मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित

क्षेत्रीय अस्थिरताले अन्तर्राष्ट्रिय हवाई यातायातमा कति छिटो प्रभाव पार्न सक्छ भन्ने यो घटनाले पुनः स्पष्ट पारेको छ । सम्बन्धित निकायहरूले अवस्था सामान्य भएसँगै थप जानकारी सार्वजनिक गर्ने जनाएका छन् ।

फाल्गुन १६, २०८२

सुरज कुँवर

Flights worldwide affected as tensions rise in the Middle East

What you should know

काठमाडौँ — मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको सुरक्षा तथा राजनीतिक परिस्थितिका कारण शनिबार विभिन्न देशहरूले हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेपछि मध्यपूर्वी आकाश हुँदै युरोप, क्यानडा र संयुक्त राज्य अमेरिकालगायतका गन्तव्यका लागि हुने अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा कटौती भएका छन् । यस निर्णयले हजारौं यात्रुहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने विश्वव्यापी उड्डयन सञ्जालमा समेत असर परेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

कुवेतको सार्वजनिक नागरिक उड्डयन प्राधिकरणले क्षेत्रीय सुरक्षा विकासलाई ध्यानमा राख्दै कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ । प्राधिकरणका प्रवक्ता अब्दुल्लाह अल–राज्हीले यात्रु, विमान कम्पनी र विमानस्थल सञ्चालनको सुरक्षा सुनिश्चित गर्न पूर्वसावधानी कदमस्वरूप यस्तो निर्णय गरिएको बताएका छन् । सम्बन्धित निकायहरू स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वय गरी अवस्था अनुगमन गरिरहेको उनले जनाएको एजेन्सीहरुले समाचारमा उल्लेख गरेका छन् ।

जजिरा एयरवेजले कुवेत अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि आफ्ना सबै उडानहरू अर्को सूचना नभएसम्मका लागि स्थगित वा ढिलाइ हुने जनाएको छ । कुवेत जाने वा त्यहाँबाट प्रस्थान गर्ने यात्रुहरूलाई कम्पनीबाट सूचना नआएसम्म विमानस्थल नजान आग्रह गरिएको छ ।

भारतको इन्डिगो एयरले इरान र मध्यपूर्व वरपरको हवाई क्षेत्रमा लागू प्रतिबन्धका कारण मध्यपूर्व जाने र आउने सबै उडानहरू शनिबार मध्यरातिसम्मका लागि रद्द गरिएको जनाएको छ । प्रभावित यात्रुहरूलाई वैकल्पिक यात्रा व्यवस्था वा पूर्ण रकम फिर्ताको विकल्प उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

संयुक्त अरब इमिरेट्सस्थित फ्लाईदुबईले फेब्रुअरी २८ का लागि केही उडानहरू रद्द गर्दै अस्थायी रूपमा सञ्चालन स्थगित गरेको जनाएको छ भने दुबईस्थित एमिरेट्स एयरलाइन्सले क्षेत्रीय हवाई क्षेत्र बन्दका कारण दुबई आउने–जाने उडानहरू अस्थायी रूपमा रोकेको पुष्टि गरेको छ । दुवै कम्पनीले सम्बन्धित निकायहरूसँग समन्वय गरी अवस्था नजिकबाट अनुगमन गरिरहेको बताएका छन् ।

साउदी अरेबियाको राष्ट्रिय ध्वजावाहक साउदीयाले पनि उड्डयन सुरक्षा मापदण्डअनुसार केही उडानहरू स्थगित वा रद्द गरेको जनाएको छ । कम्पनीको आपतकालीन समन्वय केन्द्रले अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

त्यस्तै, कतार एयरवेजले कतारी हवाई क्षेत्र बन्द भएपछि दोहा आउने–जाने उडानहरू अस्थायी रूपमा स्थगित गरेको जनाएको छ ।

भारतकै आकासा एयरले अबुधाबी, दोहा र जेद्दा जाने तथा आउने सबै उडानहरू फेब्रुअरी २८ का लागि स्थगित गरेको जनाएको छ ।

नेपालको निजी क्षेत्रको हिमालय एयरलायन्सले दुबई, दमाम र दोहा गन्तव्यका सबै उडानहरू अर्को सूचना नभएसम्मका लागि रद्द गरेको जनाएको छ ।

दुबईस्थित विमानस्थल प्रशासनले त्यहाँका दुइटा विमानस्थलहरु डीएक्सबी र डीडब्लुसीबाट सञ्चालन हुने सबै एयरलाइन्सलाई आईतबार (मार्च १)को स्थानीय समयअनुसार बिहान ३ बजेसम्म चेक–इन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ । एयरपोर्ट अपरेसन कन्ट्रोल सेन्टरले अवस्थाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि मध्यपूर्वी हवाई क्षेत्र प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ, पुनःसमायोजन वा रद्द हुन सक्ने भन्दै यात्रुहरूलाई सम्बन्धित एयरलाइन्ससँग उडान स्थिति पुष्टि गरेर मात्र विमानस्थल आउन आग्रह गरेको छ ।

कतार नागरिक उड्डयन प्राधिकरणले पनि क्षेत्रीय सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै कतारी हवाई क्षेत्रमा हवाई यातायात अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ ।

सबै विमान कम्पनी तथा उड्डयन निकायहरूले यात्रु र चालक दलको सुरक्षा नै पहिलो प्राथमिकता भएको दोहोर्‍याएका छन् । यात्रुहरूलाई आधिकारिक वेबसाइट, मोबाइल एप वा ग्राहक सेवा केन्द्रमार्फत उडान स्थिति अद्यावधिक गरेर मात्र यात्रा प्रारम्भ गर्न आग्रह गरिएको छ ।

क्षेत्रीय अस्थिरताले अन्तर्राष्ट्रिय हवाई यातायातमा कति छिटो प्रभाव पार्न सक्छ भन्ने यो घटनाले पुनः स्पष्ट पारेको छ । सम्बन्धित निकायहरूले अवस्था सामान्य भएसँगै थप जानकारी सार्वजनिक गर्ने जनाएका छन् ।

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully