अन्तर्राष्ट्रिय मिडियामा बालेनको बखान

अन्तर्राष्ट्रिय मिडियाले नेपालको निर्वाचनलाई निकै चासो र प्राथमिकता राखेका छन्, यो परिणामलाई भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्धको जनादेशका रूपमा व्याख्या गरेका छन्

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Balen's praise in the international media

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । शुक्रबार साँझसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा अग्रता लिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले पनि बिहीबार सम्पन्न निर्वाचन र त्यसपछिको प्रारम्भिक मतपरिणामलाई समाचारमा प्राथमिकता दिएका छन् । प्रकाशित अधिकांश समाचारमा मतगणनामा रास्वपाको अग्रता र केहीले त रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई नेपालका भावी प्रधानमन्त्री भनेरसमेत उल्लेख गरेका छन् ।

अमेरिकी समाचार संस्था सीएनएनले ‘नेपालको प्रारम्भिक मतगणनामा पूर्वर्‍यापर बालेनको पार्टीको अग्रता’ शीर्षकमा समाचार लेखेको छ । ‘३५ वर्षीय शाह राजधानी काठमाडौं महानगरका पूर्वमेयर हुन् र उनी नेपालका भावी प्रधानमन्त्रीको दौडमा अघि छन्,’ सीएनएनले लेखेको छ । 

भारतीय दैनिक द इकोनोमिक टाइम्सले पनि ‘को हुन् बालेन शाह ?’ शीर्षकमा बालेनमाथि समाचार छापेको छ । त्यस्तै इन्डिया टुडेले मैथिलीभाषी बालेन नेपालको मधेशी पहिचान भएको जनाएको छ । उनले मेयर छँदा काठमाडौंलाई रूपान्तरण गरेको पत्रिकामा उल्लेख छ ।

Balen's praise in the international mediaउनको उदयले नेपाली राजनीतिको पुस्तान्तरण गर्ने विश्लेषण गरिएको छ । बंगलादेशी सञ्चारसंस्था द डेली स्टारले त नेपालमा बालेनको ख्याति ‘रकस्टार’ जस्तै रहेको उल्लेख गरेको छ । 

अन्तर्राष्ट्रिय मिडियाहरूले निर्वाचनलाई निकै चासो र प्राथमिकताका साथ स्थान दिएको देखिन्छ । अधिकांश समाचारमा भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्धको जनादेशका रूपमा व्याख्या गरेका छन् । साथै कतिपय मिडियाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को लोकप्रियताको चर्चा गर्दै सम्भावित प्रधानमन्त्रीका रूपमा पनि चर्चा गरेका छन् । 

एसोसिएट प्रेस (एपी) ले नेपालमा शान्तिपूर्वक निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै यसबाट बालेन्द्र प्रभावशाली व्यक्तिका रूपमा उदाएको उल्लेख गरेको छ ।

एपीले निर्वाचनपछिको सरकारलाई जेन–जी आन्दोलनका माग सम्बोधन गर्नुपर्ने, भ्रष्टाचारसँग जुध्नुपर्ने तथा दुई शक्तिशाली छिमेकी भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित राख्नुपर्ने चुनौती हुने विश्लेषण गरेको छ ।

बेलायती सञ्चारमाध्यम बीबीसीले भ्रष्टाचार, आर्थिक कठिनाइ र असमानता यस चुनावको मुख्य मुद्दा बनेको जनाएको छ ।

यही कारण भदौमा आन्दोलन हुँदा ७७ जनाको ज्यान गएको उल्लेख गर्दै झापा–५ मा बालेन्द्र र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भिडन्त विशेष चर्चामा रहेको बीबीसीको समाचारमा उल्लेख छ । ‘यदि बालेनले जिते भने यसले निष्क्रिय बनेको नेपालको शासन प्रणालीमा कम्पन दिनेछ । तीन दशकभन्दा लामो समयदेखि नेपालले धेरै गठबन्धन सरकार देख्यो ।

यी सरकार मुख्यतः तीन पार्टीको प्रभुत्वमा थिए । जसमध्ये दुई पार्टी कम्युनिस्ट हुन्,’ बीबीसीले लेखेको छ, ‘नयाँ, ऊर्जावान जेन–जी पुस्ताले देशको भविष्यलाई आकार दिने विषय बाँकी जनतालाई आश्वस्त गराउन सक्छन् वा दशकौंदेखि राजनीतिको केन्द्रमा रहेका हेभिवेटहरूले नै शक्ति सिञ्चित गरिरहन्छन् । यसको परीक्षा निर्वाचनले गर्नेछ ।’

बेलायती सञ्चारमाध्यम गार्डियनले ‘पुरानाविरुद्ध शक्तिशाली युवा अभियानको लडाइँमा नेपालीहरूले मत खसाल्दै’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

‘यस निर्वाचनमा युवा उम्मेदवारहरूको लहर छ । उनीहरूले नेपालको कमजोर अर्थतन्त्रलाई सुधार गर्ने, दशकौंदेखि सत्तामा रहेका पुराना नेताहरूलाई चुनौती दिने र स्थायित्व तथा सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्,’ समाचारमा लेखिएको छ ।

रोयटर्सले ‘युवा नेतृत्वको प्रदर्शनपछि मतदाताले परिवर्तन खोज्दै’ शीर्षकमा समाचार लेखेको छ । कृषिप्रधान देश नेपालमा बेरोजगारी र भ्रष्टाचार मौलाएको यसमा उल्लेख छ ।

एमाले, कांग्रेस र नेकपा पछिल्ला ३ दशकमा नेपाली राजनीतिको केन्द्रमा रहेको र यसक्रममा ३५ वर्षमा ३२ पटक सरकार परिवर्तन भएको यसमा उल्लेख छ । ‘तर, यस पटकको चुनावमा प्रमुख दाबेदारका रूपमा तीन वर्षको इतिहास भएको रास्वपा छ र यसले र्‍यापरबाट राजनीतिज्ञ बनेका बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ,’ रोयटर्सको समाचारमा उल्लेख छ ।

ब्लुम्वर्गले पनि ‘नेपालका युवा र्‍यापर बालेन शाह पुराना नेतासँग लडाइँमा’ शीर्षकमा समाचार छापेको छ । जर्मन सञ्चारमाध्यम डिडब्लूले ‘साँचो राजनीतिक सुधारको आसमा जेन–जी’ शीर्षकमा समाचार छापेको छ ।

तर यस निर्वाचनमा जेन–जी पुस्ताका उम्मेदवारहरूको संख्या निकै कम रहेको तथ्य पनि यसले समावेश गरेको छ । ‘यस उमेर समूहका झन्डै ५ प्रतिशतमात्रै उम्मेदवार निर्वाचनमा छन्,’ समाचारमा लेखिएको छ, ‘विज्ञहरूले संरचनागत अवरोध, वरिष्ठलाई फाइदा पुग्ने राजनीतिक संस्कार र युवालाई नेतृत्व दिन अनुभवविहीन देख्ने दृष्टिकोणले यस्तो अवस्था सिर्जना गरेको औंल्याएका छन् ।’

विगत केही दिनदेखि नै अलजजिरा, फाइनान्सियल टाइम्स, सीबीसी न्युज, टाइम्स अफ इन्डियालगायत सञ्चारमाध्यमले निरन्तर नेपालका युवामाझ बालेन लोकप्रिय रहेको विश्लेषण गरेका छन् । नेपालमा मौन अवधि चलिरहँदा अमेरिकी सञ्चारमाध्यम सीएनएन, वर्ल्ड प्रेस जर्नललगायतले बालेन प्रधानमन्त्री पदको सशक्त दाबेदार भन्दै समाचार प्रकाशित गरेका थिए ।

‘केहीले यसलाई पुराना पार्टीहरू पाखा लाग्ने अवसरका रूपमा हेरेका छन् । जो युवा नेतृत्वको आन्दोलनको एउटा सम्भावित नतिजा हो । अर्कोथरीले वैध पार्टीलाई कमजोर बनाउने गरी विदेशी शक्तिले नै प्रदर्शन चलाएको तर्क गरिरहेका छन्,’ रुसी सरकारी सञ्चारमाध्यम आरटीमा प्रकाशित फिचरमा उल्लेख छ ।

द टेलिग्राफ यूकेमा ‘अधिनायकवादी पूर्वर्‍यापरको पक्षमा जेन–जी’ शीर्षकमा समाचार प्रकाशित भएको छ । काठमाडौंको मेयर बन्नासाथ बालेन्द्रले नदी किनारमा बस्ने गरिबहरूलाई त्यहाँबाट लेखेटेको समाचारमा उल्लेख छ । ‘यदि उनले महानगरका प्रहरीलाई यसरी दुरुपयोग गर्न सक्छन् भने नेपाल पुलिसलाई के गर्लान् ? अभिव्यक्ति स्वतन्त्रतामा खतरा हुन सक्छ,’ काठमाडौंमा कानुनशास्त्र पढिरहेका २५ वर्षका माजिद अन्सारीले द टेलिग्राफसँग भनेका छन् ।

द टेलिग्राफले राजनीतिक विश्लेषक तुलानारायण साहसँग पनि प्रतिक्रिया लिएको छ । ‘जेन–जीलाई बालेनले हाइज्याक गरिसकेका छन् । जेन–जी अभियान इतिहास बनिसक्यो । अब विभिन्न शक्तिकेन्द्रको खेल हुँदै छ,’ साहले भनेका छन् ।   (एजेन्सीको सहयोगमा)

कुन मिडिया के भन्छन् ?

सीएनएन : नेपालको प्रारम्भिक मतगणनामा पूर्वर्‍यापर बालेनको पार्टीको अग्रता

बीबीसी : बालेनले जिते भने निष्क्रिय बनेको नेपालको शासन प्रणालीमा कम्पन

रोयटर्स : युवा नेतृत्वको प्रदर्शनपछि परिवर्तन खोज्दै मतदाता

गार्डियन : युवा उम्मेदवारहरूको लहर, र्‍यापरबाट राजनीतिज्ञ बनेका 

बालेन शाह प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि

ब्लुम्वर्ग : नेपालका युवा र्‍यापर बालेन शाह पुराना नेतासँग लडाइँमा

द इकोनोमिक टाइम्स :  को हुन् बालेन शाह ? 

इन्डिया टुडे : मैथिलीभाषी बालेन नेपालको मधेशी पहिचान

द डेली स्टार : नेपालमा बालेनको ख्याति ‘रकस्टार’ जस्तै

कान्तिपुर

Link copied successfully