'निर्देशिकाअनुसार बनेनन् मतदान केन्द्र, समावेशी व्यवस्था कमजोर'

एफडब्लुएलडीको नेतृत्वमा १५ गैरसरकारी संस्थाले तयार पारेको निर्वाचन पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा निर्वाचन आयोगले तयार पारेको निर्देशिकाअनुसार काम नभएको उल्लेख छ ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

'Polling centers not built as per guidelines, inclusive system weak'

काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न भए पनि लैंगिक, अपांगता तथा समावेशी–मैत्री प्रक्रियामा भने धेरै सुधार गर्नुपर्ने पर्यवेक्षण प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।  

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)को नेतृत्वमा १५ गैरसरकारी संस्थाले तयार पारेको पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा निर्वाचन आयोगले तयार पारेको निर्देशिकाअनुसार काम नभएको उल्लेख छ । 

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा अधिवक्ता सागर पाठकले प्रतिवेदन सार्वजनिक गरेक हुन् । उनले मतदानअघिको मतदान स्थल, मतदानको समय र मतगणनाको अवस्थालाई जे–सी विधिबाट पर्यवेक्षण गरी प्रतिवेदन तयार गरेको बताए । उनका अनुसार एफडब्लुएलडीको नेतृत्वमा पर्यवेक्षणमा विभिन्न १५ गैरसरकारी संस्थाको सहकार्य थियो ।

७ प्रदेशका २४ जिल्लामा रहेको १६० बुथको प्रत्यक्ष अवलोकन गरेर प्रतिवेदन तयार पारिएको पाठकले जानकारी दिए । सातै प्रदेशका मतदान केन्द्रमा १६० जना पर्यवेक्षकलाई प्रशिक्षण दिएर पर्यवेक्षणमा पठाएको प्रतिवेदनमा उल्लेख छ ।

एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले पनि निर्वाचन आयोगले तयार पारेको निर्देशिकाअनुसार मतदान केन्द्र तयार नभएको  बताए । उनले भने, ‘न्यूनतम मापदण्ड पूरा भएका मतदानस्थल भेटिएनन् । मतदान केन्द्र नै पर्याप्त सूचनाबाट बन्चित रहेकाले आउँदा दिनमा मतदान केन्द्रका बारेमा विश्लेषण हुन जरुरी छ ।’

अधिकांश मतदान केन्द्रमा महिला र पुरुषको लाइन बेग्लाबेग्लै भए पनि अन्यलाई बेवास्ता गरिएको, प्राथमिक उपचारको व्यवस्था नभएको, पिउने पानी, स्तनपान कक्ष, आराम कक्ष नभएको, मतदान स्थल अपांगतामैत्री नभएको र मतदानपछि फर्किने बाटो वृद्धवृद्धा र अशक्तका लागि ध्यान नपुर्‍याइएको कार्यकारी निर्देशक श्रेष्ठले बताए । 

कार्यक्रममा वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले पर्यवेक्षणका क्रममा प्राप्त अनुभव सेयर गरेकी थिइन् । उनले मतदान स्थल महिलामैत्री भएको तर मतदानपश्चात निस्कने बाटोका बारेमा ध्यान नपुर्‍याएको अनुभव सुनाइन् ।

पर्यवेक्षणमा सहकार्य गरेको टेवा संस्थाले ६ जिल्लाको विभिन्न १२ वटा बुथमा पुगेर पर्यवेक्षण गरेको थियो । मतदान गर्ने बनाइएको लाइन अव्यवस्थित, निर्वाचन महिला प्रहरीमाथि फरक व्यवहार भएको र मतदान अधिकृतको रुखो व्यवहार पर्यवेक्षणको क्रममा प्राप्त भएको संस्थाकी ज्योति रानाले बताइन् । यसैगरी, शान्तिका लागि अभियान संस्थाकी विन्द्रा महर्जनले नेपालीभन्दा विदेशी पर्यवेक्षकलाई मात्र महत्व दिएको बताइन् । यसैगरी महिला अपांग संघकी अध्यक्ष सुस्मिता श्रेष्ठले मतदान केन्द्र अपांगमैत्री नभएको उल्लेख गरिन् । 

पर्यवेक्षणको क्रममा खिचिएका तस्बिरहरू कार्यक्रममा प्रदर्शनीमा राखिएका थिए । जसमा मतदान केन्द्र निर्माण, मतदान भइरहेको अवस्था र मतगणनाको अवस्था देखाइएको थियो ।

कान्तिपुर

Link copied successfully