उम्मेदवारका परिवारको बैंक खाता निगरानी गर्दै आयोग

बैंकिङ प्रणालीबाट चुनावी खर्च गर्न आयोगको निर्देशन बेवास्ता भएपछि उम्मेदवार र परिवारका बैंक खातामा निगरानी कडा पारिएको हो ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Commission monitoring bank accounts of candidate's families

What you should know

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभानिर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी सुरु गरेको छ ।

निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत गर्ने गरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि अधिकांश उम्मेदवारले बैंकिङ कारोबारभन्दा बाहिर खर्च गरेकाले आयोगले परिवारसहितको खातामा निगरानी बढाएको हो ।

चुनावी खर्चलाई पारदर्शी बनाउन आयोगले आचारसंहितामा नै बैंक खातामार्फत चुनावी खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो । बैंक खातामार्फत निर्वाचन खर्च गर्नुपर्ने प्रावधानको पालन नभएपछि आयोगले निर्वाचन प्रचारप्रसारको समयमा उम्मेदवारसहित परिवारका सदस्यहरुको बैंक खाताको कारोबारमा निगरानी बढाएको हो ।

केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक आयुक्त सगुन शमशेर जबराले बैंक खातामार्फत निर्वाचन खर्च नगर्ने उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित कानुनअनुसार आयोगले कारबाहीको निर्णय गर्ने बताए । उम्मेदवारको चुनावी खर्चको अुनगमन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भइरहेको उनले उल्लेख गरे ।

‘हामीले उम्मेदवारले गर्ने खर्चका सम्बन्धमा जिल्लादेखि नै अनुगमन गरिरहेका छौं । त्यसका लागि सहायक प्रमु्ख जिल्ला अधिकारीले निर्वाचन सामग्रीमा भएको खर्च अनुगमन गर्नुहुन्छ भने कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृतले सम्बन्धित जिल्लाका निर्वाचन उम्मेदवारको वित्तीय अवस्थाको अनुगमन गर्नुहुन्छ,' उनले भने, 'हामीले राष्ट्र बैंकलाई पत्राचार पनि गरेका छौँ । यदि उम्मेदवारले पुरानै खाता प्रयोग गरेर खर्च गर्नुभएको छ भने हामीले उम्मेदवार र उम्मेदवारको परिवारको बैंक खाताको कारोबारको निगरानी गरिरहेका छौं ।‌'

आयोगले निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्न निर्देशन जारी गरेको थियो । निर्देशन नमान्नेलाई भविष्यमा आचारसंहिता उल्लघंनअन्तर्गत निर्वाचन कसुरको ऐन आकर्षित गरी कालोसूचीमा राखेर आयोगले कारबाहीको निर्णय गर्न सक्ने जबराले बताए ।

आयुक्त जबराले आचारसंहिताको पूर्ण पालना गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण मिलाउन पनि सबैलाई आग्रह गरे ।

कान्तिपुर

Link copied successfully