कोशी किनारका माझी बस्ती, जहाँ तिर्खा अझै महँगो छ

भाषण, जुलुस र नाराले सहर तथा गाउँहरू तातेका छन्। तर तामाकोशी किनारको रजगाउँ फेरि पनि उहीँ छ । मौन, उपेक्षित र प्रतीक्षामा। तर आशा अझै बाँचेको छ ।

फाल्गुन १६, २०८२

नवराज श्रेष्ठ

Fishermen's settlement on the banks of the Koshi, where thirst is still expensive

What you should know

रामेछाप — तामाकोशीको कलकल बगिरहेको आवाज नजिकै सुनिन्छ। तर वषौँदेखि शुल्क तिरेर तिर्खा मेटाउनुपर्ने बाध्यतामा छन् खाँडादेवी गाउँपालिका–४ रजगाउँका माझी समुदाय । धुलो उड्दा सास रोकिन्छ, पानी पर्दा बाटो हराउँछ, रोजगारीका लागि आधा वर्ष इँटा भट्टामा बित्छ । वर्षौँदेखि राज्य र नेतृत्वको नजरबाट टाढा परेका रजगाउँका माझी बस्ती आज पनि आधारभूत आवश्यकताका लागि संघर्ष गरिरहेको छ।

मझे साबा रामेछापका अनुसार रजगाउँमा ११७ घरपरिवारका ६७३ जना माझी समुदायको बसोबास रहेको छ । सरकारी रोजगारीमा स्थायी १० जना र अस्थायी ८ जना छन् । यहाँका ३३ जना युवाहरू वैदेशिक रोजगारीमा छन् । रजगाउँले निःशुल्क खानेपानी, रोजगारी र पक्की सडकको सपना बोकेर छ । हरेक निर्वाचनमा घरदैलोमा आइपुग्ने नेताका मीठा आश्वासन मतदान सकिएसँगै हराउने गरेको यहाँका माझी समुदायको गुनासो छ। 

यही फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पनि यो बस्ती उम्मेदवारहरूको प्राथमिकतामा पर्न सकेको छैन। उमेरले ७२ वर्ष कटिसकेका रजगाउँका पूर्णबहादुर माझी घर नजिकैबाट तामाकोशी बग्ने भए पनि आफूहरू तिर्खा मेटाउन महिनैपिच्छे पैसा तिर्न बाध्य रहेको बताउँछन् । 

‘घरमुनिबाट कोशी बग्छ,’ उनी भन्छन्, ‘तर हामीले तिर्खा मेटाउन वर्षौँदेखि पैसा तिर्नुपरेको छ।’ नदी छेउमै बसेर पनि पानी किन्नुपर्ने विडम्बना उनका शब्दमा मात्रै होइन, आँखामा पनि देखिन्छ। मासिक दुई सयदेखि हजार रुपैयाँसम्म खानेपानीको बिल तिर्नुपर्ने बाध्यता, त्यो पनि कमाइ गर्ने हात होइन । बुढा–बुढी मात्रै बाँकी रहेका घरहरूमा। ‘अब के गर्नु, कोशीबाट बोकेर पानी ल्याउन त सकिँदैन,’ उनी गह्रौँ सास फेर्छन्।

Fishermen's settlement on the banks of the Koshi, where thirst is still expensiveपूर्णबहादुर सम्झिन्छन्,‘अघिल्ला निर्वाचनहरूमा भोट माग्दै आएका नेताहरूले पक्की सडक र निःशुल्क खानेपानीको मीठा वाचा गरेका थिए। तर मतदान सकिएसँगै ती वाचा तामाकोशीको भेलसँगै बगेर हराए जस्तै लाग्छ। फेरी फर्केर कोशी आउँदैनन् ।’

अहिले फेरि देशभर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तापक्रम बढिरहेको छ। भाषण, जुलुस र नाराले सहर तथा गाउँहरू तातेका छन्। तर तामाकोशी किनारको रजगाउँ फेरि पनि उहीँ छ । मौन, उपेक्षित र प्रतीक्षामा। तर आशा अझै बाँचेको छ । 

तामाकोशी किनारमा बसोबास गर्ने माझी समुदाय शुल्क तिरेर लिफ्टको पानी खान बाध्य रहेको ७० वर्षिया अर्की स्थानीय रत्नमाया माझीको पनि उही गुनासो छ । ‘कोशी नजिकैबाट बग्छ,’ उनी भन्छिन्, ‘तर खानेपानी समेत पैसा तिर्नुपर्छ। दुई तीन महिनाको एकै पटक तिर्दा तीन हजारसम्म खानेपानीको पैसा तिरेको छु । सडकको अवस्था उस्तै छ। खाना खाने बेला समेत धुलोले छोपिन्छ। हाम्रा तिर त केही विकासको काम हुँदैन।’

विकास नआउनुको कारण बोल्न सक्ने, आवाज उठाउन सक्ने मान्छे नहुनु पनि हो कि भन्ने लागेको उनले बताइन्। नदीको किनारमा बसेर पनि खानेपानीको लागि पैसा तिर्नुपर्ने बाध्यता, धुलाम्य सडक र उपेक्षित बस्ती । यी सबै रजगाउँका माझी समुदायले भोगिरहेको समस्या हो । यहाँको अर्को प्रमुख समस्या रोजगारी पनि हो । रजगाउँका माझी समुदायका लागि रोजगारीको विकल्प लगभग एउटै छ इँटा भट्टा। गाउँमा आम्दानीको कुनै दिगो स्रोत नहुँदा यहाँका अधिकांश घरपरिवार वर्षको आधा समय गाउँ छाडेर इँटा भट्टामा मजदुरीमा जान बाध्य छन्।

रजगाउँकी २० वर्षीया सम्झना माझी भन्छिन्, ‘गाउँमा पैसा कमाउने कुनै माध्यम छैन। त्यसैले प्रायः सबै घरबाट वर्षमा छ महिना जति इँटा पार्न भट्टा जानुपर्छ। भट्टा जाने समयमा प्राय घरमा खासै मान्छे हुँदैनन् । यो हाम्रो बाध्यता पनि हो । भट्टाबाट कमाएर ल्याएको पैसाले परिवार चलाउनुपर्छ ।’  

Fishermen's settlement on the banks of the Koshi, where thirst is still expensiveखेतीपाती, साना उद्योग वा स्थानीय रोजगारीको अवसर नहुँदा पुस्तौँदेखि मजदुरी नै जीवनयापनको आधार बनेको छ। वर्षको छ महिना इँटा भट्टामा पसिना बगाउने र बाँकी समय गाउँमै संघर्ष गर्ने रजगाउँको यो चक्र तोडिन सकेको छैन। विकासका योजनामा नाम मात्रै आउने रजगाउँका माझी समुदायका लागि रोजगारी अझै पनि सपना नै बनेको सम्झनाको भनाइ छ । 

राष्ट्रिय जनगणना २०७८ अनुसार रामेछाप जिल्लामा माझी समुदायको जनसङ्ख्या ६ हजार २८८ रहेको छ। विशेष गरी सुनकोशी र तामाकोशी आसपास माझी समुदायको परम्परागत बसोबास रहेको छ। आठ पालिका रहेको  रामेछापको मन्थली नगरपालिका–७ को भटौली, मुगिटार र वडारे, वडा नं ८ को जखनीटार र गाईखुरा, वडा नं २ को करमबोट, वडा नं १ मन्थली, वडा नं ६ को नबुघाट, मसानटार, हात्तिटार, कुनौरी र सेलेघाट क्षेत्रमा माझी समुदायको उल्लेख्य बसोबास छ। खाँडादेवी गाउँपालिका–१ को लुभुघाट, कोथबेस वडा नं ३ को सित्खा, डफ्खा, वडानं ४ को पुछिघटा र रजगाउँ, तथा रामेछाप नगरपालिका–९ को राताटार, धनेघाट र हर्देनीमा पनि माझी समुदायको बसोबास छ।जिल्लाका लिखुतामकोशी र सुनापति गाउँपालिकामा समेत माझी समुदाय फैलिएको छ। 

रामेछाप भएर बग्ने तामाकोशी र सुनकोशीको किनारमै बसोबास गर्ने माझी समुदाय वर्षौँदेखि पैसा तिरेरै तिर्खा मेटाउन बाध्य रहेको नेपाल आदिवासी जनजाति महासंघ रामेछापका कार्यवाहक अध्यक्ष श्रीबहादुर माझी बताउँछन्। उनका अनुसार रामेछाप जिल्लामा ७ हजारभन्दा बढी माझी समुदायको जनसङ्ख्या छ। ‘सीमान्तकृत समुदायमा पर्ने माझीहरूलाई खानेपानीजस्तो आधारभूत आवश्यकताका लागि समेत पैसा तिर्नुपर्ने अवस्था छ,’ उनी भन्छन्, ‘हेर्दा प्रायः सबै माझी बस्ती तामाकोशी र सुनकोशीकै किनारमा छन्। तर त्यही कोशीबाट लिफ्ट प्रणालीमार्फत तानिएको पानी किनेर हामी तिर्खा मेटाउन बाध्य छौँ।’

Fishermen's settlement on the banks of the Koshi, where thirst is still expensiveश्रीबहादुरका अनुसार माझी समुदायलाई कम्तीमा खानेपानी सुविधा निःशुल्क गरिदिन नगरपालिका र गाउँपालिकासँग पटक–पटक आग्रह गरिएको छ। तर ती आग्रहहरूमा अहिलेसम्म कुनै सुनुवाइ हुन सकेको छैन । ‘अरू धेरै माग छैन,’ उनी भन्छन्, ‘खानेपानी मात्रै निःशुल्क गरिदिनुस् भनेर धेरै पटक भन्यौँ, निवेदन पनि दियौँ। तर परिणाम शून्य छ।’

उल्टै कतिपय ठाउँमा माझी समुदायले आफ्नै खर्चमा विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयसम्मलाई समेत पैसा तिरेर पानी उपलब्ध गराइरहेको अवस्था रहेको उनी बताउँछन्। ‘यस्तो अवस्था देख्दा अब के भन्नु?’, उनी प्रश्न गर्छन्, ‘नदीको छेउमै बसेर पनि पानी किन्नुपर्ने नियति नै माझी समुदायको परिचय बनेको छ।’

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully