दुई पूर्वआईजीपी पराजित हुँदा एआईजीसम्म ६ पूर्वसुरक्षाकर्मीले तय गरे संसदीय यात्रा

सुरक्षा निकायमा लामो समय सेवा गरी अवकाशप्राप्त ६ जना अधिकारीले संसद् छिर्दै छन् ।

फाल्गुन २५, २०८२

कान्तिपुर संवाददाता

Six former security personnel set out on parliamentary journey to AIG after two former IGPs were defeated

काठमाडौँ — सुरक्षा निकायमा लामो समय सेवा गरी अवकाशप्राप्त ६ जना अधिकारीले संसदीय यात्रा तय गरेका छन् ।

निर्वाचनमा भाग लिएका पूर्वआईजीपीद्वय राष्ट्रिय परिवर्तन पार्टीका सर्वेन्द्र खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान पराजित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिस्पर्धामा रहेका पूर्वनायब निरीक्षक (सइ) देखि पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) सम्मका अधिकारीहरुले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट विजयी भएका छन् ।

पूर्वएआईजी विश्वराज पोखरेल, पूर्वएसएसपी विक्रमसिंह थापा, पूर्वडीएसपी गोविन्द पन्थी, पूर्वसइ शम्भु ढकाल (सुस्केरा) र पूर्वप्रहरी निरीक्षक मोहम्मद फिरदोस आलम तथा काठमाडौं महानगरपालिकाका पूर्व नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले संसदीय यात्रा तय गरेका हुन् । उनीहरु सबै रास्वपाबाट विजयी भएका छन् । पूर्वएआइजी पोखरेल ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेस उम्मेदवार कुमार लुइँटेललाई ५ मतले पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन् । पोखरेलले १३ हजार ९ सय ५३ मत पाएकामा निकटतम प्रतिद्वन्द्वी लुइँटेलले १३ हजार ९ सय ४८ मत पाए । २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका पोखरेल ५६ वर्षे उमेरहदका कारण साउन २०७९ मा अवकाशमा गएका थिए । आईजीपी प्रतिस्पर्धामा पहिलो नम्बर र ज्येष्ठतामा पोखरेल डेढ वर्ष सिनियर रहे पनि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्का एआईजी धीरजप्रताप सिंहलाई वैशाखमा आईजीपी बनाएपछि उनी नेतृत्वमा पुग्नबाट रोकिएका थिए । त्यसको ३ महिनापछि पोखरेल सेवा निवृत्त भएका थिए ।

पछिल्लोपटक १२ मंसिरमा पोखरेल रास्वपा प्रवेश गरेका थिए । निर्वाचनमा टिकट पाउने सुनिश्चितसहित रास्वपा प्रवेश गरेका उनले त्यस क्रममा सभापति रवि लामिछानेलाई सरकारले ‘सहकारी मुद्दामा फसाएको’ भन्दै आफू न्यायका लागि लड्ने पनि बताएका थिए । पछिल्लोपटक सम्पन्न निर्वाचनबाट विजयी भएसँगै अब पोखरेलको भूमिका नीति निर्माण तहमा प्रवेश गरेको हो ।

प्रहरीका अर्का पूर्वएसएसपी विक्रमसिंह थापा पनि रास्वपाबाटै निर्वाचित भएका छन् । २७ हजार ६ सय ३५ मतसहित निर्वाचित उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेन्द्रराज आचार्यलाई ६ हजार १ सय ८ मतान्तरले पराजित गरे । आचार्यले  २१ हजार ५ सय ३५ मत पाए ।

मंसिर २०४३ मा प्रहरी सेवा प्रवेश गरेका थापाले ३० वर्षे सेवावधिका कारण मंसिर २०७३ मा अवकाश पाएका थिए । सेवा निवृत्तलगत्तै थापा कांग्रेस प्रवेश गरेका उनी महासमिति सदस्यलगायत भूमिकामा रहे । २०७९ मा सम्पन्न प्रदेशसभा सदस्यअन्तर्गत उनी लुम्बिनीबाट प्रतिस्पर्धामा थिए । तर, पराजित भए ।

पछिल्लोपटक निर्वाचनमा भाग लिने गरी रास्वपा प्रवेश गरेका थापा पहिलो प्रयासमै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । काठमाडौंलगायत विभिन्न जिल्ला प्रहरी प्रमुखमा रहँदा खरो स्वभाव र ‘सिंघम’ छवि बनाएका उनी सशस्त्र द्वन्द्वकालमा पनि विभिन्न जिल्लामा बसेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने अधिकृतका रुपमा पनि कहलिएका अधिकारी हुन् । अब भने ३० वर्षे प्रहरीको अनुभवबाट उनको भूमिका नीति निर्माताका रुपमा प्रवेश गरेको छ । 

निर्वाचित भएपछि कपिलवस्तुका एसपी सन्तोष आचार्यले थापालाई बधाई दिँदै ‘पहिले अब्बल प्रहरी अधिकृत हुनुहुन्थ्यो । अब माननीय हुनुभयो । असल र राम्रो काम गरेर जनतासँगै राष्ट्रप्रति समर्पित नमुना काम गर्नुहोला’ भनेका थिए । प्रत्युत्तरमा थापाले ‘म राजनीतिलाई सेवाका रुपमा लिन्छु, पहिले सामाजिक जीवनको अभिन्न अंग शान्ति सुरक्षा, अमनचयन कायम गराउने कामबाट जनतासँग जोडिएको थिएँ, अब राजनीतिबाट जनतासँग जोडिन चाहन्छु’ भन्दै आगामी दिनमा पनि फरक भूमिकामा रहेर जनता र देशको सेवामा समर्पित हुने बताएका थिए । 

रास्वपाबाटै विजयी हुनेमा अर्का पूर्व प्रहरी अधिकृत हुन्– गोविन्द पन्थी । गुल्मी–२ का उम्मेदवार पन्थी प्रहरीका पूर्वडीएसपी हुन् । भदौ २०८१ मा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएका उनले बिहीबार सम्पन्न निर्वाचनबाट एमालेका गोकर्ण विष्टलाई पराजित गरे । पन्थी १६ हजार ९६७ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी विष्टले १६ हजार ४०६ मत ल्याए ल्याए । विष्टलाई ५६१ मतान्तरले पराजित गरेर पन्थीले पनि संसदीय यात्रा तय गरेका हुन् ।

पन्थीले पनि निर्वाचनको मुखमा रास्वपा प्रवेश गरी टिकट लिएका थिए । रास्वपाबाट संसदीय जिम्मेवारीमा प्रवेश गर्ने अर्का सुरक्षा अधिकारी हुन्– शम्भु ढकाल (सुस्केरा) । प्रहरी नायब निरीक्षक (सइ)बाट ५ वर्षअघि राजीनामा दिएका ढकाल रास्वपा झापा–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

रास्वपा झापाका सचिवसमेत रहेका उनी २०५५ सालमा प्रहरी सेवा प्रवेश गरी २२ वर्ष बहालमा रहे । २०७९ मा रवि लामिछानेले पार्टी गठन गरेसँगै संस्थापक सदस्य बनेर सक्रिय ढकाल २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिस्पर्धामा थिए । त्यसबेला एमालेका एलपी सावा लिम्बुसँग पराजित उनले यसपटक लिम्बुसँगै फराकिलो मतान्तरले यसअघिको पराजयको बदला लिएका छन् । ढकालले ४६ हजार ६ सय ३१ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी लिम्बुले ११ हजार ९ सय ८६ मत मात्रै पाए ।

प्रहरीमा रहँदा ‘रेडियोकर्मी’को भूमिकामा काम गरेका ढकाल साहित्यमा पनि सक्रिय छन् । अब भने उनको सार्वजनिक भूमिका सांसदका रुपमा रहनेछ । आफू राजनीतिमार्फत समाजसेवामा लाग्नकै लागि नियमित अवकाशमा नजाँदै राजीनामा दिएर बाहिरिएको उनको तर्क छ । ‘राजीनामा दिनुको कारण राजनीतिमार्फत समाजसेवा गर्ने मूल लक्ष्य थियो, त्यही भएर रास्वपाबाट राजनीतिमा आबद्ध भएँ, अघिल्लो निर्वाचनमा सफल भइनँ, अहिले अनुकूल नतिजा आयो, अब एक मात्र ध्येय सांसदमा रुपमा रहेर देश र नागरिकका पक्षमा काम गर्नु हो,’ उनले भने । 

सुरक्षाकर्मीको भूमिकामा रहँदारहँदै अकस्मात् राजीनामा दिएर रास्वपा प्रवेश गरी विजयी हुने अर्का अधिकारी हुन्– राजुनाथ पाण्डे । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल प्रमुख रहेका पाण्डेले निर्वाचनमा भाग लिनकै लागि राजीनामा दिएका थिए ।

काठमाडौं महानगरका तत्कालीन मेयर बालेन्द्र शाहले राजीनामा दिएर राजनीतिमा प्रवेश गरेसँगै पाण्डे पनि पदबाट राजीनामा दिई रास्वपामा जोडिए । काठमाडौं–३ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गरे । महानगर प्रहरी प्रमुखका रुपमा उनलाई चर्चा र विवादले छाडेन । पाण्डेले १८ हजार ७ सय ५७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी घिसिङले ११ हजार १ सय ७१ मत ल्याए । 

रौतहट–२ मा कांग्रेसबाट निर्वाचित ३९ वर्षीय मोहम्मद फिरदोस आलम पनि पूर्वप्रहरी हुन् । रौतहट-२ मा नेकपाका किरणकुमार साहलाई आलमले पराजित गरेका हुन् । साहलाई उनले ११ हजार ८६ को मतान्तरले पराजित गर्दै पहिलोपटक संसदीय यात्राको सुरुवात गरेका छन् । फिरदोसले २९ हजार ५२८ मत ल्याए भने साहले १८ हजार ४४२ मत पाए ।

राजनीतिमा पूर्णकालीन हुनुअघि उनी नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी निरीक्षक थिए । उनी पूर्वमन्त्री तथा कांग्रेसका दिवंगत नेता मोहम्मद आफताव आलमका जेठा छोरा हुन् । बुबा राजपुर बमकाण्डअन्तर्गत कर्तव्यज्यान मुद्दामा परेपछि फिरदोसले २०७६ सालमा प्रहरी सेवाबाट राजीनामा दिएका थिए । उनले पाकिस्तानबाट एमबीबीएस गरेका हुन् ।

दुई पूर्वआईजीपी पराजित

पूर्वआईजीपी ध्रुवबहादुर पश्चिम नवलपरासी–२ का बाट २०७९ को निर्वाचनमा राप्रपाबाट  विजयी भएका थिए । २०५४ सालमा आईजीपीबाट अवकाशमा गएका प्रधान त्यसपछि निरन्तर पार्टी राजनीतिमा सक्रिय हुँदै निर्वाचन प्रतिस्पर्धामा थिए ।

हालै २१ फागुनको निर्वाचनमा भने उनले पराजय भोग्नुपर्‍यो ।सोही क्षेत्रबाट उम्मेदवार रहेका प्रधाानलाई  रास्वपाका नरेन्द्रकुमार गुप्ताले पराजित गरे । गुप्ताले ४४ हजार १ सय ३८ मत ल्याउँदा चौथो स्थानमा रही प्रधान ४ हजार ६ सय ९१ मतमा सीमित भए ।

अर्का पूर्वआईजीपी सर्वेन्द्र खनाल तेस्रो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धामा रहे पनि सफल हुन सकेनन् । एमालेबाट २०७९ को निर्वाचनमा काठमाडौं–६ र २०८० मा तनहुँ–१ को उपनिर्वाचनमा भाग लिएका खनाल दुवैमा पराजित भएका थिए । यसपटक बारा–४ मा परिवर्तन पार्टी नेपालका उम्मेदवार उनी रास्वपाका रहबर अन्सारीबाट पराजित हुनुपर्‍यो ।

अन्सारीले ४१ हजार २ सय मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णकुमार यादवले ११ हजार ६ सय ३९ मत पाए । खनाल भने ४ सय ६४ मतमै सीमित भए ।

कान्तिपुर

Link copied successfully