मध्यपूर्व द्वन्द्वको प्रत्यक्ष प्रभाव : दुई दिनमा ४१ अन्तर्राष्ट्रिय उडान प्रभावित, करिब ६८ सय यात्रु अलपत्र

शनिबार र आइतबार गरी दुई दिनमा नेपालमा मध्यपूर्वी मुलुकसँग हुने ४१ अन्तर्राष्ट्रिय उडान प्रभावित भए । जसमा दुईतर्फी ओहोरदोहोर गर्नुपर्ने करिब ६८ सय यात्रु अलपत्र परे ।

फाल्गुन १७, २०८२

सुरज कुँवर

Direct impact of Middle East conflict: 41 international flights affected in two days, around 6,800 passengers stranded

काठमाडौँ — अमेरिका र इजरायलले इरानमाथि हवाइ आक्रमण गरेपछि नौ वटा मुलुकले आफ्ना आकाशबाट हुने उडानमा लगाएको प्रतिबन्धले शनिबार र आइतबार गरी दुई दिनमा नेपालमा मध्यपूर्वी मुलुकसँग हुने ४१ अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । जसमा दुईतर्फी ओहोरदोहोर गर्नुपर्ने करिब ६८ सय यात्रु अलपत्र परेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, शनिबार पहिलो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुनुपर्ने दुईतर्फी गरेर १८ उडान स्थगित भए । जसमा ३ हजार यात्रु प्रभावित भएका थिए । दोस्रो दिन आइतबार २३ उडान प्रभावित हुँदा कम्तीमा ३८ सय यात्रु प्रभावित भएको प्राधिकरणले जनाएको छ । मार्च १ (आइतबार) पनि मध्यपूर्वका अधिकांश मुलुकहरू प्रभावित हुने गरी हवाई क्षेत्र प्रतिबन्धमा थप कडाइ गरिएपछि आइतबार साँझसम्मका २३ वटा उडान प्रभावित भएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

कतार एयरवेजका दोहा रुटमा ६ वटा उडान स्थगन भएका छन् । यी उडानबाट १२ सय यात्रु प्रभावित भएका छन् । दोहा विमानस्थलमा शनिबार दिउँसोदेखि नेपाल फर्किन विभिन्न मुलुकबाट फर्किएका यात्रुहरू विमानस्थलमै अलपत्र गरेका छन् । एयर अरेबियाका चार उडानका ५ सय यात्रु, एयर अरेयिबा आबुधावीका दुई उडानका २ सय ८० यात्रु, जजिरा एयरवेजका २ उडान २५० यात्रु पनि उडान नहुँदा गन्तव्यमा जान पाएनन् । हिमालय एयरलायन्सका दुबई र दोहा गन्तव्यका २ उडानबाट ३ सय यात्रु, नेपाल वायुसेवा निगमको दुबईका लागि निर्धारित १ उडान २ सय यात्रु पनि प्रभावित भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिनसम्म यात्रुहरुको भीड र अन्योल छाएको वायुसेवाका कर्मचारीहरूले बताएका छन् । मध्यपूर्वमा जारी द्वन्द्व र हवाई क्षेत्र प्रतिबन्धका कारण नेपाल, भारत, कतार, युएई लगायतका मुलुकसँग सम्बन्धित अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित भएका छन् ।

नागरिक उड्डयन अधिकारीहरूले अवस्थाबारे निरन्तर अनुगमनमा रहेको र वायुसेवा कम्पनीहरूसँग समन्वय भइरहेको जनाएका छन् । वायुसेवा र विमानस्थलका अधिकारीहरूले यात्रुहरूलाई विमानस्थल जानुअघि आफ्नो उडानको अवस्था अनिवार्य रूपमा सुनिश्चित गर्न आग्रह गरेका छन् । दुबईस्थित गल्फ न्युजले जनाए अनुसार, भारत–युएई उडानहरू पनि व्यापक रूपमा प्रभावित भएका छन् । भारतीय वायुसेवा कम्पनीहरूले उडान सेवा निलम्बन अवधि थप बिस्तार गरेका छन् । एयर इन्डिया, एयर इन्डिया एक्सप्रेस, इन्डिगो, आकासा एयर, स्पाइस जेटले प्रभावित यात्रुहरूलाई निःशुल्क पुनर्तालिका वा पूर्ण रकम फिर्ता सुविधा दिने घोषणा गरेका छन् ।

‘भारत र युएईबीच यात्रा गर्ने यात्रुहरूले निरन्तर अवरोधको सामना गरिरहेका छन् र तालिका छोटो सूचनामै परिवर्तन हुन सक्ने चेतावनी दिइएको छ,’ समाचारमा यात्रुहरूलाई आधिकारिक स्रोत र सम्बन्धित वायुसेवा कम्पनीहरूको अद्यावधिक जानकारी नियमित रूपमा हेर्न आग्रह गरिएको उल्लेख छ ।

मध्यपूर्वमा जारी अमेरिकी–इजरायली आक्रमण र त्यसपछिको प्रतिउत्तरका कारण क्षेत्रीय हवाई मार्गहरू अस्थिर बनेका छन् । यसले नेपालबाट खाडी मुलुकतर्फ रोजगारी, अध्ययन तथा पारिवारिक कारणले यात्रा गर्ने ठूलो संख्याका नेपाली नागरिकलाई प्रत्यक्ष असर पारेको छ । हाल कतार, युएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनले आफ्ना मुलुकका सबै विमानस्थल र वायुसेवाको उडानमा रोक लगाएका छन् ।

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully