इंग्ल्यान्डलाई पन्छाउँदै भारत फाइनलमा

भारत ट्वान्टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

India advances to final, beating England

काठमाडौँ — ज्याकोब बेथलको शतकलाई पन्छाउँदै भारतले इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

सञ्जु सामसनले अर्को आक्रमक इनिङ्स खेलेपछि घरेलु टोली भारतले लगातार दोस्रो पटक फाइनलमा पुग्ने क्रममा बिहीबार मुम्बईको वानखेडे रंगशालामा भएको दोस्रो सेमिफाइनलमा विजयको आधार तयार पारेको थियो । 

वेस्ट इन्डिजविरुद्धको अघिल्लो निर्णायक खेलमा अविजित ९७ रन बनाएका सामसनले ४२ बलमा ८९ रन बनाएपछि टस हारेर ब्याटिङमा भारतले २५३–७ को विशाल स्कोर बनाएको थियो । बेथलले ४८ बलमा १ सय रन बनाए पनि जवाफमा आएको इंग्ल्यान्डले ७ विकेट गुमाई २ सय ४६ रन मात्र बनाउन सकेको थियो । 

भारतले न्युजिल्यान्डसँग आइतबार अहमदाबादमा फाइनल खेल्ने छ । न्युजिल्यान्डले कोलकाताको इडेन गार्डेनमा बुधबार भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई सजिलै ९ विकेटले पराजित गरेको थियो । दुई वर्षअघि अमेरिका र वेस्ट इन्डिजमा भएको पछिल्लो संस्करण जितेको भारत उपाधि रक्षाको अभियानमा हुनेछ । 

सामसनले ८ चौका र ७ छक्का प्रहार गरे । भारत इंग्ल्यान्डका बलरमाथि हाबी हुँदै १९ छक्का र १८ चौका प्रहार गरेको थियो । जोफ्रा आर्चरको पहिलो ओभरमै १–१ चौका र छक्का प्रहार गर्दै सामसनले आफ्नो उद्देश्य प्रस्ट पारेका थिए ।

दोस्रो ओभर लिएर बलिङमा आएका विल ज्याक्सले अभिषेक शर्मालाई ९ रनमा मिडविकेटमा फिल सल्टबाट क्याच गराई इंग्ल्यान्डलाई पहिलो सफलता दिलाए । खेलको निर्णायक क्षण त्यति बेला बन्यो, जब आर्चरको बलमा कप्तान ह्यारी ब्रुकले सामसन १५ रनमा हुँदा सामान्य अवसर गुमाउन पुगे ।

इंग्ल्यान्डले यसको ठूलो मूल्य चुकाउन पुग्यो । सामसनले २६ बलमै अर्धशतक पूरा गरे । उनले लिएम डावसनलाई उनको पहिलो ओभरमा १९ रन प्रहार गरे । सामसन र ईशान सिनले दोस्रो विकेटमा ४८ बलमा ९७ रन जोडे ।

किसन आउट हुँदा भारतको १० औं ओभरमा ११७–२ को स्थिति रहेको थियो । आदिल रशिदको बलमा ज्याक्सबाट क्याच भएका किसनले १८ बल खेली ४ चौका र २ छक्का प्रहार गरी ३९ रन बनाए । 

विकेटमा जमिरहेको अवस्थामा ज्याकले सामसनलाई सल्टबाट क्याच गराउँदा भारतको १४ औं ओभरमा १६०–३ को स्कोर थियो । त्यसपछि ब्याट घुमाउने पालो शिवम दुबेको थियो । उनले २५ बलमा ४३ रन बनाउने क्रममा ४ छक्का र १ चौका प्रहार गरे । उनलाई ब्रुकले सिधा थ्रोमा रनआउट गरे । 

हार्दिक पाण्ड्याले १२ बलमा २७ र तिलक बर्माले ७ बलमा ३ छक्कासहित २१ रन बनाएपछि भारतले २ सय ५० रन पार गरेको थियो । ज्याक्सले ४० रन खर्चेर २ विकेट लिए । तर आर्चरले १ विकेट लिने क्रममा ४ ओभरमा ६१ रन खर्चन पुगेपछि इंग्ल्यान्डका सबैभन्दा महँगा बलर बने । 

सल्ट ५, ब्रुक ७ रनमा आउट भए पनि इंग्ल्यान्डले पनि दमदार सुरुवात गर्‍यो । बेथलले ८ चौका र ७ छक्का प्रहार गरे । ओपनर जस बटलरले १७ बल खेली ४ चौका र १ छक्का प्रहार गरी २५ रन बनाए । टम बान्टनले ५ बलमा १७, ज्याक्सले २० बलमा ३५ रन बनाए । ४ चौका र २ छक्का प्रहार गरेका ज्याक्सले बेथलसँग पाँचौं विकेटमा ३९ बलमा ७७ रनको साझेदारी गरे । 

साम करनले १४ बलमा २८ रन बनाए । इंग्ल्यान्डलाई अन्तिम ओभरमा विजयका लागि ३० रन आवश्यक भएको समयमा पहिलो बलमा २ रन लिने प्रयासमा बेथल रन आउट भए । अन्तिम ३ बलमा आर्चरले दुबेलाई छक्का प्रहार गरे पनि इंग्ल्यान्ड विजयको नजिक मात्र पुग्न सक्यो । 

कान्तिपुर

Link copied successfully