मत खसाल्न आउन माइकिङ
दोलखा — निर्वाचनलाई शान्तिपूर्ण रूपमा गराउन र मतदातालाई मताधिकार प्रयोग गर्न जिल्लामा सुरक्षा अवस्था निकै कडा बनाइएको छ । मतदानको दिन हुन सक्ने सम्भावित हिंसात्मक झडप र बुथ कब्जा रोक्न जिल्लाभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचन सामग्रीसहित मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगिसकेका छन् । सुरक्षा निकायका तीनैवटा संयन्त्रले शान्तिपूर्ण रूपमा निर्वाचन गराउन दुई साताअघिबाट अति संवेदनशील मानिएका मतदानस्थलहरूमा संयुक्त गस्ती गर्नुका साथै सूक्ष्म निगरानी गरिरहेको जिल्ला सुरक्षा समितिले बताएको छ ।
निर्वाचनकै दिन सधैं असान्त रहने दोलखा २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा शान्त हुन्छ कि हुँदैन भन्ने कौतुहलता आम मतदातामा छ । निर्वाचनलाई शान्तिपूर्ण रूपमा गर्न पहिलो पटक वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरको नेतृत्वमा जनपद प्रहरी परिचालन हुनेछन् । यस्तै नेपाली सेना र सशस्त्र प्रहरीका वरिष्ठ अधिकारीहरू पनि निर्वाचनको सुरक्षा कमान्ड सम्हाल्न जिल्ला आइपुगेको सुरक्षा समितिले बताएको छ ।
जिल्लाका ९५ मतदानस्थललाई सुरक्षा समितिले अति संवेदनशील सूचीमा राखेको छ । २८ मतदानस्थल संवेदनशील र १५ मतदानस्थल सामान्य सूचीमा राखिएको छ । हरेक निर्वाचनमा गोली चल्नु र बुथ कब्जा हुनु सामान्यजस्तै छ । २०४८ साल यता भएका सबै निर्वाचनमा सधैं हिंसात्मक झडप र बुथ कब्जा भएका छन् । निर्वाचनका दिन गोली चल्नु र मतदाताको मत कब्जा गरेर मतदानस्थल हिंसात्मक हुने गर्दा आम मतदाताले असुरक्षित महसुस गर्दै मत खसाल्न नपाएको गुनासो गर्दै आएका थिए ।
फागुन २१ गतेको निर्वाचनमा यस्ता गतिविधि पूर्ण रूपमा निस्तेज गरिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । उनका अनुसार त्यस्ता स्थानहरूको पहिचान गरेर दुई साताअघि नै नेपाली सेना, जनपद र सशस्त्र प्रहरीको छुट्टाछुट्टै बेस राखिएको छ । ती क्षेत्रमा मतदातालाई मत खसाल्ने वातावरण बनाउन सुरक्षाकर्मीले माइकिङ गरेर मत खसाल्न आउन आग्रह गरिरहेको उनले बताए ।
‘सुरक्षाकर्मीले माइकिङ गरेर मत खसाल्न आउने वातावरण तयार पारेका छन्, विगतमा जस्तो घटना हुन नदिने गरी सुरक्षाकर्मी परिचालन भएका छन्,’ उनले भने, ‘मतदाताको सुरक्षासहित मतदानस्थल र मतपेटिकाको सुरक्षा गर्ने विगतभन्दा फरक रणनीति बनाइएको छ ।’
अति संवेदनशील मानिएका मतदानस्थलमा विगतमा मत खसाल्न नपाएको अनुगमनका क्रममा भेटिएका मतदाताले गुनासो गरेकोले यो पटक ढुक्क भएर मतदान गर्ने वातावरण तयार गरेको उनले बताए । कतिपय मतदानस्थलमा मतदाताले वर्षौंदेखि मतदान गर्न नपाएको बताउने गरेका छन् । निर्वाचनका दिन हिंसात्मक झडप र बुथ कब्जा भएको तथ्य फेला परेपछि पहिलो पटक गृहमन्त्री आमेप्रकाश अर्यालसहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त निरीक्षणका क्रममा जिल्लाको वैत्यश्वर गाउँपालिका–२ को मतदानस्थलमा आएका थिए । गृहमन्त्री अर्यालले तीनै सुरक्षा निकायका सुरक्षा रणनीतिको अवस्था बुझेर फर्केका थिए । त्यसलगत्तै नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरलाई दोलखा पठाइएको थियो ।
विद्यालय र वडा कार्यालयमा भएका अधिकांश मतदानस्थलको बाहिरी घेरामा सीसी क्यामेरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । ‘अति संवेदनशील मानिएका मतदानस्थलमा सम्भव भएसम्म सीसी क्यामेरा बाहिरी घेरामा जडान भएका छन्,’ उनले भने, ‘कतिपय मतदानस्थलमा सम्भावना देखिएन, त्यस्ता मतदानस्थलमा सुरक्षाकर्मीले सूक्ष्म निगरानी गर्नेछन् ।’ कुनै पनि हालतमा फर्जी मत खसाल्न र बुथ कब्जा हुन नदिने गरी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।
निर्वाचनको समय नजिकिँदै जाँदा मतदाताले शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागी हुन पाउने कि नपाउने भन्ने प्रश्न यो निर्वाचनबाट सकिने उनले दाबी गरे । अति संवेदनशील मानिएका मतदानस्थलका मतदातालाई ढुक्क भएर मतदान गर्न घरघरमै पुगेर मौखिक परामर्श गरिएको प्रहरी नायब उपरीक्षक मनोज कुमार लामाले बताए ।
‘विगतका निर्वाचनमा मत खसाल्न नपाएको गुनासो गरेका मतदातालाई सुरक्षाको प्रत्याभूति दिन मौखिक रूपमा कतिपय अवस्थामा घरघर पुगेर परामर्शसमेत दिएका छौं,’ उनले भने, ‘मतदातामा उत्साह बढेको छ, सुरक्षित हुने वातावरण बनेको भन्दै मत खसाल्न आउने बताउने गरेका छन् ।’
जिल्ला भित्रिने सवारीसाधनसहित चेकजाँच निरन्तर गरिरहेको उनले बताए । शंकास्पद लाग्ने व्यक्ति र समूह माथि पनि निगरानी गरिएको उनले बताए । निर्वाचनका दिन हुन सक्ने सम्भावित घटनालाई सूक्ष्म रूपमा नियालेर त्यस्ता व्यक्तिमाथि निगरानी गरिएको उनले बताए । जिल्लामा भित्रिने सीमाक्षेत्र र स्थानीय तह भित्रिने सिमामा संयुक्त सुरक्षा गस्तीले चेक गरिरहेको उनले बताए । गाउँघर र अति संवेदनशील मानिएका क्षेत्रमा रात्रिकालीन गस्ती बढाइएको उनले बताए ।
