सभापति गगन थापाले कांग्रेसले आगामी दिनमा युवाहरू गोलीबाट मर्न नदिने, मुकुण्डो लगाएर सिंहदरबार जलाउन नपाउने अवस्था चाहेको बताएका छन् ।
What you should know
काठमाडौँ — कांग्रेस सभापति गगन थापाले उत्तेजना र घृणाको राजनीतिकले कहिँ नपुगिने बताएका छन् । कांग्रेसको काठमाडौं केन्द्रित कीर्तिपुरको सभालाई आइतबार सम्बोधन गर्दै ५ वर्ष कांग्रेसले सुझबुझका साथ मुलुक चलाउन खोजेको समेत बताए ।
‘अरु सबै पार्टी झुर, हाम्रो पार्टी मात्रै खतरा भन्ने छ । यो उत्तेजना, घृणाको राजनीतिले कहिँ पुगिँदैन्’ उनले भने, ‘देशलाई सम्हाल्न घृणा र उत्तेजनाको भाषाले हुँदैन । पाँच वर्षमा देशलाई अघि बढाउन मलाई टिम चाहिन्छ । कांग्रेसले ५ वर्षको समय खेर फाल्दैनौं । मुलुकलाई कानुनी शासनको आधारमा टुंगोमा पुर्याउन सकिन्छ ।’
उनले कांग्रेसले आगामी दिनमा युवाहरू गोलीबाट मर्न नदिने, मुकुण्डो लगाएर सिंहदरबार जलाउन नपाउने अवस्था चाहेको बताए ।
कीर्तिपुरको डाँडामा बसेर आएटीको काम गरेर २ लाख कमाउन सक्ने आफूले भनेपछि त्यो यथार्थमा बदलिँदै गएको बताए । ‘नेताको काम सपना देख्नु हो । कीर्तिपुरको डाँडाको कुरा गरेपछि युवा साथीहरू आए, तपाइले भनेभन्दा धेरै कमाइरहेको बताए’ उनले भने, ‘त्यसपछि हामीले आइटीको क्षेत्रमा गर्न सकिने कानुनको मस्यौदा बनाऔं ।’
उनले कांग्रेसको प्रतिज्ञापत्रमा पाँच वर्षैभित्रमा सूचना प्रविधिको क्षेत्रलाई महत्वपूर्ण उद्योग बनाउने, कूल ग्राहस्थ उत्पादनको पाँच प्रतिशत पुर्याउने वाचा गरेको बताए ।
उनले चुनावअघि घरघर गएर मतदातालाई आफ्नो कुरा बुझाउन कार्यकर्तालाई आग्रह गरे । ‘बाहिर हल्ला छ । कोलाहल छ । नौजवानलाई सम्झाउनुपर्नेछ,’ उनले भने, ‘काठमाडौंमा जित्ने क्षेत्रमध्ये काठमाडौं-१० लाई १ नम्बरमा राखेका छौं ।’
कांग्रेसले भक्तपुर ठिमी, पेप्सीकोला, बालाजु चोक, सामाखुसी चोक र काठमाडौं- ४ बालुवाखानीमा चुनावी सभा गर्ने तय भएको छ । कांग्रेसले जनकपुर, सुर्खेत, पोखरा, धनगढीलगायत क्षेत्रमा सभा सकेपछि राजधानी केन्द्रित भएको हो ।
