निर्वाध रिपोर्टिङको व्यवस्था मिलाउन पत्रकार महासंघको अपिल

महासंघले पत्रकारहरूलाई सुरक्षा चुनौतीका बाबजुद पनि उच्च मनोबलका साथ कार्यस्थलमा खटिन र आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

Nepali Journalists Federation appeals for arrangements for unfettered reporting

What you should know

काठमाडौँ — नेपाल पत्रकार महासंघले आगामी फागुन २१ गते हुने आमनिर्वाचनको रिपोर्टिङ गर्दा संयम र जिम्मेवार बन्न पत्रकार तथा सञ्चारगृहलाई आग्रह गरेको छ। महासंघकी अध्यक्ष निर्मला शर्माले आइतबार एक अपिल जारी गर्दै मुलुकको वर्तमान संवैधानिक जटिलताका बीच प्रेस स्वतन्त्रताको प्रयोग र व्यावसायिक मर्यादामा अडिग रहन आह्वान गरेकी हुन् ।

महासंघले निर्वाचनका बेला सामाजिक सञ्जालमा फैलिने भ्रमपूर्ण सूचना (फेक न्युज) लाई चिर्न सञ्चारमाध्यमको भूमिका निर्णायक हुने जनाएको छ । 'समाजमा व्याप्त भ्रमलाई चिर्न सत्य-तथ्य र निष्पक्ष सामग्री प्रकाशन-प्रसारण गर्नु नै पत्रकार र सञ्चारगृहको व्यावसायिक धर्म हो,' अध्यक्ष शर्मा द्वारा हस्ताक्षरित अपिलमा उल्लेख छ।

महासंघले निर्वाचनमा खटिने पत्रकारहरूको भौतिक सुरक्षा र पेशागत अधिकार सुनिश्चित गर्न सरोकारवाला पक्षलाई सचेत गराएको छ । दुर्गम क्षेत्रमा रिपोर्टिङका लागि खटिने पत्रकारहरूको सुरक्षा र आकस्मिक उद्धारका लागि 'मिडिया सेफ्‌टी डेस्क' स्थापना गर्न तथा आवश्यक परेको खण्डमा हवाई उद्धारको व्यवस्था मिलाउन पनि राज्यसँग आग्रह गरेको छ । 

साथै, निर्वाचनको समयमा पत्रकारहरूलाई समाचार संकलन, लेखन र प्रसारणमा कुनै पनि अवरोध नगर्न आग्रह गर्दै प्रेस पासका आधारमा सवारी साधनलाई निर्वाध आवतजावतको वातावरण मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

महासंघले विगतका आन्दोलनका बेला सञ्चारगृह र पत्रकारहरूले व्यहोरेको भौतिक क्षति तथा 'सेल्फ-सेन्सरसीप'को अवस्थालाई स्मरण गर्दै अहिले पनि अघोषित सेन्सरसीप कायम रहेकोमा चिन्ता व्यक्त गरेको छ । संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दै निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गर्न महासंघले आफ्ना सदस्यहरूलाई निर्देशन दिएको छ ।

'संविधान रहेमात्र प्रेस स्वतन्त्रता रहन्छ,' अपिलमा भनिएको छ, 'मुलुकको यो संवेदनशील अवस्थामा पेशागत इमान्दारिताका साथ उच्च व्यावसायिकताको पुनर्पुष्टि गर्नु आजको आवश्यकता हो ।'

महासंघले पत्रकारहरूलाई सुरक्षा चुनौतीका बाबजुद पनि उच्च मनोबलका साथ कार्यस्थलमा खटिन र आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

कान्तिपुर

Link copied successfully