देशभर शान्तिपूर्णरुपमा रुपमा मतदान भइरहेको छ : प्रहरी

केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार केही स्थानमा सामान्य भनाभन र विवादबाहेक अन्य समस्या देखिएका छैनन् ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Voting is taking place peacefully across the country: Police

काठमाडौँ —  

नेपाल प्रहरीले देशभरि शान्तिपूर्णरुपमा मतदान भइरहेको जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार, केही स्थानमा सामान्य भनाभन र विवादबाहेक अन्य समस्या देखिएका छैनन् ।

'निर्वाचनमा अलिअलि ठेलाठेल त हुने नै भयो, गम्भीर प्रकृतिका समस्या देखिएका छैनन्,' उनले कान्तिपुरसँग भने, 'दिनभर शान्तिपूर्णरुपमा निर्वाचन गराउने प्रयासमा छौं ।'

सर्लाही क्षेत्र नं. ४ मा सामान्य विवाद भएको थियो, यद्यपि केहीबेरमै मतदान सुचारु भयो । उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको गोली आकस्मिक रूपमा पड्किएको थियो । त्यसक्रममा कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा तीन मत खसेको मतपेटिकामा सामान्य क्षति पुगेको थियो ।

मतपेटिका परिवर्तन गरेर फेरि मतदान सुरु भइसकेको छ । बिहीबार बिहान खटिएका प्रहरीले बोकेको बन्दुक असावधानीवस पड्किएको हो । बन्दुक पड्किँदा मतदान केन्द्रमा रहेको मतपेटिकामा सामान्य क्षति पुगेको छ । दोलखा र सिन्धुपाल्चोकमा समेत सामान्य विवाद भएको थियो । तर, काहीँ मतदान अबरुद्ध भएको छैन ।

सरकारले निर्वाचन विथोल्न खोज्ने समूहलाई पहिचान गरेर पहिल्यै कतिपयलाई नियन्त्रणमा लिएको थियो भने केहीसँग वार्तासमेत गरेको थियो ।

निर्वाचन आयोगले देशभर ११ हजार ९ सय १ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकेको छ । तीमध्ये ४ हजार १ सय १४ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । संवेदनशीलताका आधारमा सुरक्षाकर्मीलाई खटाइएको छ । मन्त्रालयका अनुसार, देशभर ४ हजार ४ सय ४२ मतदानस्थल संवेदनशील र २ हजार ८ सय ४५ सामान्य सुरक्षा चुनौतीको सूचीमा छन् ।

काठमाडौं उपत्यकामा २ सय ७८ मतदानस्थल सामान्य, २ सय ३७ मतदानस्थल संवेदनशील र १२ मतदानस्थल अति संवेदनशील सूचीमा छन् । कोशीमा ६ सय ४७ मतदानस्थल सामान्य, २ सय ३७ संवेदनशील र १२ अति संवेदनशील सूचीमा समेटिएका छन् ।

मधेशमा १ सय ५९ सामान्य, ७ सय ५५ संवेदनशील र १ हजार २ सय ४६ अति संवेदनशील सूचीमा राखिएका छन् । बागमती (उपत्यकाबाहेक) मा ४ सय ३७ सामान्य, ४ सय ९७ संवेदनशील र १ हजार २ सय ८८ अति संवेदनशील सूचीमा राखिएका छन् ।

गण्डकीमा ३ सय ९२ सामान्य, ५ सय ७७ संवेदनशील र ३ सय २८ अति संवेदनशील, लुम्बिनीमा ४ सय ७१ सामान्य, ७ सय ३८ संवेदनशील र ३ सय ५८ अति संवेदनशील छन् ।

कर्णालीमा १ सय ६१ सामान्य, ४ सय २२ संवेदनशील र ३ सय ५८ अति संवेदनशील तथा सुदूरपश्चिममा ३ सय सामान्य, ३ सय ९४ संवेदनशील र ४ सय ८१ मतदानस्थल अति संवेदनशील सूचीमा छन् ।

कान्तिपुर

Link copied successfully