नेपालका प्रधानमन्त्री र युएईका राष्ट्रपतिबीच फोनवार्ता 

प्रधानमन्त्री कार्कीले मध्यपूर्वमा भइरहेको परिस्थितिमा सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन, तनावलाई थप नबढाउन र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेकी थिइन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Phone conversation between Nepal's Prime Minister and UAE President

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शनिबार अपराह्न संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहमद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गरेकी छन् । 

प्रधानमन्त्री कार्कीले पवित्र रमजानको अवसरमा शान्ति, न्याय र सद्भावको लागि हार्दिक शुभकामना व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

संवादका क्रममा प्रधानमन्त्री कार्कीले युएईको सार्वभौम क्षेत्रमा नागरिक पूर्वाधारलाई समेत लक्षित गरी गरिएका आक्रमणहरूको निन्दा गर्दै यस विषम परिस्थितिमा संयुक्त अरब इमिरेट्सलाई नेपालका तर्फबाट ऐक्यबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री कार्कीले यस परिस्थितिमा सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन, तनावलाई थप नबढाउन र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेकी थिइन् । 

युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै कार्कीले कूटनीति र संवादको माध्यमबाट मात्र दिगो शान्ति सम्भव हुने बताएकी थिइन् । प्रधानमन्त्री कार्कीले नेपालले परिस्थिति सकेसम्म चाँडो सामान्य अवस्थामा फर्कने अपेक्षा गरेको बताएकी थिइन् । उनले सार्वजनिक सुरक्षा सुनिश्चित गरेकोमा र त्यहाँ काम गर्ने तथा बसोबास गर्ने नेपाली नागरिकहरू सहित सबै बासिन्दा, आगन्तुक र ट्रान्जिटमा रहेका मानिसहरूको समान रूपमा हेरचाह गरेकोमा युएई सरकारप्रति आभार व्यक्त गरेकी थिइन् । 

१ मार्च २०२६ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीको क्रममा एक नेपाली नागरिकले आफ्नो अमूल्य जीवन गुमाएको थाहा पाउँदा आफूलाई धेरै दुःख लागेको बताएकी थिइन् । साथै ५ मार्च २०२६ मा अबुधाबीको आईसीएडी क्षेत्रमा २ जना नेपाली घाइते भएको जानकारी पाउँदा चिन्ता लागेको बताएकी थिइन् । 

उक्त अवसरमा प्रधानमन्त्री कार्कीले शान्ति र विकासलाई प्रवर्द्धन गर्न क्षेत्रीय तथा वैश्विक कूटनीतिक प्रयासहरुमा गरेको निरन्तर योगदानप्रति युएईका राष्ट्रपतिको कुशल नेतृत्वको उच्च प्रशंसा पनि गरेकी थिइन् । 

आगामी वर्षहरूमा आर्थिक साझेदारी र जनता-जनताबीचको सम्बन्धलाई थप बलियो बनाउँदै हाम्रो द्विपक्षीय सम्बन्ध थप विस्तारित र सुदृढ हुँदै जाने विश्वास रहेको कुरा पनि प्रधानमन्त्री कार्कीले बताएकी थिइन् । 

प्रधानमन्त्री कार्कीले राष्ट्रपति, युएई सरकार र युएई जनतालाई यस क्षेत्रमा दिगो शान्ति सुनिश्चित गर्न सफलता मिलोस् भनी नेपालको तर्फबाट शुभकामना व्यक्त गरेकी थिइन् । टेलिफोन संवादका क्रममा उनले यो अवस्था लामो समयसम्म रहने छैन र यसले अन्ततः नयाँ कूटनीतिको लागि ठाउँ उपलब्ध गराउनेछ भन्ने विश्वास व्यक्त गर्दै नेपाल वर्तमान तनावको प्रत्यक्ष पक्ष नभए पनि यसको परिणाम भोगिरहेको बताएका ‍थिए । 

उनले तत्कालको लागि नेपाली नागरिकहरूको सुरक्षा चिन्ता र दीर्घकालीन रुपमा बढ्दो इन्धन मूल्य, लगानी प्रवाहमा संकुचन र बढ्दो मुद्रास्फीति सहित व्यापक आर्थिक दबाबहरूको सामना गरिरहनुपरेको बताएकी थिइन् । ट्रान्जिटमा रहेका यात्रुहरू बिस्तारै नेपाल वा तेस्रो देशहरूमा आ-आफ्ना गन्तव्यहरूमा सुरक्षित रूपमा प्रस्थान गर्न सक्ने कुरामा पनि उनले विश्वास व्यक्त गरेकी थिइन् । 

युएईका राष्ट्रपतिले यस विषम परिस्थितिमा नेपालले एक असल मित्रराष्ट्रको रुपमा प्रस्तुत गरेको ऐक्यबद्धता र सहानुभूतिप्रति युएईको तर्फबाट प्रधानमन्त्री कार्कीलाई धन्यवाद व्यक्त गरेका थिए । उनले एक जना नेपालीले ड्युटीमा रहेका बखत २०२६ मार्च १ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनामा परेर ज्यान गुमाउनुपरेकोमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका थिए । 

उनले नेपाल र युएईबीच कायम रही आएको सुमधुर र मित्रवत् सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै नेपालीहरूको मेहनती बानी र असल आचरणको प्रशंसा गरेको प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ । 

यसका साथै संवादका क्रममा युएईका राष्ट्रपतिले दुवै मुलुकका राजदूतहरूले नेपाली नागरिकको सुरक्षा तथा हित संरक्षणका लागि सक्दो प्रयास गरिरहेको बताएका थिए । साथै नेपालीहरूको सुरक्षाको प्रत्याभूतिका लागि सबै किसिमको पहल गर्न आफू तत्पर रहेको कुरा पनि व्यक्त गरेका थिए । 

यसबीचमा केही नेपाली नेपाल फर्कन चाहेको आफूले जानकारी पाएको उल्लेख गर्दै उनले परिस्थिति सहज भएपछि सहजीकरणका लागि सबै किसिमको सहयोग उपलब्ध गराइनेसमेत उल्लेख गरेका थिए । 

प्रधानमन्त्री सुशीला कार्की र युएईका राष्ट्रपति शेख मोहमद बिन जायद अल नाह्यानबीचको कुराकानी सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

कान्तिपुर

Link copied successfully