हिउँ छिचोलेर फर्कँदै मतदाता, कर्मचारी र निर्वाचन सामग्री हेलिकोप्टरमा

तीन वटा गाउँ रहेको लिमीमा कर्मचारी र सामग्री पठाउन हेलिकोप्टरले तीन वटा उडान गरेको थियो ।

फाल्गुन १९, २०८२

कृष्णप्रसाद गौतम

Voters, staff, and election materials return by helicopter after shoveling snow

What you should know

सुर्खेत — गत कात्तिक दोस्रो साता हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका बासिन्दाले हिमपात हुनुअघि नै गाउँ छोडे । सदरमुकाम सिमकोटबाट लिमी आउजाउ गर्ने न्यालु लेकमा चैत अन्तिम सातासम्म बाक्लो हिउँ जम्छ । उक्त हिउँ बिलाएपछि मात्रै स्थानीय वर्सेनि वैसाखमा मात्र घर फर्किन्थे ।

यसपाली बिहीबार हुने निर्वाचनमा मतदान गर्नका लागि लिमीका झण्डै एक सय जना स्थानीय झण्डै ५ हजार मिटर उचाइको लेकको हिउँ छिचोल्दै गाउँ फर्किएका छन् । ‘पास (लेक) मा झण्डै तीन फिट हिउँ जमेको थियो, सिमकोटबाट डोजर लिएर चार दिनमा हटाएपछि बल्ल आधा बाटो खुल्यो,’ नाम्खा–५ का वडाध्यक्ष पाल्जोर तामाङले भने, ‘मतदानका लागि एक सय जनाजति स्थानीय फर्किसकेका छन्, अरु पनि फर्किने क्रममा छन्।’

उनका अनुसार झण्डै १ सय स्थानीय सदरमुकाममा आइसकेका छन् । उनीहरु पनि गाउँ फर्किने तयारीमा छन्। हिमपातका कारण कात्तिकमै सिमकोट हिल्सा सडक बन्द भएको थियो । हिउँ र बाक्लो तुसारो जमेका कारण अहिले पनि उक्त सडक पूर्णरुपमा खुलेको छैन । ‘सिमकोटबाट झण्डै १० किलोमिटर सेलीमादहसम्म गाडी खुलेको छ, त्यहाँबाट तलुङखोलासम्म करिब ६ घण्टा हिँड्नुपर्छ,’ उनले भने, ‘तलुङखोलादेखि लिमीसम्मको बाटोमा भने फेरि गाडीबाटै पुगिन्छ ।’

उनका अनुसार मंगलबारदेखि गाउँ फर्किने मतदाता त्यसरी नै लिमी फर्किनेछन् । लिमीका तीनवटा मतदान केन्द्रमा ५ जनाका दरले कर्मचारी र १३ जनाका दरले सुरक्षाकर्मी हेलिकोप्टरबाट पठाइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । उनका अनुसार टोलीसँगै निर्वाचन सामग्री पनि पठाइएको थियो । त्यसअघि ६ जना प्रहरीको टोली हिँडेर लिमी पुगेको उनले जानकारी दिए । ‘मतदाता पनि फर्किरहेका छन्, शान्तिसुरक्षाको अवस्था पनि नर्मल छ,’ उनले भने, ‘मतदाताको गाउँ फर्किने उत्साह हेर्दा यसअघिका निर्वाचनभन्दा बढी मत खस्ने देखियो ।’ गत निर्वाचनमा लिमीमा ५३ प्रतिशत मतदान भएको थियो । 

तीन वटा गाउँ रहेको लिमीमा कर्मचारी र सामग्री पठाउन हेलिकोप्टरले तीन वटा उडान गरेको थियो । लिमीमा हिमशिखर आधारभूत विद्यालय तिल, सुनखानी आधारभूत विद्यालय हल्जी र भृकुटी आधारभूत विद्यालय जाङमा गरी लिमीका तीन मतदान केन्द्रमा ६ सय ७२ मतदाता छन् । त्यसमध्ये गाउँमा झण्डै ८० जना मतदाता थिए ।

नाम्खा गाउँपालिका–४ स्थित हिमालय आधारभूत विद्यालय चाला मतदान केन्द्रमा खटिएका कर्मचारीलाई पनि सेनाको हेलिकोप्टरमार्फत पठाइएको थियो । उक्त मतदान केन्द्रमा ५ जना कर्मचारी र १३ जना सुरक्षाकर्मी खटिएका छन् । 

अत्यधिक हिमपात हुने मुगुको मुगमकार्मारोङ गाउँपालिकाका ५ वटा मतदान केन्द्रमा भने पैदल मार्गबाटै निर्वाचन सामग्री र कर्मचारी पठाइएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले हेलिकोप्टर माग गरिए पनि उपलव्ध नभएपछि पैदल मार्गबाटै पुलु, चित्तैकुना, डोल्फु, किम्री र खारी मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पठाइएको बताए । ‘त्यहाँका झण्डै आधा स्थानीय चिसो छल्न बाहिर जानुभएको थियो, उहाँहरु मतदानका लागि फर्किने क्रम जारी छ,’ उनले भने, ‘गाउँ जाने बाटोहरुमा केही ठाउँमा हिउँ जमे पनि हिउँ छिचोल्दै मतदाता फर्किरहेका छन् ।’ उनका अनुसार सोमबार साँझसम्म मुगुका सबै ७९ वटै मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन् । 

मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले गाउँ छोडेका झण्डै एक सय मतदाता गाउँ फर्किसकेको जानकारी दिए । उनका अनुसार सदरमुकाम गमगढीमा रहेका अरु मतदाता पनि गाउँ फर्किरहेका छन् । उनका अनुसार ५ गाउँका झण्डै ४ सय मतदाता बाहिर रहेको अनुमान छ । 

उपल्लो डोल्पाको डोल्पोबुद्व र छार्काताङ्सोङ् गाउँपालिकाका १२ वटा मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी हेलिकोप्टरबाट पठाइएको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताइन् । ‘प्रतिकूल मौसम र तीव्र गतिको हावाका कारण सबै कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पुर्‍याउन हेलिकोप्टरलाई नै ३ दिन लाग्यो,’ उनले भनिन्,‘शेफोक्सुण्डोको कराङ, साल्दाङ र धुङ्दारमा मंगलबार बिहान हेलिकोप्टरमार्फत सामग्री र कर्मचारी पठाइनेछ ।’ 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully