आफैंलाई मत दिन पाउँदैनन् यी चर्चित उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनमा मुलुकको जुनसुकै क्षेत्रबाट उम्मेदवार हुन पाउने कानुनी प्रावधान छ । साेही कारण कयौं नेताहरू आफ्नो मतदाता नामावली नभएका क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

फाल्गुन १८, २०८२

कान्तिपुर संवाददाता

These famous candidates are not allowed to vote for themselves

काठमाडौं — प्रतनिधिसिभा सदस्य चयनका लागि बिहीबार हुने निर्वाचनमा केही चर्चित उम्मेदवारले आफैंलाई मतदान गर्न पाउने छैनन् । 

प्रतिनिधिसभा निर्वाचनमा मुलुकको जुनसुकै क्षेत्रबाट उम्मेदवार हुन पाउने कानुनी प्रावधान छ । साेही कारण कयौं नेताहरू आफ्नो मतदाता नामावली नभएका क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट उम्मेदवार भएका छन् । उनको मतदाता नामावली भक्तपुर नगरपालिका छ । भक्तपुर-२ बालकोटस्थति महेन्द्र शान्त विद्यालयको केन्द्रबाट उनले मतदान गर्दै आएका छन् । यसपटक पनि उनले भक्तपुर-२ का उम्मेदवारलाई र समानुपातिकमा पार्टीलाई मतदान गर्ने छन् । भक्तपुरमा मतदान गरेपछि ओली झापा जाने कार्यक्रम छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल पनि रुकुम पूर्वबाट उम्मेदवार भएका छन् । उनले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । उनले चितवन भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कूल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्ने छन् । चितवन-३ मा उनले नेकपाका उम्मेदवारलाई मतदान गरी त्यही दिन रुकुम पूर्व जाने कार्यक्रम छ । 

सर्लाही-४ बाट उम्मेदवार भएका कांग्रेस सभापति गगनकुमार थापाले पनि आफैंलाई मतदान गर्ने छैनन् । उनले मैतीदेवीस्थित मन्दिर छेउमा रहेकाे केन्द्रमा मतदान गर्नेछन् । यो काठमाडौं-४ मा पर्छ । उनी काठमाडौंमा मतदान गरी आफ्नो निर्वाचन क्षेत्र सर्लाही जाने छन् ।

चितवन-२ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने काठमाडौं-३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा मतदान गर्दै आएका छन् । यसपटक पनि उनले त्यही केन्द्रबाट मतदान गर्ने भएकाले आफूलाई मतदान गर्न पाउने छैनन् ।

झापा-५ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले पनि काठमाडौं सिनामंगलमा मतदान गर्ने छन् । उनको नामावली यतै भएकाले उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गर्ने छन् । त्यसपछि उनी उम्मेदवार भएको जिल्ला झापा जाने कार्यक्रम छ ।

कान्तिपुर

Link copied successfully