कतारको हवाई क्षेत्र अस्थायी रूपमा बन्द, कतार एयरवेजका उडान स्थगित

कतारले दैनिक ३ उडान दोहा-काठमाडौं गर्दै आएको छ । नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले पनि दोहाका लागि उडान गर्छन् ।

फाल्गुन १६, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — कतारको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएपछि कतार एयरवेजले दोहातर्फ जाने तथा दोहाबाट सञ्चालन हुने आफ्ना सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ। 

कतारले दैनिक तीनवटा उडान दोहा-काठमाडौं गर्दै आएको छ । यसबाहेक नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले पनि दोहाका लागि उडान गर्छन् । इजरायल र अमेरिकाले इरानमा गरेको आक्रमणको असरपछि कतारले आफ्नो आकाश बन्द गर्ने निर्णय गरेको हो । 

कतार एयरवेजले यात्रु तथा कर्मचारीको सुरक्षा सधैं उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ।

यात्रुहरूलाई थप जानकारी तथा अद्यावधिक विवरणका लागि कतार एयरेवेजको वेबसाइट, कतार एयरवेजको मोबाइल एप वा सामाजिक सञ्जाल प्लेटफर्म एक्समा रहेको आधिकारिक च्यानलमार्फत जानकारी लिन आग्रह गरिएको छ।

यसैबीच, हमाद इन्टरनेसनल एयरपोर्टले पनि कतारको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएकाले सबै प्रकारका विमान आवागमन पूर्ण रूपमा स्थगित गरिएको पुष्टि गरेको छ। विमानस्थलले जारी गरेको वक्तव्यमा यात्रु तथा कर्मचारीको सुरक्षा नै पहिलो प्राथमिकता भएको उल्लेख गरिएको छ।

विमानस्थल प्रशासनले प्रभावित यात्रुहरूको व्यवस्थापनका लागि सरकारी निकायहरू तथा सम्बन्धित एयरलाइन्सहरूसँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ। साथै, यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग प्रत्यक्ष सम्पर्क गर्न सल्लाह दिइएको छ।

हवाई क्षेत्र पुनः सञ्चालनमा आएपछि मात्र उडान सेवा पुनः सुरु गरिने जनाइएको छ। यात्रुहरूलाई आफ्नो उडानको अवस्थाबारे नियमित रूपमा जानकारी लिँदै रहन आग्रह गरिएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully