जोखिमयुक्त क्षेत्रबाट नेपाली श्रमिक स्थानान्तरण

इरानमा रहेका दुई नेपाली अजरबैजान हुँदै दुबई आइपुगे, खाडी मुलुकका सबै क्षेत्रमा नेपाली श्रमिक सुरक्षित अवस्थामा रहेको परराष्ट्र मन्त्रालयको भनाइ।

फाल्गुन २०, २०८२

होम कार्की

Relocation of Nepali workers from risky areas

What you should know

काठमाडौँ — खाडी मुलुकस्थित अमेरिकी सैन्य क्याम्प र जोखिमयुक्त क्षेत्रमा रहेका नेपाली श्रमिकलाई रोजगारदाताले सुरक्षित स्थानमा सारेका छन् । इरानले निसाना बनाउन सक्ने स्थानमा रहेका श्रमिकलाई सुरक्षित ठाउँमा सारिएको हो । 

अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि इरानले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य क्याम्पलाई निसाना बनाइरहेको छ । सबैभन्दा पहिला बहराइनस्थित अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरिएको थियो । ‘हामीलाई आक्रमण गर्नु दुई दिनअघि नै अरू स्थानमा लगेर राखिएको थियो । अहिले हामी सुरक्षित छौं,’ बहराइनको अमेरिकी सैन्य क्याम्पमा कार्यरत एक नेपालीले भने, ‘हामी परिवारसँग नियमित सम्पर्कमा छौं ।’ बहराइनले अमेरिकी क्याम्प आसपासबाट सबैलाई स्थानान्तरण गरिसकेको छ । बहराइनमा भएको आक्रमणमा एक एसियाली श्रमिकको मृत्यु भएको थियो । कतार, कुवेत, साउदी अरब, ओमान, जोर्डन र इराकस्थित अमेरिकी सैन्य क्याम्पमा कार्यरत नेपाली श्रमिक पनि स्थानान्तरण भएका छन् । 

इराकको कुर्दिस्तानस्थित अर्बिल विमानस्थलमा रहेका एक सय ५० नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । खाडी क्षेत्र हेर्ने परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार उनीहरूलाई होटलमा राखिएको छ । इरानले अर्बिल विमानस्थलस्थित अमेरिकी बेस क्याम्पमा पनि आक्रमण गरेको थियो । 

कतारको अमेरिकी सैन्य क्याम्पबाट पनि नेपालीलाई हटाइएको छ । खाडी क्षेत्रको सबैभन्दा ठूलो उक्त क्याम्पमा झन्डै पाँच सय नेपाली काम गर्थे । ‘विभिन्न कम्पनीले त्यहाँको क्याम्पमा काम गर्न श्रमिक पठाउँछन् । ती श्रमिकले मर्मतसम्भार र सरसफाइको काम गर्छन्,’ एक नेपालीले भने, ‘हाम्रो कम्पनीबाट जति जना लगिएको थियो, सबै अहिले कम्पनीकै क्याम्पमा छौं । अहिले क्याम्पभित्र गैरसैनिक जान बन्द गरिएको छ ।’

संवेदनशील क्षेत्र मानिएको कतारको हमाद विमानस्थल बन्द गरिएको छ । त्यहाँ कार्यरत १५ सय नेपालीलाई सुरक्षित ठाउँमा सारिएको छ । हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट’ बनाएका ८ हजार यात्रुलाई पनि सुरक्षित ठाउँमा लगिएको कतारले जनाएको छ । 

कतारको विदेश मन्त्रालयका प्रवक्ता मजिद मोहम्मद अल अन्सारीले हमाद विमानस्थलाई लक्ष्य गरी भएको आक्रमणलाई विफल बनाइएको बताए । कतारको रक्षा मन्त्रालयले कतारको आकाशमा पहिचान भएका क्रुज मिसाइल, ब्यालिस्टिक मिसाइल, ड्रोन र फाइटरलाई निस्तेज बनाएको जनाएको छ । तीन वटा ब्यालिस्टिक मिसाइल र १५ वटा ड्रोन भने कतारमा झरेका थिए । कतारका बाहिरी क्षेत्रका अधिकांश परियोजनामा काम रोकिएको छ । भवनभित्र भने काम भइरहेको छ । ‘हामी भित्र काम गरिरहेका छौं । बाहिर भने रोकिएको छ,’ कतारमा कार्यरत भीम तरामु मगरले भने ।

यूएई स्थितिलाई सामान्यीकरण बनाउने प्रयासमा छ । मंगलबार आयोजित यूएई सरकारको ‘मिडिया ब्रिफिङ’ मा राष्ट्रिय संकट तथा आपत्कालीन व्यवस्थापन प्राधिकरणले विद्युत्, पानी, दूरसञ्चार, यातायात, स्वास्थ्य सेवा तथा वस्तु आपूर्तिलगायतका अत्यावश्यक सेवा अवरोधबिना सञ्चालन भइरहेको जनाएको छ । यूएईमा कार्यरत जुना ओझाका अनुसार प्रमुख मलहरू सुनसान छन् । यूएईको रक्षा मन्त्रालयका अनुसार वायु प्रतिरक्षा प्रणालीले मंगलबार इरानबाट आएका ११ वटा ब्यालिस्टिक मिसाइल र १ सय २३ वटा ड्रोन निस्तेज पारेको थियो । एउटा मिसाइल यूएईको जमिनमा खसेको भए पनि कुनै मानवीय क्षति नभएको रक्षा मन्त्रालयले जनाएको छ ।

इरानले शनिबारयता यूएईमा १ सय ८६ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरिसकेको छ । तीमध्ये १ सय ७२ वटा नष्ट गरिएको, १३ वटा समुद्रमा र एउटा जमिनमा खसेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । आबुधाबी विमानस्थलमा ड्रोन खस्दा नेपाली श्रमिक दिवस श्रेष्ठको मृत्यु भएको थियो ।

खाडी मुलुकका सबै क्षेत्रमा नेपाली श्रमिक सामान्य र सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘खाडी क्षेत्र हेर्ने १० वटा नियोगबाट हामीले नेपाली सुरक्षित रहेको विवरण प्राप्त गरेका छौं,’ परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘नेपाली दूतावासबाट सरकारी निकाय, नेपाली समुदायसँग नजिकको सम्पर्क र समन्वय भइरहेको छ ।’ परराष्ट्र सचिवको नेतृत्वमा ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन भइसकेको पनि पौडेलले जानकारी दिए । ‘यसबाट नेपालीको सुरक्षा र उद्धारका लागि प्रभावकारी रूपमा काम गर्न सकिने विश्वास छ,’ उनले भने । 

परराष्ट्र मन्त्रालयका अनुसार आपत्कालीन सहयोगका लागि कुनै दूतावासमा पनि फोन आएको छैन । खाडी मुलुकका सरकारले स्वदेशी र विदेशी नागरिकको सुरक्षालाई उच्च महत्त्व दिइरहेको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया क्षेत्र हेर्ने महाशाखा प्रमुख खड्काले बताए । ‘ट्रान्जिटमा परेका नेपालीका लागि सम्बन्धित एयरलाइन्सबाट होटल र खानाको व्यवस्था भइरहेको छ,’ उनले भने ।

खड्काका अनुसार एयर अरेबियाका २८ र फ्लाई दुबईका ८० नेपाली यात्रु यूएईको ‘ट्रान्जिट’ मा थिए । कुवेतमा रहेका ९० नेपाली यात्रुलाई पनि सम्बन्धित एयरलाइन्सले राखेको छ । साउदी अरबमा हज र उमराहका लागि गएका ३५ जनाका लागि आवास र खानाको प्रबन्ध मिलाउने पहल भइरहेको छ । 

इरानमा कार्यरत दुई नेपाली अजरबैजान हुँदै मंगलबार दुबई आइपुगेका छन् । अर्घाखाँचीका विष्णुप्रसाद भुसाल र राजु खनाल दुबई आइपुगेका हुन् । ‘हामी इरानबाट शनिबार बिहान गाडी चढेका थियौं । आइतबार साँझ अजरबैजान पुग्यौं,’ भुसालले कान्तिपुरसँग भने, ‘त्यहाँ दुई दिन बसेपछि मंगलबार दुबई आइपुगेका छौं ।’ उनीहरूलाई अजरबैजानको दूतावासले जहाज टिकट ‘बुक’ गरेर दुबई ल्याएको हो । ‘दुबईबाट उडान चलेपछि नेपाल आउँछौं,’ उनले भने, ‘अहिले हामी सुरक्षित छौं ।’ ६ नेपाली भने इरानमै छन् । परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा युद्धको जोखिममा परेका नेपाली श्रमिकको विवरण लिन थालेको छ । पराराष्ट्रले कन्सुलर विभागमार्फत यूएई, साउदी अरब, कतार, कुवेत, ओमान, इजरायल, लेबनान, जोर्डन र इराकमा कार्यरत नेपालीको विवरण संकलन सुरु गरेको हो । विवरण संकलनका लागि तयार गरिएको वेबसाइट नेपाली दूतावासले सार्वजनिक गरेको छ । विवरण संकलनपछि दूतावासले उद्धार आवश्यक पर्ने र नपर्नेको पहिचान गर्नेछ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully