आशंकाको कुहिरीमण्डल चिर्दै सफल निर्वाचन

निर्वाचन आयोगका अनुसार बिहीबार निर्वाचनमा करिब ५८ प्रतिशत मत खसेको छ ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Successful elections, breaking through the fog of suspicion

काठमाडौँ — जेन–जी आन्दोलनपछि उत्पन्न अन्योलपूर्ण वातावरणबीच जिम्मेवारी लिएको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले बिहीबार प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएको छ । शान्तिपूर्ण रूपमा निर्वाचन सकिएसँगै २७ भदौमा प्रतिनिधिसभा विघटन गरिएपछिको ‘संवैधानिक शून्यता’ ले वैध निकास पाएको छ ।

२३ भदौको जेन–जी आन्दोलनको पृष्ठभूमिमा राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक प्रबन्धभन्दा बाहिर गएर पनि ‘बडो जुक्तिले’ खोजेको निकासस्वरूप कार्की नेतृत्वमा सरकार गठन भएको थियो । यो सरकारले ‘बारुदमाथि हिँडेर’ सफलता पाएको नागरिक अगुवा शिक्षाविद् केदारभक्त माथेमाले बताए । ‘माइनिङमा टेक्नेबित्तिकै विस्फोट हुन सक्थ्यो,’ उनले भने, ‘त्यसमा नटेकी यहाँसम्म ल्याउनु नै सफलता भयो । आन्दोलनकारी जेन–जी, पुराना दलहरू, राजावादीहरू सबैसँग समन्वय गरेर चुनाव गराउनु सानो कुरा थिएन ।’

कार्की नेतृत्वमा सरकार गठन गर्दा राष्ट्रपति पौडेलले ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेट दिएका थिए । सुरुमा लामै समय चुनाव हुन्छ वा हुन्न भन्ने अन्योल थियो । बीचमा सरकारै परिवर्तन गर्ने, संविधान नै संशोधन गर्नेसम्मका अनेक हल्ला चले । तर, अन्ततः चुनाव भयो । ‘चुनावै नहुने, संविधानै कहाँ जाला भन्ने अन्योल थियो, अब त्यो सकियो,’ माथेमाले भने ।

बिहीबार निर्वाचन सम्पन्न भएपछि कान्तिपुरसँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले सुरुमा आफूले जिम्मेवारी लिँदा सबै पक्षसँग कुराकानीसमेत गर्ने वातावरण नभएको स्मरण गरिन् । ‘बिस्तारै सबै पक्षलाई विश्वासमा लिँदै संवाद र सौहार्द बढाउँदै गयौं,’ उनले भनिन्, ‘सबै पक्ष एक ठाउँमा आउनुको विकल्प थिएन । त्यो परिस्थितिको उपयुक्त लोकतान्त्रिक निकासको माध्यम चुनाव नै हो भन्ने सबैलाई बोध भयो ।’

निर्वाचन आयोगका अनुसार बिहीबार निर्वाचनमा करिब ५८ प्रतिशत मत खसेको छ । निर्वाचनका दौरान एकै जनाले पनि ज्यान गुमाउनु परेन भने कुनै पनि निर्वाचन क्षेत्रमा पुनः मतदान गर्नुपर्ने अवस्था पनि आएन । गृहमन्त्री ओमप्रकाश अर्याल एक किसिमको राज्यविहीनताको अवस्थालाई सम्हाल्दै, द्वन्द्व न्यूनीकरण गरी निर्वाचन सम्पन्न गर्ने सफलता मिलेको बताउँछन् । ‘परस्परविरोधी शक्तिहरूलाई पनि सन्तुलनमा राख्दै स्थितिलाई सामान्यीकरण गर्दै ल्यायौं,’ उनले भने, ‘कानुनी राज्यको प्रत्याभूति भएपछि चुनावको वातावरण बन्दै गयो ।’

जेन–जी आन्दोलनका क्रममा भएको जनधनको क्षति र देशभर फैलिएको अराजकताका बीच यो सरकारले निर्वाचन सम्पन्न गरेको छ । जेन–जी विद्रोहका क्रममा ७७ जनाको ज्यान जानुका साथै मुलुकभर निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरिएको थियो । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल ‘जटिलताका बीच सबैलाई मिलाउँदै निर्वाचन सम्पन्न गर्ने सरकार र निर्वाचन आयोगका पदाधिकारी धन्यवादका पात्र’ भएको बताउँछन् । ‘मैले २०६४ को संविधानसभाको निर्वाचन हुँदाको परिस्थितिलाई झलझली सम्झिएँ,’ पहिलो संविधानसभा निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त रहेका पोखरेलले भने, ‘चुनाव हुन्छ वा हुन्न भन्ने उस्तै चुनौतीबीच अन्तिममा भएरै छाड्यो ।’

प्रधानमन्त्री कार्की प्रधानन्यायाधीश हुँदा सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा उनीसँग काम गरेका र वर्तमान मन्त्रिपरिषद्मा पनि कानुन तथा उद्योगमन्त्रीको जिम्मेवारी सम्हालेका अनिल सिन्हा सरकारले ‘असाध्यै ठूलो चुनौतीका बीचबाट यो अवसर फुत्काएको’ बताउँछन् । ‘बीचमा पटक–पटक कृत्रिम समस्या आए, झूटो खबर फैलाउने खानी नै तयार पारियो,’ उनले भने, ‘पछिल्लो समय चुनावै हुन नदिने ठूलो भीड जम्मा हुन थालेको थियो । त्यसबीचमा यो इतिहासले दिएको अवसर फुत्काउन सकियो ।’

जेन–जी आन्दोलनकी अगुवा रक्षा बमले शान्तिपूर्ण रूपमा निर्वाचन गराउन सफल भएकामा प्रधानमन्त्री कार्की, सरकारका मन्त्रीहरूदेखि राज्यका प्रत्येक संयन्त्र र मतदातालाई धन्यवाद दिइन् । ‘चुनाव हुन्छ कि हुँदैन भन्ने दुविधा थियो । तर उत्साह र शान्तिपूर्ण तरिकाले मतदान सकिएको छ । यसले हाम्रो समाजको चरित्र पनि झल्काउँछ । समाजले शान्ति र सहानुभूति चाहेको देखिन्छ । सुशासन खोजिरहेको देखिन्छ । जेन–जीहरू उत्साही छन्,’ उनले भनिन्, ‘अन्तरिम सरकारका लागि चुनाव न्यूनतम सर्त थियो । लोकतन्त्रमा जननिर्वाचित सरकारको खाँचो हुन्छ । जेन–जी आन्दोलनको ‘म्यान्डेट’ पनि यही थियो । त्यो पूरा भएको छ ।’

बमले निर्वाचन गराएर मुलुकको संकट पार लगाएको भन्दै सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत आभार व्यक्त गरेकी छन् । जेन–जी आन्दोलनपछिको संकटपूर्ण अवस्थाको स्मरण गर्दै उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘मलाई त्यो दिन (भाद्र २७ गते) अझै स्पष्ट याद छ । शपथग्रहण सकिएलगत्तै राष्ट्रपतिज्यूले प्रधानमन्त्री सुशीला कार्कीसँग हात मिलाउँदै भन्नुभएको थियो, ल, अब देशको भार तपाईंको काँधमा छ । तोकिएको समयमै चुनाव गराउनुहोला । शुभकामना,’ उनले राष्ट्रपति र प्रधानमन्त्रीको प्रशंसा गरेकी छन्, ‘राष्ट्रपतिज्यू, धन्यवाद । तपाईं हाम्रो लोकतन्त्रको आधारस्तम्भ हुनुहुन्छ ।

संकटका घडीमा संवैधानिक मर्यादा र दृढता कस्तो हुनुपर्छ भन्ने उदाहरण तपाईंले दिनुभयो । आदरणीय प्रधानमन्त्रीज्यू, धन्यवाद । देश जोगाउनुभएकामा, जिम्मेवारी स्विकारेर कठिन समयमा अगाडि बढ्नुभएकामा ।’

निर्वाचनले मुलुकलाई निकास दिने उनको विश्वास छ । ‘नतिजा जस्तो आए पनि समयमा निर्वाचन भयो । देशले जितेको छ । आशावादी छौं । निर्वाचित सरकारले आन्दोलनको माग र मर्मअनुसार काम गर्नेछ । हामीले भ्रष्टाचारमुक्त राज्य खोजेको हो । आम मुद्दाहरूको अब बन्ने जननिर्वाचित सरकारले सम्बोधन गर्छ । समाजका सबै संयन्त्र धन्यवादका पात्र हुनुहुन्छ,’ उनले भनिन् ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालले परिणाम जेसुकै आए पनि शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचनले मुलुकमा लोकतान्त्रिक प्रणालीलाई नै मजबुत बनाउने बताए । उनले सरकार गठनसँगै प्रतिनिधिसभा विघटन गरिएपछिको अवस्थामा कतिपयले सरकारको संवैधानिक हैसियतबारे उठाएको प्रश्न पनि अब निर्वाचनसँगै सकिएको बताए । ‘सर्वोच्च अदालतले समयमा फैसला दिन सकेन,’ उनले भने, ‘तर, अब यो वैधताको प्रश्न नयाँ सरकारका लागि रहेन ।’

पूर्वन्यायाधीश लालले पहिले चुनावै हुन्छ/हुन्न भन्नेमा र पछि शान्तिपूर्ण हुन्छ भन्नेमा खासै विश्वास नगरिएको अन्योलबीच चुनाव सम्पन्न हुनुलाई ‘धेरै ठूलो’ सफलता मानेका छन् । ‘यो सफलताका लागि प्रधानमन्त्री सुशीला कार्की र सरकारलाई धन्यवाद छ,’ उनले भने ।

नेपाल प्रहरीका पूर्वआईजीपी वसन्तबहादुर कुँवरले प्रशंसायोग्य निर्वाचन सम्पन्न भएको प्रतिक्रिया दिए । ‘तुलनात्मक रूपमा विगतको भन्दा राम्रो, भयरहित, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन भयो । सामूहिक प्रयासले सम्भव भएको हो,’ उनले भने, ‘सरकार, सरकार प्रमुख, निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल, जिम्मेवार भएर निर्वाचन सफल बनाउन एकीकृत रूपमा लागे । उनीहरू सबै प्रशंसायोग्य छन् ।’

सेना, प्रहरीसहित सबै सुरक्षा निकाय जिम्मेवारी बुझेर आत्मविश्वासका साथ निर्वाचन तयारीमा जुटेको उनले बताए । ‘चुनाव हुँदैन भन्ने हल्ला प्रायोजित मात्र थियो । सम्पूर्ण हिसाबले त्यसलाई चिर्न सफल भयो । स्वतन्त्र सरकार कसैप्रति पूर्वाग्रही रहेको देखिएन । सरकारको पूर्ण सहयोगमा सुरक्षा निकायले पनि निर्वाचनको मात्र तयारी गर्न पायो,’ कुँवरले भने ।

नागरिक अगुवा शिक्षाविद् माथेमा निर्वाचन सम्पन्न हुनुले मात्र ‘सबैथोक ठीक नपार्ने’ बताउँदै भन्छन्, ‘नयाँ सरकारले अराजकता अन्त्य गर्न, सुशासन कायम गर्न, शान्तिसुरक्षा दिन सबै पक्षसँग संवाद गर्नुपर्छ ।’ पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरले पनि बहुमतसहित नयाँ सरकार बनेमा ‘सबै राष्ट्रिय शक्तिसँग बसेर साझा धारणा बनाएर राष्ट्रलाई अगाडि बढाउनुपर्ने’ र गठबन्धनको सरकार बनेमा पनि ‘हिजोका विकृति पुनरावृत्त हुन नदिनुपर्ने’ बताउँछन् । ‘१०/१० वर्षमा आक्रोशको विस्फोट हुँदै आएको छ,’ उनले भने, ‘अब न १० वर्ष कुर्ने अवस्था छ, न त देशले बारम्बार चुनाव नै धान्न सक्छ ।’ गृहमन्त्री अर्याल पनि नयाँ सरकारको प्रथामिकता भ्रष्टाचार निवारण, अराजकता नियन्त्रण र सेवा प्रवाहमा हुनुपर्ने बताउँछन् ।

कान्तिपुर

Link copied successfully