रूपन्देहीमा पुरुषभन्दा बढी महिला मतदाताले गरे मतदान

बिहीबार सम्पन्न निर्वाचनमा २ लाख ३२ हजार १ सय १७ महिला, २ लाख १० हजार ८ सय ४३ पुरुष र अन्य तीन मतदाताले मतदान गरेका हुन् ।

फाल्गुन २१, २०८२

माधव ढुंगाना

More women than men voted in Rupandehi

भैरहवा — प्रतिनिधिसभा सदस्यका लागि बिहीबार भएको निर्वाचनमा रूपन्देहीमा ४ लाख ४२ हजार ९ सय ६३ मतदाताले मतदान गरेका छन् । प्रारम्भिक विवरण अनुसार रूपन्देहीमा ६५ दशमलव ८३ प्रतिशत मतदान भएको छ । 

जिल्ला निर्वाचन कार्यालय रूपन्देहीकी प्रमुख कल्पना अर्यालका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा कुल मतदाता संख्या ६ लाख ७२ हजार ५ सय २३ मध्ये ४ लाख ४२ हजार ९ सय ६३ मतदाताले मतदान गरेको प्रारम्भिक विवरण प्राप्त भएको छ । 

‘प्रारम्भिक विवरण अनुसार रूपन्देहीमा पुरुष भन्दा बढी महिला मतदाताले मतदान गरेका छन्,’ उनले भनिन् । उनका अनुसार बिहीबार मतदान गरेका मतदातामध्ये २ लाख ३२ हजार १ सय १७ महिला, २ लाख १० हजार ८ सय ४३ पुरुष र अन्य तीन मतदाताले मतदान गरेका हुन् ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully