उनले भनेका छन्- 'यी दिन मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन् ।'
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेपछि जीवनका दुई संयोग सम्झिएका छन् । भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'आज सुखानी सहिद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन् ।'
झापा आन्दोलनको स्मरण गर्दै उनले १४ वर्षको कठोर काराबासका दिन पनि सम्झिएका छन् । 'झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो । जेल सार्ने बहानामा हत्या गरिनलाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर काराबास बिताएको थिएँ,' उनले लेखेका छन्, 'फागुन २१ कहिल्यै नबिर्सने दिन हो ।'
