निर्वाचनमा उत्साहजनक सहभागिता देखियो : राष्ट्रिय सभा अध्यक्ष दाहाल

'यो निर्वाचनले मुलुकलाई नयाँ निकास दिन्छ भन्ने विश्वास छ ।'

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Enthusiastic participation seen in elections: National Assembly Speaker Dahal

काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको बताएका छन् । चितवन ३ भरतपुरबाट मतदान गरेपछि दाहालले उक्त प्रतिक्रिया दिएका हुन् ।

विगतका भन्दा यसपटकको निर्वाचन भिन्न पाएको राष्ट्रिय सभा अध्यक्ष दाहालको भनाइ थियो । 'यो निर्वाचनको महत्त्व भिन्न छ । निर्वाचनको मिति तोकिएर यहाँसम्म आइपुग्दा छुट्टै परिवेशको भएर यसको महत्त्व छुट्टै भएको हो,' दाहालले भने, 'मैले विभिन्न ठाउँमा हेर्दै आएँ । मलाई भरपुरबाट आउँदा जनताको उत्साहजनक सहभागिता देखियो । मतदान सुरु भएको छ, मतदाताको सहभागिता राम्रो छ भन्ने लागेको छ । यो निर्वाचनले मुलुकलाई नयाँ निकास दिन्छ भन्ने विश्वास छ ।'

अध्यक्ष दाहालले जनताले अपेक्षा गरेअनुसार मुलुकमा परिवर्तनको आशा रहेको बताए । जेन-जी आन्दोलनपछि जनताले गरेका अपेक्षा निर्वाचन पछिको सरकारले पूरा गर्ने उनको भनाइ थियो । आगामी सरकारले आन्दोलनमा उठेका माग सम्बोधन गर्नेतिर ध्यान दिनुपर्ने उनले बताए । 'जनताको भावना र चाहनाअनुरुप ऐन, कानुन निर्माण गर्ने, विधेयक निर्माण गर्ने कुरा र देशलाई सुशासनयुक्त र भ्रष्टाचार मुक्त बनाउने दिशातिर लैजान म पनि मेरो आफ्नो ठाउँबाट गम्भीर रुपले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु,' दाहालले भने ।  

कान्तिपुर

Link copied successfully