इजरायल–इरान द्वन्द्व : त्रिभुवन विमानस्थलबाट १८ अन्तर्राष्ट्रिय उडानहरू स्थगित

प्रभावित एयरलाइन्समध्ये, नेपाल एयरलाइन्सले तीन उडानहरू— काठमाडौं–दमाम, काठमाडौं–दोहा र काठमाडौं–दुबई — स्थगित गरेको छ । जसबाट करिब ५०० यात्रु प्रभावित भएका छन् ।

फाल्गुन १६, २०८२

सुरज कुँवर

Israel-Iran conflict: 18 international flights suspended from Tribhuvan Airport

What you should know

काठमाडौँ — इजरायल र इरानबीच बढ्दो द्वन्द्वका कारण शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने १८ अन्तर्राष्ट्रिय उडानहरू स्थगित भएका छन् । जसबाट करिब ३ हजार यात्रु प्रभावित भएका जानकारी नागरिक उड्डयन प्राधिकरण नेपालका प्रवक्ता ज्ञानन्द्र भुलले शनिबार साँझ दिएका हुन् । 

'इजरायल–इरान द्वन्द्वको कारण क्षेत्रीय हवाई मार्गमा समस्या उत्पन्न भएको छ । त्यसैले शनिबारका लागि निर्धारित १८ अन्तर्राष्ट्रिय उडानहरू स्थगित गरिएको छ  । ती उडानका करिब ३,००० यात्रु प्रभावित भएका छन् । एयरलाइन्सहरूले परिस्थिति लगातार अनुगमन गर्दै सम्बन्धित अधिकारीहरूसँग समन्वय गरी उडान सञ्चालनका लागि तयारी गरिरहेका छन्,’ उनले भने ।

प्रभावित एयरलाइन्समध्ये, नेपाल एयरलाइन्सले तीन उडानहरू— काठमाडौं–दमाम, काठमाडौं–दोहा र काठमाडौं–दुबई — स्थगित गरेको छ । जसबाट करिब ५०० यात्रु प्रभावित भएका छन् ।

त्यसैगरी, कतार एयरवेजले दोहा जाने र आउने गरी चार उडानहरू रद्द गरेको छ, करिब ८०० यात्रु प्रभावित छन् । फ्लाई दुबईले दुबईतर्फ र फर्कने चार उडानहरू स्थगित गरेको छ, करिब ६०० यात्रु प्रभावित छन् ।

एयर अरबियाले आफ्ना गन्तव्यका दुई उडानहरू रद्द गरेको छ, जसबाट करिब ३०० यात्रु प्रभावित भएका छन् । हिमालय एयरलाइन्सले दमाम, दोहा र दुबईका तीन उडानहरू स्थगित गरेको छ, करिब ५०० यात्रु प्रभावित छन् । त्यस्तै, कुवेत एयरवेजले कुवेत जाने–आउने दुई उडानहरू रद्द गरेको छ, करिब ३०० यात्रु प्रभावित भएका छन् ।

प्राधिकरणले एयरलाइन्स र अन्तर्राष्ट्रिय उड्डयन अधिकारीहरूसँग निरन्तर समन्वयमा रहेको जनाएको छ । सहप्रवक्ता भुलले थपे, ‘स्थिति स्थिर भएपछि र सुरक्षा मूल्यांकन पूरा भएपछि मात्रै उडान सञ्चालन पुन: सञ्चालन गरिनेछ ।

यात्रुहरूलाई आफ्ना एयरलाइन्ससँग सम्पर्कमा रहन र उडान पुनःनिर्धारण, भुक्तानी फिर्ता र अन्य यात्रा व्यवस्थाहरूका बारेमा जानकारी लिन प्राधिकरणले आग्रह गरेको छ ।

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully