आयोगले सामाजिक सञ्जाल प्लेटफर्म, साइबर ब्युरो तथा सुरक्षा निकायसँग समन्वय गरी आचारसंहिता उल्लंघनका सामग्री हटाउने व्यवस्था मिलाएको छ ।
What you should know
काठमाडौँ — निर्वाचन आयुक्त सगुन शम्शेर राणाले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सबै तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । उनले मौनअवधिमा हुन सक्ने चलखेल रोक्न विशेष निगरानीको व्यवस्था गरिएको पनि जानकारी दिए।
राससलाई दिएको अन्तर्वार्तामा आयुक्त राणाले मौनअवधि प्रचारप्रसार गरेर थाकेका उम्मेवारलाई थकाइ मार्न र शान्त रहन तथा मतदातालाई पनि सोच विचार गरी स्वतन्त्र रूपमा उम्मेदवार छनोट सम्बन्धमा निर्णय प्रदान गरिएको समय भएको बताए । उक्त समयमा निर्वाचन आचारसंहिताविपरीतका कुनै कार्य नगर्न पनि उनले अपिल गरेका छन् ।
'मौन अवधिमा निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल र उम्मेदवारले मतदातालाई प्रभावमा पार्छन् कि भन्ने पाटोमा आयोग सचेत छ । कानुनविपरीतका गतिविधि रोक्न जिल्ला अनुगमन अधिकृत र सुरक्षा निकाय परिचालन गरी विशेष निगरानीको व्यवस्था मिलाइएको छ,' उनले भने ।
करिब तीन लाख ४२ हजार सुरक्षाकर्मी परिचालन भइसकेको र मतपत्र सबै निर्वाचन क्षेत्रमा पुर्याइसकिएको उनले बताए । मतदान अधिकृतलाई तालिम दिइसकिएको तथा मतदानस्थल तयारीको काम अन्तिम चरणमा रहेको उनको भनाइ छ ।
निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सरकारसँग प्रभावकारी समन्वय भइरहेको उनले बताए। गृहमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरमा निर्वाचन सुरक्षा गोष्ठी सम्पन्न भइसकेको र सुरक्षा चुनौतीको विश्लेषण गरी आवश्यक तयारी गरिएको उनले जानकारी दिए ।
प्रचारप्रसार उच्च विन्दुमा पुगेको उल्लेख गर्दै राणाले राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता पूर्ण पालना गर्न आग्रह गरे। उनले सामाजिक सञ्जाल र एआइको दुरुपयोग अहिलेको मुख्य चुनौती भएको बताए। आयोगले सामाजिक सञ्जाल प्लेटफर्म, साइबर ब्युरो तथा सुरक्षा निकायसँग समन्वय गरी आचारसंहिता उल्लङ्घन गर्ने सामग्री हटाउने व्यवस्था मिलाएको उनको भनाइ छ।
फागुन १८ गते बेलुकादेखि सुरु हुने मौनअवधिलाई मतदाताले स्वतन्त्र रूपमा निर्णय लिन पाउने समयका रूपमा लिनुपर्ने उनले बताए। 'यस अवधिमा कानुनविपरीत गतिविधि हुन नदिन जिल्ला अनुगमन अधिकृत र सुरक्षा निकाय परिचालन गरी विशेष निगरानीको व्यवस्था गरिएको छ,' उनले भने ।
मतदाता शिक्षालाई यसपटक स्थानीय तहसम्म विस्तार गरिएको जनाउँदै उनले बदर मत घटाउने लक्ष्य राखिएको बताए। मतदाताले निर्वाचन चिह्नको कोठाभित्र मात्र स्पष्ट रूपमा स्वस्तिक छाप लगाउन र मतपत्र सही तरिकाले फोल्ड गर्न ध्यान दिनुपर्ने उनले सुझाए ।
मतदान व्यवस्थापनअन्तर्गत एक हजार मतदाता बराबर एक मतदान केन्द्रको व्यवस्था गरिएको र वृद्ध, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीलाई प्राथमिकता दिइने आयोगले जनाएको छ ।
विगतमा मतगणना ढिलो भएको गुनासो दोहोरिन नदिन यसपटक जनशक्ति बढाइएको र प्रक्रियालाई छिटो तथा प्रभावकारी बनाउने प्रयास गरिएको राणाले बताए। यद्यपि मतगणना म्यानुअल प्रणालीमै हुने उनले स्पष्ट पारे।
आयुक्त राणाले फागुन २१ गते हुने निर्वाचनमा अनिवार्य रूपमा मतदान गर्न सबै मतदातालाई अपिल गरेका छन्। उनले यो निर्वाचन लोकतन्त्र सुदृढ गर्ने र देशलाई निकास दिने अवसर भएकाले योग्य उम्मेदवार छनोट गर्न आग्रह गरे।
