खाडीमा फैलिँदै युद्ध, इरानी हमलामा एक नेपालीको मृत्यु

द्वन्द्व प्रभावित मुलुकमा रहेका नेपालीलाई त्यहीँ सुरक्षित राख्ने सरकारको निर्णय, रोजगारीमा जाँदै गरेका नेपाली यतै रोकिए, नेपाल आउने र जाने क्रममा ६ हजार ८ सय यात्रु विभिन्न विमानस्थलमा अलपत्र

फाल्गुन १८, २०८२

होम कार्की

War spreads in the Gulf, one Nepali killed in Iranian attack

काठमाडौँ — अमेरिका र इजरायलले इरानमा गरेको हमलापछि पश्चिम एसियामा तनाव फैलिँदै छ । अमेरिकी सैन्य अखडाहरूमा जवाफी हमला गर्ने भन्दै इरानले ८ छिमेकी देशमा हमला गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको हमलामा एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ । 

यूएईको रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल, बंगलादेश र पाकिस्तानका १–१ नागरिकको मृत्यु भएको हो । आबुधावीस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुने नेपालीको विवरण खुलिसकेको छैन । यूएईले घटनास्थलसमेत सार्वजनिक गरेको छैन । ‘हामीले मृत्यु भएका नेपालीको विवरण दिन यूएई सरकारलाई भनेका छौं,’ नेपाली राजदूत तेजबहादुर क्षेत्रीले कान्तिपुरसँग भने, ‘विस्तृत जानकारी दिइएको छैन ।’

इरानले शनिबार आबुधावीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा मिसाइल प्रहार गर्दा एक जनाको मृत्यु भएको थियो । यूएईका अलगअलग स्थानमा भएका हमलामा ५८ जना घाइते भएका छन् । घाइते हुने यूएई, इजिप्ट, फिलिपिन्स, भारत, पाकिस्तान र इरानलगायतका नागरिक रहेको रक्षा मन्त्रालयले जनाएको छ । 

यूएईको रक्षा मन्त्रालयका अनुसार इरानतिरबाट शनिबारमात्रै १ सय ६५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र हानिएको थियो । तीमध्ये १ सय ५२ वटा क्षेप्यास्त्र निस्तेज पारिएको र १३ वटा समुद्रमा खसेको थियो । त्यस्तै दुईवटा क्रुज मिसाइल र ५ सय ४१ ड्रोन पनि प्रहार गरिएको थियो । अधिकांश ड्रोन निस्तेज पारिए पनि २१ ड्रोन भने सर्वसाधारण भएका ठाउँमा खसेको जनाइएको छ ।

यूएईमा करिब सात लाख नेपाली कार्यरत छन् । सुरक्षा गार्डमा कार्यरत निसान श्रेष्ठले शनिबारदेखि आफूहरू तनावमा रहेको बताए । ‘आकाशमा मिसाइलको आवाज आइरहन्छ, कति बेला के हुन्छ, थाहा छैन,’ उनले भने, ‘हौसला बढाएर बसेका छौं, हिम्मत हारेका छैनौं ।’ 

War spreads in the Gulf, one Nepali killed in Iranian attack

आबुधावीमा कार्यरत गणेश विष्टले चिन्ता भए पनि आफूहरू असुरक्षित नभएको बताए । ‘सामाजिक सञ्जालमा हेर्दा यूएई बर्बाद भएको जस्तो देखिन्छ, त्यस्तो छैन, यहाँको जीवनशैली सामान्य नै छ,’ उनले भने, ‘इरानका मिसाइल निस्तेज भइरहेका छन्, डर छ तर असुरक्षित अवस्था छैन ।’

इरानको मिसाइलबाट यूएईको पाम जुमेराह, बुर्ज अल अरब आसपासका भवन, आवासीय क्षेत्र, विमानस्थल तथा जेबेल अली बन्दरगाहमा क्षति पुगेको छ । यी क्षेत्रमा नेपालीको बाक्लो उपस्थिति छ । 

यूएईको अन्तर्राष्ट्रिय सहकार्य राज्यमन्त्री रिम अल हासिमीले देशको रक्षा गर्न र त्यसका लागि पूर्ण तयारी अवस्थामा रहन कुनै कसर बाँकी नराख्ने बताइन् । ‘इरानले खाडी मुलुकलाई लक्षित गरी प्रहार गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई यूएईले निस्तेज गरिरहेको छ,’ सीएनएनसँग उनले भनिन्, ‘हामी यूएईवासीलाई स्पष्ट सन्देश दिन्छौं कि तपाईंहरू यस्तो नेतृत्वसँग सुरक्षित हुनुहुन्छ, जसले तपाईंको ख्याल राख्छ र सुरक्षा कायम राख्न सक्दो सबै प्रयास गर्नेछ ।’

इरानको हमलाले खाडीका नेपाली त्रसित छन् । श्रमिक बस्ने क्याम्पभित्र निस्तेज गरिएको इरानी मिसाइल खस्ने डर उनीहरूमा छ । अमेरिका र इजरायलले गरेको हमलाको प्रतिक्रिया दिँदै इरानले लगातार यूएई, कतार, साउदी अरब, ओमान, कुवेत, जोर्डन र इराकमा रहेका अमेरिकी सैन्य क्याम्प, विमानस्थल र आवासीय भवनलाई समेत निसाना बनाई मिसाइल र ड्रोन प्रहार गरिरहेको छ । तर, इरानी प्रहार सटीक नभएकाले यत्रतत्र छरिएका छन् । 

कुवेतमा पनि एक आप्रवासी श्रमिकको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका छन् । घाइते सबै आप्रवासी हुन् । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार इरानी मिसाइलको आक्रमणबाट घाइते भएका ती श्रमिकको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु र घाइते भएका आप्रवासी श्रमिकको पहिचान सार्वजनिक गरिएको छैन । 

कुवेतमा एक लाख ७५ हजार नेपाली कार्यरत छन् । कतारमा रहेको अमेरिकी सैन्य बेसक्याम्प नजिकै आप्रवासी श्रमिक राखिएको औद्योगिक क्षेत्र (सनैया) पर्छ । 

War spreads in the Gulf, one Nepali killed in Iranian attack

आइतबार बिहान पनि कतारले निस्तेज गरेको मिसाइल नेपाली श्रमिकहरूको बक्लो उपस्थिति रहेको सनैया–१० को एउटा क्याम्पमा झरेको थियो । ‘हामी बिहान ड्युटी जाने बेलामा गाडी चढ्दै थियौं, आकाशमा पड्केको आवाज आयो, त्यो हामी बसेको नजिककै क्याम्पमा झरेर ठूलो आगलागी भयो,’ शिवकुमार सुनारले भने, ‘त्यसपछि हामी काममा गएनौं, क्याम्पभित्रै आएर बसेका छौं, यहाँ सरकारले पनि बाहिर ननिस्कन भनेर मोबाइलमा म्यासेज पठाइरहेको छ ।’

शनिबार पनि कतारको उकिरस्थित अर्जेटिना श्रमिक क्याम्पको परिसरभित्र खसेको थियो । त्यसबाट मानवीय क्षति भएको छैन । कतारमा तीन लाख ५७ हजार नेपाली कार्यरत छन् । 

कतारको आन्तरिक मन्त्रालयका जनसम्पर्क प्रमुख अब्दुल्लाह खलिफा अल मुफ्ताहले स्थानीय टेलिभिजनमा सम्बोधन गरेअनुसार इरानले कम्तीमा ६६ वटा मिसाइल प्रहार गरिसकेको छ । निस्तेज बनाउने क्रममा १ सय १४ वटा मिसाइलको छर्रा खसेको छ । त्यसबाट १६ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । उनीहरूको पहिचान खुलाइएको छैन । 

‘हामी छतमा बसेर हेरिरहेका थियौं, आकाशमा मिसाइल निस्तेज भएपछि पानी परेको जस्तो भएको थियो । छर्रा झर्ने बेला यस्तो हुँदोरहेछ । छर्रा हाम्रो छतमा खस्यो । झन्डै एक किलोको फलामको टुक्रा थियो, प्रहरीलाई बोलायौं,’ खोटाङका रुद्र शर्माले भने, ‘प्रहरीले लिएर गयो ।’ 

मिसाइल निस्तेज गर्ने क्रममा झरेको टुक्राले मानवीय क्षति पुर्‍याउन सक्ने भन्दै कतारले बाहिरी काम बन्द गराएको छ । सरकारी र निजी क्षेत्रमा काम गर्नेलाई घरबाटै काम गराउने निर्णय गरेको छ । ‘लगभग सबै काम गर्ने साइड बन्द छ,’ चितवनका श्याम भुसालले भने, ‘बाहिर चहलपहल खासै छैन, पसलहरू खुलेका छन् ।’

गोरखाका श्रीकृष्ण भट्टराईले रातभर आकाशमा पड्किएको आवाजले सबैलाई डर लागेको बताए । ‘यो युद्ध इरानले सिधै कतारसँग होइन, खालि कतारमा रहेको अमेरिकी बेसक्याम्पमा मात्र आक्रमण गरेको हो,’ उनले भने, ‘बढी आत्तिएका छैनौं, यहाँको सुरक्षा निकायले जारी गरेको निर्देशनलाई बढी पालना गरेका छौं ।’

इरानले बढी निसाना बनाएको देश बहराइन पनि हो । बहराइनमा २८ हजार नेपाली कार्यरत छन् । बहराइनमा कार्यरत इन्जिनियर फूलमान वलले अमेरिकी बेसक्याम्प रहेको वरिपरिबाट सबैलाई हटाइएको बताए । ‘हामी नेपाली एकआपसमा सम्पर्कमा छौं, नेपाली दूतावासले पनि सम्पर्क गरिरहेको छ,’ उनले भने, ‘केही साथीभाइ धेरै आत्तिएका छन्, केहीछिन त भागाभागको स्थिति नै भयो, आवासीय घरमा पनि ड्रोन आक्रमण भएपछि चिन्ता थपिएको छ, रातभरि सुत्न नै सकेनौं । जहाँ जतिखेर पनि मिसाइल खस्छ जस्तो हुन्छ ।’

परराष्ट्र मन्त्रालयका अनुसार खाडी क्षेत्रमा १७ लाख २९ हजार २ सय ८८ जना नेपाली श्रमिक छन् । इरानमा रहेका १० जना नेपालीमध्ये चार जना फर्किसकेका छन् । ‘नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर सरकारको पछिल्लो घटनाक्रमको नियमित अपडेट लिइरहेका छौं,’ परराष्ट्र मन्त्रालयको खाडी क्षेत्र हेर्ने जिम्मेवारी पाएका सहसचिव रामकाजी खड्काले भने, ‘हामीले दूतावाससँग नियमित समन्वय गरिरहेका छौं ।’ उनले परराष्ट्र सचिव अमृत राईको संयोजकत्वमा आपत्कालीन उद्धार टोली गठन प्रक्रिया अघि बढेको बताए । ‘उद्धारका लागि कन्सुलर सेवा विभागले २४ घण्टाको हटलाइन व्यवस्था गर्ने निर्णय भएको छ । युद्ध लम्बिने अवस्था रहेमा छिमेकी मुलुकले लिने कदम र सम्बन्धित मुलुकले देखाउने तत्परतालाई समेत हेरेर हामीले सुरक्षित स्थानमा लैजाने रणनीति बनाउनेछौं,’ उनले भने । 

यसैबीच सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका नेपाली नागरिकलाई त्यहीँ सुरक्षा दिएर राख्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने उल्लेख गर्दै तत्कालका लागि जहाँ छन्, त्यहीँ सुरक्षा दिएर राख्नका लागि व्यवस्था मिलाउने निर्णय भएको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए । 

सरकारले सम्बन्धित देशका नेपाली दूतावासलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न पनि निर्देशन दिएको छ ।बैठकबारे जानकारी दिँदै उनले भने, ‘अवस्था सामान्य छैन, अहिलेलाई सबै विमानस्थल बन्द छन्, कसैलाई फर्काउन र ल्याउन सकिँदैन, त्यसैले अहिले जहाँ छन्, त्यहीँ सुरक्षा दिएर राख्ने विषयमा छलफल भएको छ ।’ ती क्षेत्रका लागि आधिकारिक ट्राभल एडभाइजरी जारी गरिएको मन्त्री शर्माले बताए । 

राजदूतलाई सम्पर्क गरेर नेपाली नागरिकलाई गन्तव्यमा पुर्‍याउने र जान नसक्नेलाई होटलमा व्यवस्था गर्ने काम भएको उल्लेख गर्दै उनले सम्बन्धित व्यवसाय दिने कम्पनी अथवा एयरलाइन्सले रेखदेख गर्ने गरी समन्वय भएको बताए ।

होम कार्की दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully