प्रधानमन्त्री कार्कीले भनिन् : जाँचबुझ आयोगको प्रतिवेदनको निचोड मात्र भए पनि सार्वजनिक गर्छौं

'अब यसको अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढ्छ। साथै सार्वजनिक गर्ने कुरामा पनि हामी छलफल गर्छौँ। यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौँ,' प्रधानमन्त्री कार्कीले भनिन् ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Karki said: We will make public even if it is only the summary of the Commission of Inquiry report.

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी विषयमा जाँचबुझ गर्न गठित आयोगले तयार पारेको प्रतिवेदनको निचोड मात्र भए पनि सार्वजनिक गर्ने बताएकी छिन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोगका पदाधिकारीहरूबाट प्रतिवेदन बुझ्दै विवरण हेरेर सार्वजनिक गरिने बताएकी हुन् । 

'अब यसको अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढ्छ। साथै सार्वजनिक गर्ने कुरामा पनि हामी छलफल गर्छौँ। यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौँ,' आयोगका पदाधिकारीहरूसँग उनले भनिन् । 

त्यस्तै प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्ने बताइन् ।

‘तपाईँहरूले एकदमै मेहनत गर्नुभएको छ। यसका लागि धन्यवाद छ। सुरुमा जुन समयावधि तोकेका थियौँ, हाम्रो स्रोतसाधनका कारण त्यो पुग्दो भएनछ। पछि समय पनि थप्नुपर्ने भयो। तर न्याय, कानुन र अनुसन्धानको क्षेत्रमा तपाईँहरुको विज्ञता र योग्यताबारे थाहा पाएर नै आयोगमा नियुक्त गरेका हौँ। आ-आफ्नो क्षेत्रमा तपाईँको प्रख्याति छ। त्यसको प्रतिबिम्ब अवश्य पनि प्रतिवेदनमा छ भन्ने विश्वास छ। दूधको दूध पानीको पानी छुट्याएर प्रतिवेदन दिनुभएको छ भन्ने मलाई पूरा विश्वास छ,' उनले भनिन् । 

कान्तिपुर

Link copied successfully