लुटिएका हतियार र फरार कैदीबन्दी नियन्त्रण गर्न विशेष संयन्त्र परिचालन

चुनावलाई असर पुग्ने गरी सीमापारिबाट हतियार तथा विस्फोटक पदार्थ भित्रिन नदिन नाकाको सुरक्षा जाँचमा कडाइ

फाल्गुन १४, २०८२

कान्तिपुर संवाददाता

Special mechanism mobilized to control looted weapons and escaped prisoners

What you should know

काठमाडौँ — २४ भदौको प्रदर्शनका क्रममा लुटिएका हतियार र भागेका कैदीबन्दी–थुनुवा नियन्त्रण गर्न चारवटै सुरक्षा निकाले विशेष संयन्त्र परिचालन गरेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यसाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र राष्ट्रिय अनुसन्धान विभागले आआफ्नो संयन्त्रलाई ७७ वटै जिल्लामा तैनाथ गराएका हुन् ।

‘निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना–२०८२’ ले जेलबाट भागेका कैदीबन्दी र लुटिएका हतियारलाई सुरक्षा चुनौतीका रूपमा राखेको छ । करिब ६ महिनाअघिको प्रदर्शनका क्रममा नेपाल प्रहरीका करिब १३ सय हतियार लुटिएका/हराएका थिए । तीमध्ये अझै ४ सय हतियार फेला परेका छैनन् । प्रहरीका करिब १ लाख राउन्ड गोली पनि अभिलेखबाट हराएका थिए ।

अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका, मुद्दाको पुर्पक्षका क्रममा रहेका र अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका गरी करिब १४ हजार कैदीबन्दी र थुनुवा पनि भागेका थिए । तीमध्ये करिब ४ हजार कैदीबन्दी र थुनुवा फरार छन् ।

निर्वाचनमा बम तथा विस्फोटक पदार्थको प्रयोगबाट पनि शान्ति सुरक्षामा खलल पुर्‍याइने आकलन गरिएको छ । विभिन्न व्यक्तिले लाइसेन्स लिएर राखेका हतियार तथा गोलीगट्ठा मतपरिणाम नआएसम्म प्रशासनलाई बुझाउन सरकारले निर्देशन जारी गरेको थियो । २१ हजारभन्दा बढी लाइसेन्स प्राप्त हतियार विभिन्न व्यक्तिसँग रहेकामा हालसम्म ५ हजार हाराहारी मात्रै प्रशासनमा बुझाइएको छ ।

निर्वाचन सुरक्षा तथा व्यवस्थापनमा खटिएका चारवटै सुरक्षा निकायका अधिकारीका अनुसार लुटिएका हतियार तथा भागेका कैदीबन्दी नियन्त्रण गर्न बम तथा विस्फोटक पदार्थको प्रयोगबाट अशान्ति मच्चाउन सक्ने व्यक्ति तथा समूहको निगरानी गर्न र दर्ता हतियारको दुरुपयोग रोक्न विशेष अपरेसन चलाइएको जनाएका छन् । यस कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष ब्युरोसहितको संयन्त्र परिचालन गरेका छन् । नेपाली सेनाको ‘इन्टेलिजेन्स युनिट’ पनि यसमा परिचालन भएको छ । अनुसन्धान विभागले पनि आफ्नै संयन्त्रलाई खटाएको छ ।

२४ भदौको विध्वंसपछि लुटिएका हतियार र फरार कैदीबन्दी नियन्त्रणमा लिन सुरक्षा निकायले संयन्त्र परिचालन गरेका थिए । तर अझै ठूलो संख्यामा हतियार र कैदीबन्दी बाहिरै रहेकाले पुनः देशभर संयन्त्र खटाइएको प्रहरीका एक अधिकारीले जानकारी दिए । निर्वाचनको विपक्षमा रहेका दल र समूहबाट पनि अशान्ति मच्चाउने जोखिम रहेकाले उनीहरूलाई पनि निगरानीमा राखिएको ती अधिकारीले बताए ।

चुनावलाई असर पुग्ने गरी भारतबाट हतियार तथा विस्फोटक पदार्थ भित्रिन नदिन सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय सीमा नाकामा सुरक्षा जाँच कडाइ गरेको छ । मतदानको दिन र त्यसअघि गरेर ७२ घण्टाका लागि दुवै देशका अन्तर्राष्ट्रिय सीमा नाका ‘सिल’ गर्ने निर्णय भइसकेको छ । तर त्यसअघि नै आपराधिक व्यक्ति तथा समूहले हतियार तथा विस्फोटक पदार्थ भित्र्याउन सक्ने जोखिम रहेकाले नाकामा थप कडाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतसँग ताप्लेजुङदेखि कञ्चनपुरसम्म करिब १ हजार ८ सय ८० किमि सीमा छ । भारततर्फको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीका २ सय ४९ बोर्डर आउट पोस्ट (बीओपी) छन् । अहिले तिनै बीओपीमार्फत चेकप्वाइन्ट बढाएर सुरक्षा जाँचमा कडाइ गरिएको छ । ‘बीओपीका अलावा सीमा क्षेत्रका करिब १ हजार प्वाइन्टमा सशस्त्रका संयन्त्र खडा गरी आवागमन र यात्रुसँग भएका मालवस्तु जाँचलाई कडाइ गरिएको छ,’ सशस्त्रका एक अधिकारीले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully