दाङ–३ को तल्लो मलैखोलामा मतदाताको विद्रोह, विकास नगरेको बदला मतदान 'बहिष्कार'

बबई गाउँपालिका–७ स्थिती देउती मावि तल्लो मलैखोलामा एक जना पनि मतदान गर्न नआएको मतदान अधिकृत टेकबहादुर खड्काले बताए ।

फाल्गुन २१, २०८२

दुर्गालाल केसी

Voters revolt in Lower Malaikhola, Dang-3, boycott voting in retaliation for lack of development

दाङ — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ–३ को एक मतदान केन्द्रमा एक मत पनि खस्न सकेन । बबई गाउँपालिका–७ स्थिती देउती मावि तल्लो मलैखोलामा एक जना पनि मतदान गर्न नआएको मतदान अधिकृत टेकबहादुर खड्काले बताए ।

उक्त केन्द्रमा २ सय ७४ पुरुष र २ सय ५६ महिला गरी ५ सय ३० मतदाता रहेकोमा कोही पनि मतदानमा सहभागी नभएको उनले जानकारी दिए । ‘दिनभर कुरेर बस्दा पनि कोही आएनन् । सबै गाउँलेहरु एकजुट भएर मत नहाल्ने निर्णय गरेको देखियो,’ खड्काले भने,‘नेताहरुप्रति असन्तुष्टि व्यक्त गर्न मतदानमा सहभागी नहुने निर्णय भएको रहेछ ।’

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त क्षेत्रका बासिन्दाले यसअघि नै मतदान नगर्ने घोषणा गरेका थिए । नेताहरु गाउँ नआएको, जति भोट हाल्दा पनि विकासका पूर्वाधार केही नभएको र बाँके राष्ट्रिय निकुञ्ज राखेर गाउँलाई असुरक्षित बनाएको भन्दै उनीहरुले मतदान बहिस्कार गर्ने घोषणा गरेका थिए । सोही अडान कायम राख्दै उनीहरु मतदानमा सहभागी नभएका हुन् ।

यसैगरी बबई–१ स्थित जनता आधारभूत विद्यालय जिला मतदान केन्द्रमा पनि आधा दिनसम्म कोही मतदाता आएनन् । दिउँसोपख १० जना मात्रै मतदाता आए । उनीहरुले पनि नेताहरुलाई पाठ सिकाउन मत नदिएको बताएका छन् । बिहानैदेखि मतदानका लागि तयारी अवस्थामा रहे पनि अन्तमा १० मतदाता मात्रै मतदान गर्न आएको मतदान अधिकृत चिरन्जीवी खड्काले बताए ।

सर्वदलीय बैठकमा पनि कोही नआएको र निर्वाचन बहिस्कार गर्ने जानकारी दिएको उनले बताए । नेताहरुले बेवास्ता गरेको, जनताका आवाज नसुनेको र विकासका लागि पहल नगरेको भन्दै उनीहरुले बहिस्कार घोषणा गरेको खड्काले जानकारी दिए । जिल्लामा २ सय ९४ पुरुष र ३ सय ८८ महिला गरी ६ सय ८२ मतदाता थिए ।

जतिपटक भोट हाल्दा पनि केही परिवर्तन नभएपछि मत नहाल्ने निष्कर्षमा पुगेको संघर्ष समितिका अध्यक्ष चन्द्रबहादुर राहु मगरले बताए । ‘हामीले मध्यवर्ती क्षेत्रबाट बस्ती स्थानान्तरण गर्न माग राख्दै आयौं, नभए गाउँमा विकास माग्यौं,’ उनले भने,‘हाम्रो कुरा केही पनि सुनुवाई भएन । भोट हालेर केही कुरा सुनिदैन भने किन हाल्ने ? यो हाम्रो विद्रोह हो ।’ यसबाट नेताहरुले जनताको भावना बुझ्नुपर्छ भन्ने पाठ सिक्नुपर्ने उनले बताए ।

२०७९ को निर्वाचनमा दाङ–३ बाट कांग्रेसका दिपक गिरी निर्वाचित भएका थिए । यसपटक पनि गिरी उम्मेदवार छन् । एमालेबाट घनश्याम पाण्डे, नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर मास्की र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी प्रतिस्पर्धामा छन् । यस क्षेत्रबाट २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यमा मास्की निर्वाचित भएका थिए । उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर अहिले उम्मेदवार भएका छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully