चुनावलक्षित गरेर नेपाल प्रहरीसहित, नेपाली सेना, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिएकाले पनि कानुनविपरितको काम हुन नपाएको सुरक्षा अधिकारीहरूको भनाइ छ ।
What you should know
काठमाडौं — अघिल्ला वर्षहरूको तुलनामा यसवर्ष पहाडी जिल्लाहरूमा शान्तिपूर्ण रुपमा फागु पूर्णीमा (होली पर्व) मनाइएको छ ।
प्रहरी हेडक्वाटरले शान्तिपूर्ण रुपमा होली पर्व सम्पन्न भएको जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले मानिस पक्राउ, झैझगडा, जबरजस्ती, दुर्घटना, ट्राफिक नियमको उल्लंघनलगायत घटना, कानुन उल्लंघन तथा अवान्छित गतिविधि नभएको जानकारी दिए । सर्वसाधारणले अति सामान्य रुपमा होली पर्व मनाएको उनले जनाए । ‘निर्वाचन आचारसंहिता लागू भएको अवस्था छ । निर्वाचनकै कारण मदिरा बेचबिखन र ओसारपोसारमा पनि निषेधित गरिएको थियो,’ काफ्लेले भने, ‘जिल्ला प्रशासन कार्यालयहरूबाट पनि त्यहिअनुसार होली खेल्न भनेर भेला, जम्मा हुन नदिएको अवस्था थियो ।’ काठमाडौं उपत्यकासहित देशभरका पहाडी जिल्लामा होलीसँग सम्बन्धित कुनै पनि घटना नभएको उनले बताए । ‘पहाडी इलाका होली सामान्य र शान्तिपूर्ण भयो । कोही पनि पक्राउ परेका छैनन । दुर्घटना, ट्राफिक नियमको उल्लंघनको घटना पनि छैन,’ प्रहरी प्रवक्ता काफ्लेले भने ।
सार्वजनिक विदा समेत रहेकाले सर्वसाधारणले साथीभाइ र आफन्त भेला भई एकअर्कामा अबिर दलेर ठाउँठाउँमा होली मनाएका थिए । यसपटक निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले औपचारिक कार्यक्रम नगर्न आग्रह गरेको थियो । त्यस्तै सार्वजनिक स्थलमा सांगीतिक कार्यक्रमहरू गर्न पनि रोक लगाइएको थियो । काठमाडौं उपत्यकाका वसन्तपुर र पाटन दरवार स्क्वायरमा भने होली खेल्न सर्वसाधारणहरू भेला भएको प्रहरीले जनाएको छ । त्यहाँ विदेशी पर्यटकसमेत होलीमा रमाए ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले अघिल्लो वर्षहरूभन्दा यसवर्षको होली भिन्न तरिकाले मनाइएको बताए । ‘चुनावको पूर्वसन्ध्या भएर पनि होला । अघिल्लो वर्षको जस्तो होली छैन,’ उनले भने, ‘मदिरा बिक्री वितरण, ओसारपोसार पनि प्रतिबन्ध छ । काठमाडौंमा एकजना पनि नियन्त्रणमा लिनुपर्ने र सवारी साधान होल्ड गर्नुपरेन ।’ चुनाव लक्षित गरेर नेपाल प्रहरीसहित, नेपाली सेना, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिएकाले पनि कानुनविपरितको काम हुन नपाएको सुरक्षा अधिकारीहरूको भनाइ छ ।
निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट साढे ३ लाखभन्दा बढी सर्वसाधारण बाहिरिएका छन् । मतदाताहरू आफ्नो निर्वाचन क्षेत्रतर्फ जाने क्रम जारी रहेको ट्राफिक प्रहरीले जनाएको छ । होली लक्षित कार्यक्रम गर्न अनुमति नदिएको, मदिरा बेचबिखन गर्न रोक लगाएकाले पनि घटना दुर्घटना नभएको एसपी भट्टराईले जनाए । ‘काठमाडौंबाट मतदानका लागि मतदाता बाहिरिएका छन् । होली लक्षित गरेर कार्यक्रम गर्न इजाजत र स्वीकृति थिएन,’ उनले भने, ‘सवारी दुर्घटना हुने, झैझगडा, मापसे सेवन गरी सवारी चलाउने गरेको केस भेटिएन ।’
सोमबार मध्यरातिबाट निर्वाचनको मौन अवधि सुरु हुँदैछ । त्यसपछि २१ फागुन बिहीबार मतदान नसकिएसम्म चुनावी प्रचारप्रसार गर्न र मत माग्न रोक लगाइएको छ ।
ललितपुर प्रहरीका प्रवक्ता गौतम मिश्रले पनि शान्तिपूर्ण रुपमा होली पर्व सकिएको बताए । ‘चुनावी प्रचारप्रसारको अन्तिम दिन भएकाले धेरै उम्मेदवार र कार्यकर्ताहरू होलीभन्दा पनि चुनावी काममा व्यस्त देखिए । धेरैले निर्वाचनका लागि उपत्यका छाडिसकेका छन्,’ उनले भने, ‘होलीमा कुनै पनि अवान्छित गतिविधि भएको पाइएन् ।’ होलीसम्बन्धी कुनै उजुरी र गुनासो प्राप्त नभएको काठमाडौं उपत्यका प्रहरीले जनाएको छ ।
गतवर्ष २९ फागुनमा परेको होली पर्वमा काठमाडौंबाट मात्र २४ जना उच्छृंखल गतिविधि गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । डेढ सय सवारी साधन होल्ड गरिएको थियो । मापसे र लापसे गरेर सवारी चलेका सवारी साधन, स्वरुप चेन्ज भएका, तिव्र गतिमा चलाइएका सवारी साधन र चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
११ चैत २०८० को होलीमा देशभरबाट १०२ जना प्रक्राउ परेका थिए । जबरजस्ती रंग दल्ने, मादक पदार्थ सेवन गरी झैंझगडा गर्ने र सार्वजनिक स्थलमा होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यतिबेला मापसे गरी सवारी सधान चलाउने, ट्राफिक नियम उल्लंघन गर्ने ७ सय ७५ सवारी साधनलाई होल्ड गरिएको प्रहरी तथ्याङ्क छ । काठमाडौं उपत्यकामा मात्र साढे ६ सय मोटरसाइलक/स्कुटर होल्ड गरिएको थियो । मंगलबार तराई/मधेस क्षेत्रमा होली पर्व मनाईँदैछ ।
