रेस सभापति गगनकुमार थापालाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन् ।
त्यस्तै कांग्रेसका पूर्वप्रवक्ता प्रकाशशरण महत पनि रास्वपाकै विक्रम तिमिल्सिनासँग करिब चार हजार मतले पराजित भएका छन् । अछाम–२ मा भने रास्वपाका भूपदेव शाह एमालेका यज्ञबहादुर बोगटीसँग करिब ५ हजार मतले पराजित भएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले कांग्रेस, एमाले, नेकपा जस्ता पुराना दलका लगभग सबै वरिष्ठ नेतालाई पराजित गरेको छ ।
सर्लाही–४ मा कांग्रेस सभापति थापासहित मोरङ–४ र काठमाडौं–५ मा कांग्रेस महामन्त्रीद्वय क्रमशः गुरुराज घिमिरे र प्रदीप पौडेल, मोरङ–६ मा कांग्रेस नेता शेखर कोइराला रास्वपाका उम्मेदवारसँग पराजित भएका छन् ।
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली रास्वपाले प्रधानमन्त्रीका रूपमा अगाडि सारेका बालेन्द्र शाहसँग झापा–५ मा पराजित भएका छन् भने उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र गोकर्ण बिष्ट तथा महासचिव शंकर पोखरेल, वरिष्ठ नेता ईश्वर पोखरेल लगायत पनि पराजित भएका छन् ।
नेकपा संयोजक पुष्पकमल दाहाल रुकुम पूर्वबाट विजयी बने पनि सहसंयोजक माधवकुमार नेपाल लगायत अन्य अधिकांश वरिष्ठ नेता पराजित भएका छन् ।
रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ उपसभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनीष झा, पूर्वउपसभामुख इन्दिरा राना मगरलगायत नेताहरू विजयी भएका छन् ।
त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, जनमत अध्यक्ष सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि रास्वपाकै उम्मेदवारसँग भारी मतले पराजित भएका छन्।
