सामाजिक सञ्जालमा भिड्ने काम नगरौं, घृणा फैल्याउँछ: सभापति थापा

कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जालमा तुच्छ कुरा गरेर आफू भाइरल हुने पक्षमा नरहेको बताए ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Let's not engage in confrontations on social media, it spreads hatred: Speaker Thapa

What you should know

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता, कार्यकर्तालाई सामाजिक सञ्जालमा भिडेर बस्ने काम नगर्न निर्देशन दिएका छन् । 

शुक्रबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले सामाजिक सञ्जालले घृणा फैल्याउने काम गर्ने भएकाले त्यसको भर नपरी घरघरमा गएर प्रचार अभियानमा जुट्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । सभापति थापाले मुलुक एक्लै नबन्ने भएकाले आफूले सबै दललाई सँगै लिएर अघि बढ्ने बाटो तय गरेको समेत बताए । आफूले प्रधानमन्त्री हुने मौका पाए सबै दलहरुलाई साथ लिएर अघि बढ्ने सभापति थापाको भनाइ थियो । देश एक्लै नबन्ने उल्लेख गर्दै उनले एमाले, रास्वपालगायतका सबै दलसँग सहकार्य गरेर अघि बढ्नु नै मुलुकको हितमा हुने समेत बताए । 

‘तपाईंहरुले केवल सामाजिक सञ्जालमा भिडेर मात्रै हुँदैन । सामाजिक सञ्जाल जहिले पनि सामान्यता कसको पक्षमा हुन्छ ? जसले घृणा फैल्याउँछ । जस्तो म अहिले यहाँ आए । यहाँ आएर दुई जनालाई गाली गरे । केही तुच्छ कुरा बोले । बेलुका त्यो भाइरल हुन्छ । त्यो कन्टेन्ट बन्छ,' उनले भने, 'तर मैले प्रेमको कुरा गर्छु । सृजनाको कुरा गर्छु । विकासको कुरा गर्छु, मिलाउने कुरा गर्छु । किन मलाई थाहा छ– देश एक्लैले बन्दैन, एक्लैले चल्दैन ।  मैले भोलि प्रधानमन्त्री बन्ने मौका पाएँ भने मलाई एमाले पनि चाहिन्छ, मलाई माओवादी चाहिन्छ । मलाई रास्वपा चाहिन्छ । मलाई सबै पार्टी चाहिन्छ नि त । मैले त सबैलाई लिएर जानुपर्छ । संविधान संशोधन गर्नुपर्छ । चाहिएन, मलाई ६, ७४३ वडाको वडाध्यक्षको साथ चाहिन्छ । सात प्रदेशको साथ चाहिन्छ । चाहिँदैन ?’

सभापति थापाले सामाजिक सञ्जालमा तुच्छ कुरा गरेर आफू भाइरल हुने पक्षमा नरहेको पनि बताए ।

कान्तिपुर

Link copied successfully