रामेछाप सवारी दुर्घटनाका घाइतेलाई गृहमन्त्री अर्यालले भेटे

गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिएकाे हाे।

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

Home Minister Aryal meets those injured in Ramechhap road accident

What you should know

काठमाडौँ —  गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका घाईतेलाई भेटी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिएकाे हाे।

फागुन १८ गते रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा भएको सवारी  दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए।

घाइतेहरुको उद्धार गरेर अहिले छाउनिस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ । निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएका  कर्मचारी र सुरक्षार्की सवार सवारी साधन दुर्घटनामा परेको हो ।

सो अवसरमा गृहमन्त्री अर्यालले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमि आउन नदिने बताए। गृहमन्त्रीका साथमा मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेलगायत उच्च अधिकारीहरु पनि अस्पताल पुगेका थिए।

छाउनी अस्पतालका चिकित्सक नेपाली सेनाका सहायकरथी डा नम्रता महराका अनुसार घाइतेमध्ये पुजा सुनुवारको सघन उपचार कक्षा (आइसीयू) मा उपचार भइरहेको छ । बाँकी छ जना भीमबहादुर मानन्धर, केदारकुमार रोका, दुर्गा कार्की, कृष्णप्रसाद घिमिरे, सविना खड्का र समरबहादुर मानन्धर मेडिकल वार्डमा उपचाररत छन्। घाइतेमध्ये चार महिला र तीन पुरुष हुन्।

मन्थलीबाट मतदान केन्द्र  सितलादेवी मावि सिरुवारी (क), (ख) र वडा ३ को वडा कार्यालय भवन साँघुटार (क) र (ख) मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलगायत कर्मचारी र सुरक्षाकर्मीहरू मतपत्रसहितका निार्वाचन सामग्री लिएर जाँदै गरेको ना. ७ ख ६७६८ नं. को निशान गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो । 

दुर्घटनामापरि मतदान अधिकृत डोरप्रसाद घिमिरे र नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पर्शुराम यादवको निधन भएको प्रहरीले जनाएको छ। उक्त  गाडीमा ११ जना सवार रहेका थिए।

कान्तिपुर संवाददाता

Link copied successfully