सामाजिक सञ्जाल, अनलाइन, छापा वा कुनै माध्यमबाट पक्ष वा विपक्षमा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न पाइँदैन ।
काठमाडौँ — २१ फागुनमा हुने हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदै छ । मौन अवधिमा कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न वा भोट माग्न पाइँदैन ।
त्यसैले १२ बजेअघि नै चुनावी सभा र प्रचारका लागि राजनीतिक दल तथा तिनका उम्मेदवार व्यस्त देखिन्छन् । मौन अवधि मध्यराति १२ बजेदेखि सुरु भएर मतदान सम्पन्न नभएसम्म लागू हुन्छ ।
निर्वाचन आयोगले मौन अवधिको अनुमगन निर्वाचन आचारसंहिताअनुसार गरिरहेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन आयोग २४ घण्टा निर्वाचन आचारसंहिता उल्लंघनको अनुगमनमै रहेको बताए ।
किन लागू गरिन्छ मौन अवधि ?
मतदानको समयमा प्रतिस्पर्धीहरूबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भनेर अघिल्लाे ४८ घण्टा मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ ।
शान्त वातावरणमा निर्वाचन गर्न अनि उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गर्ने अभ्यास छ । मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि शान्त हुने भएकाले मतदानको वातावरण बन्छ र मतदाता उत्साहित भएर मतदान गर्छन् भन्ने अपेक्षा निर्वाचन आयोगको हुन्छ ।
यदि मौन अवधिको व्यवस्था नराख्ने र मतदानको अघिल्लो दिनसम्म पनि प्रचारप्रसारको छुट हुने हो भने उम्मेदवार र राजनीतिक दलहरूले मतदातालाई प्रभावित पार्ने जोखिम रहने र निर्वाचनको वातावरणमा असर पर्ने भएकाले यस्तो अभ्यास चल्दै आएको निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ । ‘दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने,’ आयोगले भनेको छ ।
के गर्न हुन्छ, के गर्न हुँदैन ?
मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार सामाजिक सञ्जालमार्फन पनि कसैको पक्ष वा विपक्षमा प्रचार गर्न वा भोट माग्न पाइँदैन ।
मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले पनि निर्वाचन प्रचारप्रसार लगायत गतिविधि गर्न पाइनेछैन ।
यस्तै, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन नहुने निर्वाचन आयोगले बताएको छ ।
मौन अवधिलाई लक्षित गर्दै आचारसंहिताको दफा १७मा व्यवस्था गरिएको छ । मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले आचरण पालन गर्नुपर्ने आयोगले भनेको छ ।
निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने, मतदान हुने दिनको अठचालिस घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री हटाउनुपर्ने भनिएको छ । त्यस्तै, कुनै पनिविधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन नहुने भनिएको छ ।
के हुन्छ कारबाही ?
आचारसंहिताको दफा ४८ मा कारबाहीको व्यवस्था गरिएको छ । जसकाे उपदफा १ मा ‘कसैले यो आचारसंहिता उल्लङ्घन गरेमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्नेछ’ भनिएको छ ।
उपदफा ३ मा ‘राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचारप्रसार अभियानमा निर्वाचन आचारसंहिताले गरेको काम कारबाही गर्न वा गराउनका लागि कुनै प्रकारले आर्थिक सहयोग लिन वा काम कारबाहीको लागि खर्च गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य गर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३० को उपदफा (१) र (२) बमोजिम त्यसरी गरेको आम्दानी वा खर्च बराबरको रकम जरिवाना गर्न सक्नेछ ।
त्यसरी भएको जरिवाना ६ महिनासम्म नबुझाउने उम्मेदवारलाई आयोगले तत्काल लागू हुने गरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ ।
